सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बीमा गराउँदा डुब्नबाट जोगिए स्याउ किसान, १३ सय ९१ले पाए साढे २ करोड दाबी भुक्तानी

बुधबार, १८ चैत २०७७, १८ : १८
बुधबार, १८ चैत २०७७

काठमाडौं । मौसम सूचकाङ्कमा आधारित स्याउ खेतीको बीमा गरेका कर्णालीका किसानलाई शिखर इन्स्योरेन्सले साढे २ करोड ५५ लाख बराबरको दाबी रकम भुक्तानी गरेको छ । 

माथिल्लो कर्णालीका जुम्ला, कालिकोट र मुगुका गरी १ हजार ३ सय ९१ जना किसानलाई २ करोड ५५ लाख दाबी भुक्तानी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । जुम्ला जिल्लामै सबैभन्दा बढी ७ सय बिरुवाको बीमा गराउने पातारासीका किसान अधिराज विष्टले १ लाख ८९ हजार बराबरको भुक्तानी रकम बुझेका छन् । 

भुक्तानी पाए पश्चात विष्टले शिखर इन्स्योरेन्सले समग्र कर्णालीका किसानको मर्म र सहायताका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै कृतज्ञता पनि व्यक्त गरेका छन् । जुम्लामा ७ सय ४७ जना किसानले ४९ हजार बिरुवाको बीमा गराएका थिए । जुम्लामा मात्र प्रति बिरुवा २ सय ७० रुपैयाँका दरले १ करोड बीमा दाबी रकम भुक्तानी गरिएको छ । 

यसैगरी, प्रति बिरुवा २ सय ७० रुपैयाँका दरले कालिकोटका ३ सय २६ किसानले ७० लाख २० हजार दाबी भुक्तानी पाएका छन् । कालिकोटमा ३ सय २६ जना किसानले २ हजार ६ सय बिरुवाको मौसमी सूचकाङ्कमा आधारित स्याउ बीमा गराएका थिए । यस्तै मुगुका ३ सय १८ जना किसानले १ हजार ९ सय बिरुवाको बीमा गरे बापत ५१ लाख रुपैयाँ बराबरको भुक्तानी पाएका छन् ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले बीमा गरेका किसानलाई घरदैलोमै गएर क्षतिपूर्ति रकम अर्थात दाबी भुक्तानी दिएको बीमा कम्पनीका कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले बताए । कर्णालीका किसानहरुले गत वर्ष नै स्याउ फल्ने बेला स्याउ खेतीको बीमा गरेका थिए । सोही बीमा गराएका कारण उनीहरुले अहिले दाबी भुक्तानी पाएका हुन् । 

असिना र सुख्खा खडेरीले क्षति पुर्याएको तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोरेका किसानले बीमा रकम पाउँदा राहत महसुस गरेका छन् । शिखर इन्स्योरेन्सले ५ वर्ष अगाडि मौसमी सूचकाङ्कको आधारमा गरिने बीमामा स्याउ खेतीका लागि नै भनेर कर्णाली प्रदेशमा यो बीमा पोलिसी सुरु गरेको थियो । गएको ३ वर्षयता हरेक वर्ष शिखर इन्स्योरेन्सले स्याउ किसानहरुलाई दाबी भुक्तानी गर्दै आइरहेको छ ।

सुरुको वर्ष ४७ जना किसानले स्याउको बीमा गराएका थिए भने गत वर्ष १८ सय किसानले स्याउ खेतीको बीमा गराए । असिना र सुख्खा खडेरीले क्षति पुर्याएका तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोरेका किसानले बीमा रकम पाउँदा राहात महसुस गरेका छन् । आगामी दिनमा शिखर इन्स्योरेन्सले मौसम सूचकाङ्क बीमा योजनालाई विभिन्न जिल्लामा विस्तार गर्ने योजना बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप