सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्ड भन्छन्- वलिष्ठ नेपाली जनतालाई षड्यन्त्र स्वीकार्य छैन

शुक्रबार, ०३ वैशाख २०७८, १३ : ०२
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हित विपरितका गतिविधिमा लागेको आरोप लगाएका छन् । शुक्रबार ‘बागमती प्रदेश कराँते च्याम्पियनसिप–२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबाट देशलाई बन्धकी राख्ने तथा राष्ट्रिय हित विपरितका गतिविधि गर्ने काम भएको बताएका हुन् ।

प्रधानमन्त्री राष्ट्रिय हित विपरितका गतिविधिमा संलग्न भएको खबरहरु आएको भन्दै उनले यस्ता  खबरले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न चिन्ह खडा गर्ने दुस्साहस भएको बताए ।  नेपालीहरुलाई राष्ट्रहित विरोधी षडयन्त्र स्वीकार नभएको पनि अध्यक्ष दाहालको भनाइ छ । 

तानाशाही र निरङ्कुश शक्तिहरु एकचोटी परास्त भए तर अझै पुरै परास्त भएका छैनन् । उनीहरुको कसरत, षड्यन्त्र नेपाल र नेपाली जनताका विरुद्ध चलिराखेको छ । देशलाई बन्धकी राख्ने, राष्ट्रिय हितका विपरित गतिविधि गर्ने काममा स्वयं सरकारका नेतृत्व गर्ने प्रमुखहरु नै लागेका खबरहरूले नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा, उनीहरुको आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्नचिन्ह खडा गर्ने दुस्साहस भएको छ’, प्रचण्डले भने, ‘तर सचेत नेपाली जनता, स्वस्थ नेपाली जनता र बलिष्ठ नेपाली जनतालाई यी सबै षड्यन्त्र स्वीकार्य छैन ।’

अध्यक्ष प्रचण्डले केही मानिसहरुले संघीयतालाई खारेज गर्ने र स्थानीय तहलाई दिएको अधिकार खोस्ने सपना देखेको समेत बताए । तर परिवर्तनलाई उल्ट्याउने कुरा नेपाली जनतालाई मान्य नहुने प्रचण्डको भनाइ छ ।  ‘अहिले पनि केही मानिसहरुले त्यस्तो सपना देख्छन् । संघीयतालाई खारेज गर्ने, स्थानीय तहमा गएको अधिकारलाई खोसेर फेरि केन्द्रका केही सीमित व्यक्तिहरुको हातमा केन्द्रीत गर्ने, समावेशिता र समानुपातिकतालाई उल्ट्याउन खोज्ने प्रवृत्ति देखापरेको छ । केही मुट्ठीभर मान्छेहरुले षड्यन्त्रपूर्ण तरिकाले यसलाई उल्ट्याउन खोज्ने कुरा नेपाली जनतालाई मान्य छैन ।’

अध्यक्ष प्रचण्डले आर्थिक विकास र समृद्धिको लागि खेल क्षेत्रको भूमिका र महत्व बढ्दै गएको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप