१० वर्ष कैद तोकिएका फरार अभियुक्त कारागार चलान
काठमाडौं । मानव बेचविखन तथा ओसारपसार मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले झापा घर भएका जगतबहादुर राईतर्फ राजनलाई पक्राउ गरेको हो ।
झापाको कन्काई नगरपालिका–५ घर भएका जगतबहादुर काठमाडौंको जोरपाटी बस्थे । बिहीबार उनलाई तिलगंगाबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले रातोपाटीलाई बताए । मानव बेचविखन तथा संगठित अपराध मुद्दामा उनलाई उच्च अदालत पाटनले ०७६ चैतमा १० बर्ष कैद र ५० हजार जरिवाना हुने फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागि उनलाई काठमाडौं जिल्ला अदालको आदेशले डिल्लीबजार कारागारमा पठाइएको डीआईजी थापाले बताए ।
प्रतिवादीले ०७३ फागुनमा बिना श्रम स्वीकृति खाडी मुलुक ओमानमा घरेलु कामदार पठाउँछु भनेर युनाइटेड अरब इमिरेट्स र ओमानको सीमावर्ती क्षेत्रमा अलपत्र पारेका थिए । दूतावासको सहयोगमा पीडितको उद्दार गरेर केन्द्रीय अनुसन्धान ब्यूरोले जगतबहादुर विरुद्ध मुद्दा चलाएको थियो ।