कविताः साथी
-अर्जुन घर्ती ‘क्षितिज’
ए साथी, तिमी कस्तो !
ए साथी, तिमी कस्तो !
कहिले पूर्णिमाको जुनझैँ चम्किदिन्छौ
कहिले औँशीको रातझैँ अँधेरिन्छौ,
कहिले वसन्तको कोपिलाझैँ फुलिदिन्छौ
कहिले शिशिरको पातझैँ झरिदिन्छौ,
चिन्नै गाह्रो भो, साथी तिमी कस्तो !
ए साथी, तिमी कस्तो !
कहिले समुद्रझैँ शान्त हुन्छौ
कहिले असारे भेलझैँ गडगडाउँछौ,
कहिले मन्द हावाझैँ सुसाउँछौ
कहिले हुरी बतासझैँ हुर्हुराउँछौ,
बुझ्नै सारो भो, साथी तिमी कस्तो !
ए साथी, तिमी कस्तो !
कहिले खडेरीमा वर्षाझैँ झरिदिन्छौ
कहिले वर्षातमा झरीझैँ थपिदिन्छौ,
कहिले बिहानीको किरणझैँ उदाउँछौ
कहिले सन्ध्याको घामझैँ अस्ताउँछौ,
चिन्नै गाह्रो भो, साथी तिमी कस्तो !
ए साथी, तिमी कस्तो !
कहिले एकान्तमा साथ बनी आइदिन्छौ
कहिले अत्यासमा कहाली बनी डराइदिन्छौ,
कहिले यात्रामा पदचाप बनी पछ्याइदिन्छौ
कहिले दुई पाइलामै धोखा बनि छाडिदिन्छौ
बुझ्नै सारो भो, साथी तिमी कस्तो !