क्षुद्रग्रहको मूल्य डलरमा: एकको पछाडी उन्नाइस शून्य
अमेरिकी स्पेश एजेन्सी नासाले एउटा यस्तो स्पेसक्राफ्ट तयार गर्दैछ जुन 16 Psyche Asteroid मा जानेछ । यो क्षुद्रग्रह कुनै समय ग्रह रहेको कुनै वस्तुको कोर मानिन्छ ।
यो क्राफ्ट मेक्सर टेक्नोलोजीले (Maxar Technologies ) बनाएको हो । साथै, क्यालिफोर्नियाको जेट प्रोपल्सन ल्याबमा यसमाथि काम भइरहेको छ ।
आगामी वर्ष अगस्टमा फ्लोरिडाको केप कनेवरलबाट स्पेसएक्सको फाल्कन रकेटको मद्दतले यसलाई प्रक्षेपित गरिने छ । यो क्राफ्ट सौर्य उर्जाले चल्नेछ भने मंगल तथा बृहस्पति ग्रहको बीच क्षुद्रग्रह बेल्टमा रहेको 16 Psyche क्षुद्रग्रहमा सन् २०२६ मा पुग्नेछ ।
फोर्ब्स म्याग्जिनको दावी अनुसार यस क्षुद्रग्रहमा यति धातु छन् जुन संसारको अर्थतन्त्र भन्दा कैयौं गुणा बढी अर्थात् १०,००० क्वाड्रिलियन डलर अर्थात् एकको पछाडि उन्नाइसवटा शून्य बराबरी हुन्छ ।
यस स्पेश क्राफ्टले २१ महिना सम्म क्षुद्रग्रहको म्यापिङ गर्नेछ र यसको विशेषताको बारेमा अध्ययन गर्नेछ । पृथ्वीबाट ३७ करोड किमी टाढा रहेको यो क्षुद्रग्रह २२६ किमी चौडा छ ।
यसको आकार मात्र विशाल नभइकन यो धातुहरुले बनेको अहिलेसम्म खोज गरिएको सर्वाधिक क्षुद्रग्रह मानिएको छ ।
यसको खोज सबैभन्दा पहिले सन् १८५२ मा गरिएको थियो । हबल टेलिस्कोपलाई प्राप्त तथ्याङ्कका आधारमा यो क्षुद्रग्रह धातुहरुले बनेको छ जबकि अरु धेरै क्षुद्रग्रहमा चट्टान तथा बरफ हुने गर्छन् । यसमा फलाम तथा निकेल धातु भएको अनुमान गरिएको छ । यसकै आधारमा यसको मूल्य १० हजार क्वाड्रिलियन डलर अनुमान गरिएको हो ।
यो क्षुद्रग्रह 16 Psyche कसरी बन्यो भन्ने बारेमा एउटा थ्योरी यो छ कि यो कुनै अविकसित ग्रहको कोर हो । यसको अध्ययनबाट खगोलविद्ले पृथ्वी तथा अन्य ग्रह बन्ने प्रक्रियाको बारेमा जानकारी हुने अनुमान पनि गरेका छन् ।
जेट प्रोपल्सन ल्याबमा सोलर इलेक्ट्रिक प्रोपल्सनको च्यासिस तयार गरिएको हो, यो भ्यानको आकारको छ । यो क्राफ्टको आकारको ८० प्रतिशत हिस्सा हो ।
आगामी एक वर्ष भित्र यसलाई जोडिनेछ भने फ्लोरिडा पठाउनु अघि यसको परिक्षणसमेत गरिनेछ । नासाको यो अभियान डिस्कभरी कार्यक्रमको एउटा हिस्सा हो । यो कार्यक्रम अन्तर्गत कम मूल्यमा रोबोटिक स्पेश मिशन तयार गरिँदैछ ।
क्राफ्टमा 16 Psyche को चुम्बकीय क्षेत्र नाप्नका लागि म्याग्नेटोमीटर, सतहको तस्बिर खिच्नका लागि मल्टिस्पेक्ट्रल इमेजर, सतह कुन चिजले बनेको छ त्यो हेर्नका लागि त्यसबाट निस्कने गामा रे तथा न्युट्रोनको विश्लेषण गर्नका लागि स्पेक्ट्रोमिटर तथा हाइ डाटा रेट ट्रान्सफर लेजर सम्पर्कका लागि एक्सपेरिमेन्टल उपकरण राखिएका छन् ।
यसको मूल्यलाई लिएर यसलाई पृथ्वीमा ल्याउनु पर्छ भन्ने कुरा चलिरहेको थियो, तर यसो गरिएको खण्डमा संसारको अर्थव्यवस्था नै ध्वस्त हुने देखिएको छ ।
वैज्ञानिकका अनुसार क्षुद्रग्रहको धातु पृथ्वीमा ल्याएको खण्डमा यहाँका मूल्यवान धातुको मूल्य घट्नेछ भने खनिज उत्खनन्, बिक्री गर्ने सम्पूर्ण कम्पनीको मूल्य घट्छ । यसले पूरा अर्थव्यवस्था बिग्रने भय रहन्छ ।