सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको प्रश्न– कोही प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन हुन्छ ?

शुक्रबार, २० चैत २०७७, १८ : ००
शुक्रबार, २० चैत २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘प्रतिगमनकारी’ का रुपमा चित्रण गर्न थालिएकोमा आपत्ति जनाएका छन् । उनले मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रश्न गरे, ‘प्रतिगमन भनेको के हो ? परिभाषा नै नबुझी प्रतिगमन भयो भन्ने ? यति सारो जनता अल्मल्याउने ?’

कोही शासनमा पुग्यो भने क्रान्ति भइहाल्ने, कोही शासनमा पुग्न सकेन भने प्रतिगमन भयो भनिदिने परिपाटी देखिएको उनको भनाइ थियो । ‘कोही प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन हुन्छ ?’ उनले प्रश्न गरे, ‘म प्रधानमन्त्री हुनुपर्छ भनेर अवैध बाटोबाट हिँड्ने, अनि प्रधानमन्त्री हुन नसकेपछि प्रतिगमन हुन्छ ?

आफ्नो आलोचनाका क्रममा ‘संविधान मास्यो, च्यात्यो, गणतन्त्र खत्तम हुने भयो, लोकतन्त्र खत्तम हुने भयो, संघीयता त ध्वस्तै पार्न आँट्यो’ भन्नेजस्ता टिप्पणी गर्न थालिएको भन्दै ओलीले त्यस्ता टिप्पणी व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा असन्तुष्टि व्यक्त गर्ने अभिव्यक्तिमात्र रहेको प्रस्ट पारे ।

उनले अदालतको आदेश अनुसार संसद पुनर्स्थापना भए पनि संसदको भूमिका प्रभावकारी नदेखिएको बताए । ‘संसदले न काम अघि बढाउन सक्छ, न केही गर्न सक्छ,’ उनले भने, ‘संसद तानातानको थलो बनेको छ । संसदलाई बलिया हुँ भन्ने व्यक्तिका स्वार्थको तानातानको थलो बनाइनु हुँदैन । देशमा कसरी विकास गर्ने भनेर संसदले सोच्नु पर्छ ।’

अहिले पनि सरकारलाई काम गर्न नदिइएको उनको भनाइ थियो । उनले गोपाल प्रसाद रिमालको गीत उद्धृत गर्दै भने, ‘सिर्जना शक्ति कहिल्यै पनि हुँदैन विफल, ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल ।’

ढुंगाको काप फोरेर मेलम्ची ल्याइएको, भूकम्पले भत्काएको धरहरा अब भूकम्पले भत्काउन नसक्नेगरी बनाइरहेको उनले जिकिर गरे ।

अब त्यस्तो हुनुहुँदैन

ओलीले विकासका काममा सरकारी निकायबीच तालमेल हुन जरुरी रहेको बताएका छन् । शुक्रबार भृकुटीमण्डपमा मेलम्चीको पानी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तालमेल नमिल्दा केही कामहरु भद्रगोल हुनपुगेको अब त्यस्तो हुन नदिने बताए । ‘केही तालमेलहरु मिलाउन बाँकी छ । सहकार्य गर्दा सहकार्यको तरिकाले अगाडि बढ्न जरुरी छ सरकारी निकाय र मन्त्रालयबीच समन्वय हुन जरुरी छ’, प्रधानमन्त्रीले भने, ‘एउटाले बाटो बनाउँदै जान्छ अर्काले भत्काउँदै जान्छ । अव त्यस्तो हुनुहुँदैन ।’

उनले सरकारले सबैभन्दा पहिला मानिसको जीवन रक्षालाई प्राथमिकता दिएको भन्दै कोरोना महामारीकाबीच पनि विकास निर्माणले तीव्रता पाएको बताए । उनले त्यसको फलस्वरुप लामो प्रतिक्षाको विषय बनेको मेलम्चीको पानी काठमाडौबासीका धारामा खसाल्न सम्भव भएको दावी गरे । उनले सरकारले देश विकासमा सवै सामर्थ्य खर्च गरिएको पनि बताए । साथै उनले सरकारी सेवा प्राप्त नगरेका सेवाग्राहीले कुनै सेवा शुल्क र जरिवाना तिर्न नपर्ने बताए । उनले मेलम्चीको पानी वितरण गर्नुलाई खुसीको दिन भन्दै चौतर्फी रुपमा विकासका काम गरिरहेपनि केही तालमेल मिलाउन बाँकी नै रहेको बताए । उनले सरकारले कोरोनामा परीक्षण र उपचार निशुल्क गरेकाले वीमा गरिनु जरुरी नभएको भन्दै त्यो आवश्यक नभएकाले सच्याउन जरुरी रहेको पनि बताए ।

२०८१ को नयाँ वर्षमा पानीको नयाँ स्रोत जुटाउने

प्रधानमन्त्री ओलीले २०८१ सालको नयाँ वर्षमा मेलम्ची खानेपानी आयोजनाको टनेलमा अन्य दुई स्रोतबाट पानी थपेर काठमाडौं ल्याइने बताएका छन् । उनले ८१ सालको नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी पनि काठमाडौंमा ल्याइने दावी गरेका हुन् । अब मेलम्चीको टनेलमा पानी मिसाउने आयोजनाको नाम भने फेर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘अबको आयोजनाको नाम फेर्नुपर्ला, मेलम्चीभन्दा मानिसले नपत्याउलान्, फेरि के हो–के हो भन्लान् ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप