पूर्ण ओलीका २ कथा सङ्ग्रह विमोचन
कथाकार पूर्ण ओलीद्वारा लिखित २ वटा कथा सङ्ग्रह जितौरी र यालमाया विमोचन गरिएको छ । भद्रकाली प्लाजास्थित राष्ट्रिय महिला आयोगको भवनमा सम्पन्न विमोचन कार्यक्रममा प्राज्ञ डा.देवी नेपालको प्रमुख आतिथ्य रहेको थियो । यसैगरी कार्यक्रम साहित्यकार एवम् साझा प्रकाशन सञ्चालक समितिका सदस्य हरिप्रसाद भण्डारीको अध्यक्षता रहेको थियो ।
उक्त कार्यक्रममा माओवादी नेता पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकर विशिष्ट अतिथिको रुपमा थिए भने विशेष अतिथिहरुमा पूर्व राज्यमन्त्री गोपालजीजङ शाह, पूर्व शहरी विकास मन्त्री मिठ्ठु मल्ल, राष्ट्रिय सभा सदस्य ठगेन्द्रप्रकाश पुरी, पूर्व एआइजी सुरेन्द्रबहादुर शाह, राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारी, महाप्रबन्धक ओपेन्द्र शर्मा, निबन्धकार युवराज नयाँघरे, समालोचक डा. रजनी ढकाल, साहित्यकार अश्विनी कोइराला, घोष्टराइटिङ नेपालका अध्यक्ष कमल ढकाल, साहित्यकार मनोहर लामिछाने, भुँडीपुराण प्रकाशनका सञ्चालक केशव पराजुली लगायत विभिन्न स्रस्टा तथा साहित्य अभिलाषीहरु उपस्थित थिए ।
कार्यक्रममा बोल्दै नेता जनार्दन शर्माले लेखकको चरित्रचित्रण गरे । उनले भने- पूर्णजी थोरै बोल्छन्, तर धेरै सोच्छन् । बाहिरबाट झट्ट देखिएका पूर्ण वास्तविक पूर्ण होइनन् । उनलाई भित्रैदेखि अध्ययन गर्नुपर्दछ ।
उनका रचनाहरु धेरै पढ्न सुन्न पाइएको र आफूले सामाजिक विसङ्गति विरुद्ध रचनाहरु सिर्जना गर्न सधैँ घचघच्याइरहेको बताए ।
यसैगरी अर्का गोपालजीजङ्ग शाहले लेखक पूर्ण ओलीको पारिवारिक पृष्ठभूमिको बारेमा बताएका थिए ।
कार्यक्रमका प्राज्ञ डा देवी नेपालले लेखक पूर्ण ओलीलाई एउटा गह्रौँ पाइला उचालेकोमा धन्यवाद दिँदै ती दुवै पुस्तकहरु एकै रातमा पढिसिध्याएको बताए । उनका दुई पुस्तकमध्ये १३ वटा कथाहरु समेटिएको जितौरी कथासङ्ग्रह जुन २६४ पृष्ठको छ र १५ वटा कथाहरु समेटिएको यालमाया कथासङ्ग्रह २२१ पृष्ठको छ । उनले आफ्नो लगायत विभिन्न उदाहरणहरु दिँदै एकजना कुशल लेखक एकजना होनहार पाठक पनि हो भन्ने प्रमाण दिए ।
उनले भने- सबै औपचारिक पदहरु भुपू हुन्छन्, तर श्रस्टाहरु कहिल्यै भुपू हुँदैनन् । कृतिहरु पुराना हुँदैनन् । हामी भूपू आदि कवि भानुभक्त आचार्य भन्दैनौँ । हामी भूपु महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्दैनौँ ।
त्यस्तै गरी लेखक र लेखकका यी दुई पुस्तक साहित्याकाशमा अमर भइरहने बताए । उनले यी दुवै कृतिहरुलाई स्थानीय स्तरमा तुरुन्त समीक्षा गराई राष्ट्रिय पहिचान दिन रुकुमेली सहभागीहरुलाई सुझाए । यस्ता अरु थुप्रै श्रष्टाहरु मुलुकका कुना कन्दरा लुकेर रहेका हुनसक्ने भएकोले तिनीहरुलाई छिट्टो बाहिर निकाल्न रुकुमेलीहरुलाई घचघच्याए ।
उनले दुवै कथासङ्ग्रहमा रहेका अधिकांश कथाहरुलाई कथाको सिद्धान्तको कसीमा घोटेर विश्लेषण गरे । प्रत्येक कथाको कथापट सुन्दर ढङ्गले सिर्जना गर्दै कथाको शीर्षकले खोजेका चरित्रहरुको गजबको चित्रण गरिएको बताए । कथाको शैली र परिवेश मौलिक र स्थानीय शब्दहरुको भरपुर प्रयोग गरिएको बताए ।
यसै गरी समालोचक डा रजनी ढकालले 'जितौरी र यालमायाजस्ता कृतिहरु नेपालमा बिरलै सिर्जना भएका कृतिमध्ये पर्दछन् भन्दै कथाहरुमा सामाजिक विकृतिहरुलाई नाङ्गेझार पारिएको बताइन् । लेखक शिक्षण पेशा र सरकारी सेवामा लामो समय अनुभव सँगालेका व्यक्ति भएकोले प्रशासनिक विकृतिहरुको सवाल उठाइएको बताइन् । हरेक कथामा सुन्दर एवम् औचित्यपूर्ण बिम्बहरुको प्रयोग गरिएको बताइन् ।
उनले मुलुकका कुनाकन्दरामा हराउन थालेका यस्ता स्रस्टा र कथाहरुको संरक्षण र सिर्जनाको खाँचो रहेको बताइन् । उनले पुस्तकमा स्वाभाविक रुपमा केही शाब्दिक तथा भाषिक त्रुटीहरु रहे तापनि यति विशिष्ट कथाहरुको रचना गर्नसक्ने स्रस्टाले जानी जानी त्यस्ता गल्तीहरु गरेको हुनु नपर्ने भन्दै लेखकलाई हौस्याइन् ।
यालमाया कथासङ्ग्रहका प्रकाशक तथा प्रसिद्ध कथाकार अश्विनी कोइरालाले यालमायाभित्रका कथाहरुले ओगटेको क्षेत्रको बारेमा बखान गरे । कथाहरुमा मायाको सुन्दर तथा विविध प्रयोग भएको प्रसङ्ग औँल्याउँदै कथाले माया र समाजमा देखा परेका अन्तरविरोधलाई कलात्मक र प्रस्टसँग राख्नसकेको भन्दै लेखकको प्रशंशा गरिन् ।
यसैगरी जितौरी कथासङ्ग्रहको सम्बन्धमा बिचार राख्दै लोक साहित्यकार मनोहर लामिछानेले जितौरीभित्रका कथाहरुको उद्देश्यको साथै कथा सङ्ग्रहले इङ्गित गर्न खोजेको दिशा र सार संक्षेपको बारेमा बखान गरे । उनले कथाहरु सामाजिक त हुँदै हुन् यथार्थवादी र मनोवैज्ञानिक समेत भएको धारणा प्रस्तुत गरे । साहित्य समाजको ऐना हो र लेखक सरकारी जागिरे भएकोले जागिरभित्रका विकृति र विसङ्गतिलाई राम्रोसँग केलाउन सकेको उनले बताए ।
लेखकीय मन्तव्य दिँदै कथाकार पूर्ण ओलीले आज नै आफ्नो स्वर्गीय छोरा परिशीलन ओलीको जन्मजयन्ती परेको हुँदा एउटा सन्तानलाई गुमाउँदा परेको असह्य पीडालाई भुलाउन एकैसाथ जितौरी र यालमाया नामका दुई सन्तान जन्माएको बताए । उनले आफू कसरी साहित्यिक महामार्गमा लागेँ भनेर बाल्यकालीन र विद्यालय कालीन रोचक एवम् घतलाग्दा प्रसङ्गहरु पनि सुनाए । उनले 'हामीले कोरेको गन्तव्य के हो ? हामी कहाँनेर अड्किएका छौँ ?' भनेर पाठकहरूलाई बुझाउन खोज्नु आफ्ना कथाहरुको उद्देश्य रहेको बताए । यालमायामा प्रेमकथाहरु नभई सामाजिक परिवेशलाई अँगाल्न खोजेको र नारी प्रधान कथाहरु रहेको उनले बताए ।
यसैगरी साहित्यकार हरि भण्डारीले लेखकसँग परिचय भएदेखि नै उनीसँग रहेको प्रतिभाको आँकलन गरी लेखकलाई आफूले सिर्जनशील कार्यमा लागिरहन उक्साएको बताए ।
राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुमकी उपाध्यक्ष सिर्जना शर्माले कार्यक्रमको सञ्चालन गरेकी थिइन् भने निशा ओलीले कार्यक्रममा स्वागत मन्तव्य दिएकी थिइन् ।
२६४ पृष्ठ रहेको जितौरीको मूल्य ३९० रुपैयाँ राखिएको छ भने २२१ पृष्ठ रहेको यालमायाको मूल्य ३५० रुपैयाँ राखिएको छ ।