आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत दस्तावेज बनाउँदै खनाल–नेपाल पक्ष

शुक्रबार, २० चैत २०७७, ११ : ०४
शुक्रबार, २० चैत २०७७

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत दस्तावेज तयार गर्ने भएको छ । यसका लागि समूहले आफ्ना पक्षका स्थायी समिति सदस्यहरुको बैठक बोलाएको छ । बैठक कलंकीस्थित मेघा पार्टी प्यालेसमा ११ बजेपछि बस्ने सो पक्षका नेताहरुले बताएका छन् ।

बैठकले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत कार्ययोजना बनाउने बताइएको छ । ति नेताका अनुसार गत चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा पारित कार्यपत्रलाई आवश्यक संशोधन गर्दै दस्तावेजका रुपमा तल्ला कमिटीसम्म वितरण गर्ने योजना छ ।

‘अब हामी दस्तावेजसहित तल्लो तहका नेता कार्यकर्तासमक्ष जाँदैछौ । त्यसका लागि आवश्यक दस्तावेज चाहिने भएकाले अहिलेसम्म पार्टीमा भएका र ओलीले गरेका गलत कामहरुको फेहरिस्त जनता र कार्यकर्ताले बुझ्नेगरी दस्तावेजीकरण गर्नेछौँ,’ एक नेताले भने, ‘ओलीको अधिनायकवादी चरित्रलाई उदाङ्गो बनाउन जरुरी छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेपछि खनाल–नेपाल पक्ष थप आक्रोशित बनेको छ । विधानविपरीत ओलीका निर्णय र कदमको विरोधमा देशव्यापी प्रतिवाद गर्ने जनाएको यो पक्षले राजनीतिक, सांगठनिक र वैचारिक कार्यक्रमलाई समेत विस्तार गर्दै लैजाने जनाएको छ । सोही क्रममा खनाल–नेपाल पक्षले बिहीबार मात्रै गण्डकी प्रदेशमा समानान्तर कमिटी गठन गरिसकेको छ । गण्डकी प्रदेशबाहेक खोटाङ, भोजपुर अर्घाखाँचीमा समेत समानान्तर कमिटी घोषणा गरेको यो पक्षले विद्यार्थी, महिला र युवा संघको समेत घोषणा गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप