आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक शून्य समयः कसले के भने ?

सोमबार, २३ चैत २०७७, १५ : ४७
सोमबार, २३ चैत २०७७

काठमाडौं । सांसदहरुले समसामयिक राजनीतिक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । संघीय संसद प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसायिक राजनीतिक विषय, संसदको प्रभावकारिता, विकास निर्माण लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद राजबहादुर बुढा क्षेत्रीले जनतामा सदनप्रति विश्वास कायम राख्ने वातावरण मिलाउन राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराए । उनले संसदको अंकगणित र जनताको अभिमतलाई मुलुकको सम्मृद्धि र स्थिरताको पक्षमा मिलाएर लैजानु नै दलहरुको राजनीतिक धर्म कर्म र दायित्व भएको भन्दै त्यसतर्फ सबैको ध्यानाकर्षण गराए ।

उनले भने– ‘अहिलेको सदनको चाललाई हेर्दा भ्यान्टिलेटरमा राखेको बिरामी जस्तै भएको छ । गतिविधिका हिसाबले शून्यतामा पुग्नु मुलुकका लागि दूर्भाग्य हो । राजनीतिक दलहरुले सधै चालबाजीको खेल खेल्नु शोभनीय हुँदैन । मुलुकको माग स्थिरता छ । सम्मृद्धि छ । संविधानको कार्यान्वयन छ । संसद भित्रको अंकगणितले गर्दा संसदीय गतिविधि सञ्चालनमा कठिनाई उत्पन्न भएको हो भन्ने मान्ने हो भने अर्लि इलेक्सनबाट आउने अंकगणित पनि यो भन्दा नमिलेर आउनसक्छ । त्यसपछि पनि अर्लि इलेक्सनमा जाने हो ? यो समाधानको बाटो होइन । जनताले दिएको अभिमत र अंकगणितलाई मुलुकको सम्मृद्धि र स्थिरताको पक्षमा मिलाएर लानु दलहरुको राजनीतिक धर्म, कर्म र राजनीतिक दायित्व हो । सबै पक्ष मिलेर जिम्मेवारी बोध गरौं । जनतामा सदनप्रतिको विश्वास जगाऔं ।”

सांसद रंगमति शाहीले संविधान विपरित संबैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएका प्रधानमन्त्रीले महिला हिंसाका विधेयकहरु ल्याउन दिएनन् भनेर ढाँटेको आरोप लगाइन् । उनले संसदले बनाएका प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराएको टिप्पणी गरिन् ।
उनले भनिन् ‘देश रेलमार्ग, जलमार्ग र सुरुङमार्गको नयाँ युगमा प्रवेश गर्यो रे । मेरो जिल्लाका जनताले एम्बुलेन्स, गाडी के हो देखेका छैनन् । बिरामीले अहिलेसम्म अकालमा ज्यान गुमाउनुपरेको छ । जो ठूला अपराधी, भ्रष्ट्राचारीहरुलाई गणतन्त्र मनाउनेको नाममा चालचलन राम्रो लाग्यो भनेर राष्ट्रपतिज्यूले कैद मिनाहा गरिदिनुहुन्छ । म भ्रष्ट्राचार गर्दिन, गर्न पनि दिदिन भन्नुहुन्छ, जसले राज्यको कर छलि गर्न सक्छ उसैको घरमा पार्टी कार्यालय स्थापना हुन्छ । नागरिकता जस्ता अति महत्वपूर्ण विधेयकहरु थन्किन्छन्, हजारौं नागरिक बाटोमा छन्, संविधान विपरित संवैधानिक परिषद्को अध्यादेश ल्याइन्छ अनि महिला सांसदले महिला हिंसाका विधेयकहरु, अध्यादेशहरु अगाडि ल्याउन दिएन भनेर ढाँटनुहुन्छ, हाम्रो सम्माननीय प्रधानमन्त्री ज्यू । तयारै नगरी एकसय ६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडक भनेर बालुवाटारबाट स्वीच थिचेर शिलान्यास गर्नुहुन्छ, सम्माननीय प्रधानमन्त्रीज्यू यो त नौटङ्की नै हो । संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराउनुहुन्छ, बालुवाटार पनि सरकारी निवास हो । अब बालकोट मै गएर राज गर्दा राम्रो होला ।’

सांसद मोहनप्रसाद पाण्डेले सिद्धार्थ राजमार्ग अन्र्तगत पोखरादेखि बुटवल सम्मको सडकखण्ड मर्मत तथा स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराए । उनले शालिकग्राम मार्गका लागि बजेट विनियोजन नगरिएकोमा गुनासो गरे । उनले भने,  ‘सिद्धार्थ राजमार्गका सन्दर्भमा सरकारको ध्यान किन आकृष्ट हुन सकेन । बुटवलदेखि दोभान सम्म त्यो सडकको दुरदशा हेर्दा सरकारका मन्त्रीहरु पटकपटक त्यही बाटो ओहोरदोहोर गर्नुभएको छ । म आग्रह गर्न चाहन्छु १२÷१५ करोड ठूलो कुरा होइन । दुई महिना, तीन महिनाभित्र १२÷१५ करोड रकम विनियोजन गर्यो भने त्यहाँ कालोपत्रे गर्न सकिन्छ । बर्षैपिच्छे मान्छेको ज्यान गएको छ । जीवन जोगाउने काममा सरकार लागि परोस म आग्रह गर्न चाहन्छु । शालिकराम मार्गका निम्ति बजेट विनियोजन गरिएको छैन किन पूर्वाग्रह राखेको छ म हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छु, त्यसैगरी शालिकराम शिलाका सन्दर्भमा तटबन्ध निर्माण गर्नका निम्ति प्रयाप्त बजेट विनियोजन गर्न म हार्दिकतापूर्वक आग्रह गर्दछु । सरकारको ध्यान सिद्धार्थ राजमार्गको पोखरा देखि बुटवल सम्मका निम्ति सम्पूर्ण रुपले केन्द्रीत गर्न म आग्रह गर्न चाहन्छु । मेरुदण्डमा खेलवाड नहोस् ।’

योगेशकुमार भट्टराईले ताप्लेजुङ दोभानका आगलागी पीडितलाई तत्काल आवास र दैनिक आवश्यकताका भूकम्प पीडित सरहको राहत सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई व्यंग्य गरे ।

उनले भने, ‘चुनाव अगाडी गठमन्धन बनाए, चुनाव जितेपछि एकीकरण गराएँ, सरकार बनाउँदा आधा कार्यकाल मागें, कार्यकारी अध्यक्ष पाएपछि भैगो भनेर छाडें, कार्यकारी प्रयोग गरी प्रधानमन्त्री र अध्यक्षको राजीनामा मागें, संसद विघटन गरेर परिवर्तनको घोषणा गरें, निर्वाचनको घोषणा गरें, लोकतन्त्र संकटमा पर्यो भनेर कराएँ, प्रतिगमन भयो भनेर चिच्याएँ, आन्दोलन गराएँ, मिसन मिडिया चलाएँ, वकिल, नागरिक समाज उचालें, अदालत गुहारें, निर्वाचन आयोग धाएँ, माइतीघर मण्डलामा सुर्यको चिन्ह लगाएँ, सेटिङको हल्ला चलाएँ, संसदीय दलको नेता बनें, अध्यक्ष घोषणा गरें, ११ गतेको फैसलाले मख्ख परें, लड्डु खाएँ, अबिर दलें, कांग्रेस र जसपाको अफिस धाएँ, नागरिक समाजको डबली धाएँ, २३ गतेको फैसलापछि आफ्नो साइजमा आएँ, विश्वासको मत फिर्ता लिन्छु भन्छु सक्दिन, अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु सक्दिनँ, नयाँ गठबन्धन खोज्छु सक्दिनँ, प्रधानमन्त्री बन्नुस् भन्दा कसैले टेर्दैन, अब प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ, नैतिकताको आधारमा राजीनामा दिनैपर्छ , लडाकु प्रकरण नउठाउने र हेग नलैजाने कोही तयार छ भने प्रधानमन्त्रीको सीट खाली छ । केपी ओलीको अगाडि मेरो केही लागेन । जसपाले मानेन, कांग्रेस जागेन ।’

सांसद मेटमणि चौधरीले चुरे संरक्षण हुनुपर्ने भन्दै चुरे दोहन गरी अबैध कारोबारमा संलग्नलाई कारवाही गर्न माग गरे । सांसद मोहन बानियाँले कर्णाली राजमार्गको सुर्खेतदेखि नाग्म सम्मको अधिकांश खण्डमा कालोपत्र बिग्रेर खाल्डाखुल्डी परेको र बर्षासँगै हिलाम्मे हुने भएकाले रारा जाने पर्यटकीय सो मार्गलाई कालोपत्र मर्मत गर्न माग गरे । राजेन्द्रकुमार केसीले मेलम्चीको पानी कीर्तिपुरमा नपुगेको भन्दै तत्काल कीर्तिपुरवासीलाई पानी वितरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । उनले डिपिआर नै नभइकन प्रधानमन्त्रीले १ सय ६५ वटा सडकको शिलान्यास गरेको उल्लेख गर्दे कुन सडकको सिलन्यास भएको हो ? भनेर प्रश्न गरे ।

सांसद लक्ष्मी परियारले वर्तमान सरकारले प्रशंसनीय काम गर्न नसकेको धारणा राखिन् । उनले भने, ‘सरकारको प्रशंसा गर्न पर्यो किन नगरेको भनेर सरकार पक्षका माननीय ज्यूहरुले खुबै रोइलो गर्नुहुन्छ । प्रशंसा गर्नका लागि सरकारले कुनै त्यस्तो काम गरेको छैन । प्रसंसनीय काम हुनुपर्यो नि । सरकारले जनता आक्रोशित हुने काम गर्ने, त्यसैले हामी प्रसम्सा गर्न सक्तैनौँ रोइलो बन्द गर्नुहोस् माननीय ज्यूहरु । हामी कसैको मृत्युमा हास्न सक्तैनौ ।’

उनले इलाम नगरपालिकाका मेयरले त्यहाँको एउटा दलित बस्ती उजाडेको आरोप पनि लगाए । सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्रीले संसद चलिरहेका बेला राजनीतिक विषयमा सदनबाहिर धारणा राख्नु गैह्रजिम्मेवारी, अराजनीतिक र असंवैधानिक चरित्र भएको  टिप्पणी गरे । उनले प्रधानमन्त्रीलाई सदनमा आएर बोल्न पनि आग्रह गरे । सांसद भैरवबहादुर सिंहले बझाङका १२ वटा स्थानीय तहमा खडेरी परेको, हिउँदे बाली सुकेको र स्थानीयहरु भोकमरीको चपेटामा परेको भन्दै तत्काल खाद्य आपूर्ति गर्न सरकारसँग माग गरे ।

त्यसैगरी शून्य समयमा बोल्ने अन्य सांसदहरुले १ सय ६५ वटा बाटोहरुको बालुवाटारबाट शिलान्यास भएपनि ती बाटोका डिपिआर पनि नभएको भन्दै सो कार्यमाथि प्रश्न गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप