सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री म नै हुनुपर्छ भन्ने छैन, कसलाई बनाउने हो तयार छु : देउवा

शुक्रबार, २७ चैत २०७७, १४ : २७
शुक्रबार, २७ चैत २०७७

 

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू नै प्रधानमन्त्री हुनुपर्छ भन्ने कुरा नभएको बताएका छन् । निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘ मैले आफ्नै पार्टीको प्रधानमन्त्री पनि चाहेको छैन । तर संख्या पुग्नुपर्यो नि । जोसुकै होस् । पहिला मान्छे तयार पारौँ न । संख्या पुग्नुपर्यो नि ।’

आफू सत्ता निर्माणको खेलमा नभए पनि सरकार नेतृत्वका लागि पार्टीले अगाडि सारेकोमा उनले पार्टीलाई धन्यवाद दिए । ‘सरकार बनाउन अग्रसर किन नहुने नि । कसलाई बनाउने हो म तयार छु । म आफू नै हुनुपर्छ भनेको पनि छैन । म नै हुनुपर्छ कहाँ भनेको छु मैले ?’ उनले भने ।

उनले अगाडि भने, ‘भोलि मन्त्रिमण्डल बनाउने कुरामा लडाइ झगडा होला । सबैलाई मन्त्री चाहियो । सबै साथीहरुले शेरबहादुर केही गरेन भनेपछि आज बैठक बोलाएको छु ।’

 


तर देउवाले चुनावमा जानुपर्ने बाध्यता हुन  सक्ने पनि बताए । ‘चुनावबाहेक अर्को बाटो नहुन सक्छ । चुनावमा जानुपर्ने बाध्यता हुन सक्छ । चुनावमा गएर जितेर हाम्रो सरकार बनाउनुपर्छ,’ उनले भने ।

यस्तै उनले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई वास्तविकताको धरातलमा बसेर कुरा गर्न पनि आग्रह गरे । ‘हामीले वास्तविकता बुझ्नुपर्छ । संसदमा हाम्रो संख्या संसद बेलाउन पनि पुग्दैन । यो वास्तविकता हो । संसद बोलाउन केही संख्या नपुगेर हामीले सहयोग पाएनौं । संसदमा अविश्वासको प्रस्ताव राख्ने संख्या हाम्रो पुग्दैन । ओलीलाई बोलाएर संसदमा उभ्याउन संख्या पुग्दैन । यो वास्तविक कुरा हो । संविधान अनुसार जानुपर्ने हुन्छ,’ उनले भने, ‘संसदको एक चौथाइ सदस्यले कुनै बेला संसद बाेलाउन सक्छ । हामीसँग एक चौथाइ छैन । यो वास्तविकता हो नि । हामीले के गर्ने त ? सत्य कुरा त्यही हो नि । पहिला यो कुरा बुझ्नुपर्यो नि ।’

चुनावमा कम्युनिस्टको सरकार आए रुन पनि पाउनुहुन्न भनेर आफूले त्यसै नभनेको उनको भनाइ छ । ‘तर जनताले तिनलाई नै भोट हालिदिए के गर्ने ? भोट त हाम्रो हातमा छैन नि ! देशको मालिक जनता हो । जनता हामीलाई हराए के गर्ने ? जनता मालिक हो । जनताको घर दैलोमा जाऔँ । हामी काँग्रेस पार्टी हौं । हामीले धाँधली गर्न जानेको पनि छैन,’ उनले भने ।

कार्यक्रममा पौडेलले आफूले बोलिसकेर मञ्चमा जाँदा देउवामाथि खनिएका थिए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप