आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको ९ बुँदे निर्देशन (पत्र सहित)

सोमबार, ०६ वैशाख २०७८, १९ : २८
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपाल राष्ट्र बैंकले ९ बुँदे निर्देशन जारी गरेको छ ।   राष्ट्र बैंकले जोखिम न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य सतर्कतासहित बैंक तथा वित्तीय संस्था संचालन गर्न निर्देशन जारी गरेकोे हो ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज ९ बुँदे निर्देशन जारी गर्दै पूर्ण सजगताका साथ कारोबार सञ्चालन गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले निर्देशनमा क देखि घ वर्गसम्मका बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवाप्रवाह गर्न, सेवा प्रवाहका क्रममा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राही संक्रमणको जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न निर्देशन दिएको छ ।

त्यसैगरी, सेवाग्राहीको भिडभाड नहुने व्यवस्था मिलाउन, भौतिक दूरी काम गर्न तथा यथासम्भव विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न÷गराउन राष्ट्र बैंकको निर्देशन छ ।

राष्ट्र बैंकले एटीएम प्रयोगबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राख्न तथा सेनिटाइजरको व्यवस्था गर्न पनि भनेको छ । त्यस्तै, बैठक, गोष्ठी, सेमिनार, तालिमलगायत कार्यक्रममा पर्याप्त भौतिक दूरी कायम राख्न र सकेसम्म यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्न निर्देशन दिइएको छ ।

राष्ट्र बैंकले कर्मचारीलाई संक्रमणको जोखिमबाट बचाउन जोखिम न्यूनीकरणका विभिन्न उपाय अवलम्बन गर्न भनेको छ । कर्मचारीहरूको समूह विभाजन गरी समूह वीच प्रत्यक्ष सम्पर्क नहुने गरी कार्य वातावरण निर्माण गर्न पनि भनेको छ । त्यसैगरी, रिमोट एसेस, वर्क फ्रम होम, सिफ्टवाइज वर्क जस्ता उपाय अवलम्बन गर्न राष्ट्र बैंकको सुझाव छ ।

संक्रमणको शंका लागेका बिरामीलाई तत्काल आइसोलेट गरी परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टिनमा राख्‍नसमेत निर्देशन गरिएको छ । कोभिड–१९ सुरक्षा व्यवस्थापन समूह गठन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप