आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेमा बढ्दो विवादका बीच नेतृत्वलाई गण्डकी प्रदेशका कार्यकर्ताको यस्तो छ सुझाव

शनिबार, २१ चैत २०७७, ०८ : २०
शनिबार, २१ चैत २०७७

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता कार्यकर्ताहरूले शीर्ष नेताहरुलाई आपसमा सहमति कायम गरेर पार्टीमा देखिएका अन्तरविरोधलाई समाधान गर्न सुझाव दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेतामाथि गरेको कारवाहीलाई केहीले स्वाभाविक भएको जिकिर गरेका छन् भने कतिपयले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउने नेतालाई कारवाहीको नाटक रचेर ओली समग्र कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने बाटोमा अघि बढेको आरोप लगाएका छन् ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पहिलो चरणमा पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका ओलीले गत बिहीबार नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई समेत कारवाही गरेपछि एमालेमा आन्तरिक विवाद झन् उग्र बनेको छ ।

अध्यक्ष ओलीले कारवाही गरेको दुईदिन बित्न नपाउँदै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र सुरेन्द्र पाण्डे पोखरा आएर कास्कीसहित गण्डकी प्रदेश कमिटी र प्रदेशका ९ जिल्लामा पार्टीको समानान्तर कमिटी गठन गरेका छन् । 

बिहीबार कास्कीमा गठन गरिएको ७५ सदस्यीय कमिटीको अध्यक्षमा धनराज आचार्य र सचिवमा होमबहादुर नेपाली छन् । गण्डकीका ११ मध्ये ९ जिल्लामा समानान्तर कमिटी बनाएसँगै उनीहरुले ओलीको तानाशाही प्रवृत्तिविरुद्ध स्थानीय तहदेखि जिल्ला, प्रदेश र केन्द्रसम्मै समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी पार्टी ब्युँतिनेगरी फैसला गरेपछि एमालेका शीर्ष नेताहरुबीच आन्तरिक कलह चर्कंदै गएको हो । दुवैपक्षका बीचमा एकले अर्कोलाई निषेध गर्नेगरी राजनीतिक गतिविधि हुन थालेपछि नेता कार्यकर्ताहरु पार्टी पंक्ति सच्चिएर अगाडि बढ्नुपर्ने बताउँछन् ।

कास्कीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य एवं प्रजातान्त्रिक राष्ट्रिय युवासंघका नेपालका पूर्व अध्यक्ष राजिव पहारीले पार्टीमा पछिल्लो समयमा देखिएको विवादलाई नेतृत्व तहले बेलैमा समाधान गर्नुपर्ने बताए । उनले पार्टीमा देखिएको विवाद सैद्धान्तिक र वैचारिक नभएको पनि प्रस्ट पारे । उनले भने, ‘यो त केही नेताको नितान्त व्यक्तिगत स्वार्थ र प्रतिशोधको भावनाले बढेको विवाद हो । यसले यो वा त्यो कुनै पक्षलाई पनि फाइदा गर्दैन ।

राजिव पहारी

सांसद पहारीले पार्टीको महाधिवेशनबाट केपी ओलीलाई पाँच वर्षका लागि निर्वाचित गरेको भए पनि निर्वाचित नेतृत्वलाई बीचमै माधव नेपाल पक्षले हटाउन खोजेका कारण पार्टीमा विवाद चर्किएको बताए । उहाँहरुले ५ वर्षका लागि निर्वाचित भएको नेतृत्वलाई बलजफत बीचमा हटाउन मिल्दैन, उनले भने, ‘अध्यक्ष ओलीलाई हटाउन महाधिवेशन कुर्नुपर्छ । महाधिवेशनमा बहुमतबाट उहाँहरुले हटाउन सक्नु हुन्छ । व्यक्तिगत स्वार्थ र कुण्ठा साँध्न बीचमै हटाउन खोज्नु विधानसम्मत हुँदैन ।

सांसद पहारीले मुलुकको विकास र समृद्धिलाई प्राथमिकता दिनुपर्ने बेलामा पार्टीका शीर्ष नेताहरुबीच विवाद बढ्नु दुःखद् भएको बताए । देशको विकास र समृद्धिलाई कसरी अगाडि बढाउने भन्नेमा बहस केन्द्रित गर्ने बेला पार्टीमा अनावश्यक विवाद निकालियो, उनले भने, ‘विकास, सुशासन र समृद्धिप्रतिको जनचाहनामाथि कुठाराघात गरियो ।

माधवकुमार नेपाल पक्षले समानान्तर कमिटी गठन गरेर अवसानको बाटो रोजेको उनको आरोप छ । नेपाल पक्षले पार्टीमा समानान्तर कमिटी बनाएर झन् विवाद चर्काएको बताउँदै उनले यस्तो कार्यले राजनीतिक अवसान गराउने टिप्पणी गरे ।

विद्यार्थी राजनीतिबाटै एमालेमा रहेर विभिन्न जिम्मेवारी सम्हालेका पोखराका दिपक घिमिरेले पार्टीका शीर्ष नेताहरु बसेर केही समयदेखि पार्टीमा बढेको आन्तरिक संघर्षलाई उचितरुपमा समाधान गर्नुपर्ने बताए ।

दिपक घिमिरे

अब विकास र समृद्धिको यात्रामा देश अघि बढ्नुपर्ने बेला नेताहरु आन्तरिक स्वार्थका लागि पार्टीनै ध्वस्त हुनेगरी झगडा गर्नु उचित नभएको उनले बताए । नेताबीचमा आन्तरिक समस्या भए पनि सौहार्द्रपूर्णरुपमा बैठक र छलफल गरेर समस्या सुल्झाउनेतर्फ लाग्नुपर्छ, उनले भने, ‘व्यक्ति व्यक्तिका बीच एकले अर्कालाई कारवाही गरेको नाटक रच्दा पार्टीमा आन्तरिक द्वन्द्व झन् बढ्छ । यसले कसैको भलो गर्दैन ।

घिमिरेले देशको समृद्धि र नेता कार्यकर्ताको भावना अनुसार नेताहरुले आपसी सहमति गरेर तत्कालै पार्टीमा सबैको सम्मान हुने गरी अगाडि बढ्नुको विकल्प नभएको बताए । उनले लाखौं जनताको त्याग, बलिदानीबाट प्राप्त उपलब्धि रक्षा गर्नका लागि राजनीतिक दलहरुबीच आपसी सहमति र सहकार्य आवश्यक रहेको बताए ।

देशको सबैभन्दा ठुलो पार्टीको हैसियतले पनि नेकपा एमाललेको नेतृत्वले मुलुकमा राजनीतिक स्थायित्वका लागि विशेष भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । व्यक्तिगत स्वार्थ र बदलाभावले पार्टीमा झगडा गराएर नेतृत्वले जनमतको अपमान गरेको उनले बताए ।

पार्टीका वरिष्ठ नेताबीच आपसी समझदारी कायम गरी आगामी दिनमा युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने घिमिरेको भनाइ छ । अहिलेको विश्वपरिबेश र सूचना प्रविधिसँग अभ्यस्त एवं नयाँ सोच भएका युवापुस्तालाई अगाडि बढाएर नेतृत्वले जिम्मेवारी हस्तान्तरण गरेको अवस्थामा पार्टीको आन्तरिक एकता सुदृढ हुने उनी बताउँछन् ।

लमजुङबाट निर्वाचित गण्डकी प्रदेशसभा सांसद एवं नेकपा एमाले लमजुङका पूर्व अध्यक्ष धनञ्जय दवाडीले पार्टीको नेतृत्व तहमा सैद्धान्तिक र वैचारिक विवाद नभएको बताउँदै व्यक्तिगत स्वार्थका कारण आपसमा विवाद बढाउन नहुने बताए । पार्टीका शीर्ष नेतृत्व तहमा आन्तरिक मतभिन्नता भए पार्टीको बैठकमा छलफल गर्न उनले आग्रह गरे ।

धनञ्जय दवाडी

पार्टीमा केही मतमतान्तर र सामान्य वादविवाद हुन्छन्, तर त्यसलाई पार्टीको बैठकबाट छलफल गरेर समाधान गर्न सकिन्छ, उनले भने, ‘पार्टीमा एकले अर्कोलाई निषेध गर्नेगरी राजनीतिक क्रियाकलाप हुनु हुँदैन, यस्ता कार्यले पार्टीमा झन् विवाद बढाउँछ ।

कसैको कुनै असन्तुष्टि र गुनासा भए बैठकमा त्यस्ता विषय राखेर छलफल चलाउने र सहमति खोज्नुपर्ने उनको सुझाव छ । पार्टीमा एकता कायम गर्नका लागि समयमै सोच्न र आवश्यक संयमता अपनाउन पनि उनले शीर्ष नेतासमक्ष आग्रह गरे । पार्टीमा थप एकतासहित अन्य कम्युनिस्ट पार्टी बीचको एकताले नै नेपालको कम्युनिस्ट आन्दोलनलाई थप उचाइमा पु-याउने उनको भनाइ छ ।

नेकपा एमाले बागलुङका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा भने पार्टी अध्यक्ष केपी ओलीले पार्टीमा फरक विचार राख्नेलाई इगो साँधेर कारवाही गर्न थालेपछि विवाद चुलिएको बताउँछन् । उनले महाधिवेशनमा पारित विधानलाई अध्यक्ष ओलीले अक्षरशः पालना गर्ने हो भने विवाद नै नहुने बताए ।

इन्द्रलाल सापकोटा

अध्यक्ष ओली पार्टीको विधानअनुसार नचलेपछि पार्टीका शीर्ष नेताहरुले विधान अनुसार चल्न आग्रह गरेको तर ओलीले उनीहरूप्रति इगो साँधेर कारवाहीको नाटक रचेको सापकोटाको आरोप छ । पार्टी निर्माणका लागि वर्षौंदेखि लड्दै आएका वरिष्ठ नेतालाई अध्यक्ष ओलीले इगो साँधेर कारवाही गरेपछि अहिलेको अवस्था आएको हो, उनले भने, ‘वरिष्ठ नेताहरुलाई कारवाही गरेर नवप्रवेशी रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायतलाई काखी च्यापेपछि पार्टीमा विवाद चर्कियो । 

गण्डकी प्रदेशमै नेपाल पक्षका एक्ला सांसद रहेका सापकोटाले पार्टीको अभिभावक नै ओली भएकाले अझै पनि बैठक राखेर गम्भीरतापूर्वक छलफल गर्न चाहे समस्या समाधान हुन सक्ने बताए । पार्टी अध्यक्ष नै पार्टीको अभिभावक हो, अहिलेसम्म जे भयो, भयो । अब मिलेर जाउँ भनेर ओलीले बैठक बोलाएर इमानदारीका साथ छलफल गर्ने हो भने अझै पनि केही बिग्रिएको छैन, उनले भने, ‘अध्यक्ष ओलीले इगो साँध्नका लागि नियोजित रुपमा काम गरेकाले उनी इमान्दारीताका साथ छलफल गर्नै चाहँदैनन् ।

सांसद सापकोटाले अध्यक्ष ओलीले इमान्दारीताका साथ विधान पालना गर्ने प्रतिवद्धता जनाउने र २८ फागुनको निर्णय फिर्ता लिएर २ जेठ २०७५ मा फर्किने प्रतिवद्धता जनाएको अवस्थामा पार्टीको विवाद सुल्झिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप