बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

धमाधम देखिन थाल्यो बालबालिकामा नयाँ भेरियन्ट, दैनिक ११ हजार संक्रमित पुग्ने प्रक्षेपण

खोपबारे अन्योल, विद्यालय बन्द गर्ने स्वास्थ्यमन्त्रीको चाहना
मङ्गलबार, ३१ चैत २०७७, १७ : ४०
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौँ । कोरोना भाइरस (कोभिड—१९) को संक्रमण बालबालिकामा देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शहरी क्षेत्रका विद्यालयको पठनपाठन अनलाइन माध्यमबाट गरिनुपर्नेमा जोड दिएको छ ।

मन्त्रालयले अनलाइन माध्यमबाट पठनपाठन सञ्चालन गर्न सुझाए पनि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भने मन्त्रालयको प्रस्तावलाई स्वीकृति दिएन ।

निजी विद्यालय सञ्चालक तथा सरोकारवालाले स्वास्थ्य सावधानी अपनाएर विद्यालय खुल्नुपर्ने अडान राखेपछि सरकारले तत्काल विद्यालयहरु पूर्ववत् अवस्थामै खुल्न दिने नीति लिएको हो ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा विद्यालय बन्द गर्ने या नगर्ने भन्नेबारे छलफल भए पनि सरोकारवालाहरुको अडानलाई मध्यनजर गर्दै तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरिएको थियो ।

सोमबारै सरोकारवालाले शिक्षा मन्त्रालयले जारी गरेको मापदण्डलाई कडाइका साथ पालना गर्दै विद्यालय खुला राखिनुपर्ने धारणा राखेका थिए ।  

कतिपयले भने बालबालिकामा जोखिम रहँदा रहँदै पनि सरकारले विद्यालय सञ्चालकहरुको दबावमा परेर विद्यालय तत्काल बन्द नगर्ने मुड बनाएको भन्दै असन्तुष्टि पोखेका छन् ।

 


जोखिममा बालबालिका

नेपालमा नयाँ भेरियन्ट युवा र कम उमेर समूहका बालबालिकालाई धमाधम देखिन थालेको छ ।  शहरी क्षेत्रमा खतराको घण्टी बजेको स्वास्थ्य मन्त्रालयले पनि स्वीकारेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को आँकडाअनुसार काठमाडौं उपत्यका र पोखरामा सबैभन्दा धेरै नयाँ भेरियन्टका संक्रमित भेटिएका छन् ।

पोखरामा १७६ जनामा गरिएको परीक्षणमा १०५ जनामा ‘एस’ जीन नेगेटिभ भेटिएको छ भने काठमाडौंमा ७६ जनामा गरिएको कोरोना परीक्षणमा ४८ जनामा ‘एस’ जीन नेगेटिभ देखिएको छ ।

अधिकांश युवा र कम उमेरका बालबालिकामा नयाँ भेरियन्टको पुष्टि भएको छ । तर, देशभर कति नयाँ भेरियन्टका संक्रमित छन् भन्ने तथ्याङ्क भने सरकारसँग छैन ।

पछिल्लो समय कोरोना संक्रमित हुनेमा युवा र बालबालिका भएकाले डरलाग्दो स्थिति सृजना भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताए ।

१८ वर्षभन्दा कम समूहका बालबालिकाको लागि कुनै पनि खोप विकास नभएकाले पनि अब अवस्था जटिल बन्ने सक्ने मंगलबार मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री त्रिपाठी संकेत गरे ।

बालबालिका उच्च जोखिममा रहेको भन्दै स्वास्थ्य मन्त्री   त्रिपाठीले शहरका विद्यालयको पठन–पाठन अनलाइन  माध्यमबाट सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

‘शहरी क्षेत्रका विद्यालयमा पठन–पाठन अनलाइन माध्यमबाट गर्नुपर्छ भनेर छलफल  गरिरहेका छौँ’, उनले भने, ‘सहरी क्षेत्रका विद्यालयहरुमा एक महिना अनलाइनबाट पठनपाठन गराउँदा संक्रमण फैलाउन रोक्न सकिन्छ कि ।’

‘अनलाइन माध्यमबाट कक्षा लिएर दश÷दश दिनमा चेन ब्रेक गर्न सकियो भने पनि बचाउन सकिन्छ,’ मन्त्री त्रिपाठीले थपे, ‘उपत्यकामा मात्रै ७÷८ लाख विद्यार्थी घरै बसे भने पनि २० प्रतिशत आवतजावत कम हुन्छ ।’

शहरी क्षेत्रका विद्यालयमा पठन–पाठन अनलाइन माध्यमबाट गर्नुपर्छ भनेर मन्त्रिपरिषदमा छलफल भए पनि कुनै निर्णय नभएको बताउँदै उनले यसबारे निर्णय छिट्टै आउने विश्वास व्यक्त गरे ।

मन्त्रालय स्रोतका अनुसार मन्त्री त्रिपाठी तत्काल विद्यालय बन्द गर्नुपर्ने पक्षमा भए पनि मन्त्रिपरिषदले स्वीकृति नदिँदा निर्णय हुन नसकेको हो ।

दैनिक ११ हजारसम्म संक्रमित पुग्न सक्ने

यसैबीच, स्वास्थ्य मन्त्रालयले नेपालमा दैनिक ११ हजारसम्म संक्रमित पुग्न सक्ने प्रक्षेपण गरेको छ । अहिलेकै दरमा  संक्रमण बढदै गएमा जेठ असारसम्म दैनिक ११ हजारसम्म संक्रमित थपिने मन्त्रालयले प्रक्षेपण गरेको छ । साथै, संक्रमण वृद्धि भएमा असारसम्म ६ लाख संक्रमित पुग्ने  पनि मन्त्रालयको प्रक्षेपण छ ।

सीमा नाकामा कडा निगरानी र व्यवस्थित हेल्थ डेक्स सञ्चालन गरिरहेको सरकारको दाबी छ । तर, सरकारले दावी गरेजस्तो सीमा नाकामा कडाइ र हेल्थ डेक्स प्रभावकारी छैनन् ।

सीमा नाका र अस्पतालहरुलाई तयारी अवस्थामा बस्न मन्त्रालयले निर्देशन दिइसकेको छ । भारतमा कोरोना संक्रमण दर बढेपछि सीमा नाका हुँदै विना परीक्षण हजाराैं मानिस गाउँगाउँ पुगिसकेका छन् । 

स्वास्थ्य मन्त्री त्रिपाठीले मंगलबार सञ्चारकर्मीहरूसँग भने, ‘नाकामा १ हजार होल्डिङ सेन्टर बनाइने तयारी भइरहेको छ, अस्पतालहरुकै अवस्था कस्तो छ, रेकर्ड लिने काम भइरहेको छ ।’

खोपबारे अन्योल

नेपालले भारतसँग खरिद गरेको १० लाख डोज  कोभिशिल्ड खोप कहिले आउने भन्ने टुङ्गो लाग्न सकेको छैन । भारतमा एकैचोटी कोरोना संक्रमण दर उच्च भएकाले खोप आउन ढिलाइ भएको मन्त्री त्रिपाठीले बताए ।

कोभिशिल्ड खोप अभावमा अभियान रोकिएपछि सरकारले पटक–पटक खोप आउने मिति तोकेपनि खोप आउन सकेको छैन । यद्यपि मन्त्री त्रिपाठीले कोभ्याक्स सुविधाको खोप भने आउने तयारीमा रहेको बताए  । ‘भारतमा खोप निर्यात खुल्नासाथ नेपाल प्राथमिकता पर्छ, ४ डलरमै खरिद गरेको १० जोड खोप आउँछ,’  उनले भने ।

खोप उत्पादन गर्ने सिरम कम्पनीको एजेन्टले १० प्रतिशत कमिसन लिन खोजेपछि एजेन्टलाई हटाउन नै मन्त्रालयलाई झण्डै २५÷२७ दिन लागेको उनले सुनाए ।

सरकारले भारतसँग कमर्सियल मूल्यमा ५० लाख कोभिशिल्ड खोप खरिद गर्ने तयारी गरिरहेको थियो । यसमा पनि एजेन्ट जबर्जस्ती छिर्न खोजेको उनले बताए ।

मन्त्री त्रिपाठीका अनुसार यसबारे कोभिड–१९व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर, ठोस निर्णय हुन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप