सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभाको सातौँ अधिवेशन बैठक अन्त्य

मङ्गलबार, ०७ वैशाख २०७८, १९ : ४९
मङ्गलबार, ०७ वैशाख २०७८

मकवानपुर । विगत केही समयदेखि अवरुद्ध हुँदै आएको बागमती प्रदेशसभाको चालू सातौँ अधिवेशन बैठक अन्त्य गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मंगलवार एक सूचना जारी गर्दै नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको चालू सातौँ अधिवेशन बैठक अन्त्य गरेका  हुन् । 

प्रदेश प्रमुख प्रसाईले जारी गरेको सूचनामा उल्लेख भएअनुसार आज मंगलवार रातको १२ बजेदेखि प्रदेशसभाको चालू सातौँ अधिवेशन बैठक अन्त्य हुनेछ ।  लामो समयपछि गत चैत २४ गतेदेखि सञ्चालनमा आएको बागमती प्रदेशसभाको सातौँ अधिवेशन बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित अन्य विपक्षी दलहरूको विरोधका कारण अवरुद्ध हुँदै आएको थियो । 

विपक्षी दलले राष्ट्रिय सरोकारका विषय, नीति तथा कार्यक्रम तथा बजेट विनियोजनमा सत्तापक्षले एक पक्षीय ढंगबाट बाँडफाँड गरेको भन्दै प्रदेशसभा बैठकमा विरोध जनाउँदै आएका थिए ।  प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सरोकारका विषय र अन्य विषयहरुमा मुख्यमन्त्री डोरमणि पौडेलको जवाफ माग गर्दै गत चैत २४ गतेदेखि सञ्चालनमा आएको संसद् बारम्बार अवरुद्ध गर्दै आएको थियो ।

संसद् सञ्चालन, कोरोना संक्रमण नियन्त्रण र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका बारेमा छलफल गर्न मुख्यमन्त्री पौडेलले हिजो सोमबार सर्वदलीय बैठक आह्वान गरेका थिए । तर, उक्त बैठक माओवादी केन्द्रसहितका विपक्षी दलहरुले बहिष्कार गरेका थिए ।

माओवादी केन्द्रसहित नेपाली काँग्रेस र विवेकशील साझा दलले बैठकका एजेण्डा र बैठकका विषयमा ढिलो गरी जानकारी आएको भन्दै बैठक बहिष्कार गरेका थिए ।  प्रदेशसभा बैठकमा माओवादी केन्द्रले सरकारले बिना मापदण्ड विद्युतीय बस खरिद प्रक्रिया अघि बढाएको, पर्याप्त छलफल बिना नै निजी कम्पनीको समयावधि बाँकी रहँदै सुरुङ मार्ग निर्माणको काम अघि बढाएको, आर्थिक सहायता कार्यविधि नै नबनाई मदन भण्डारी फाउण्डेसनलाई रु ५० लाख सहयोग गरिएको लगायतका विषयमा मुख्यमन्त्री पौडेलको जवाफ माग गर्दै संसद् अवरुद्ध गर्दै आएको थियो ।

माओवादी केन्द्रको अवरोधसँगै प्रदेशसभा बैठक सञ्चालनको सम्भावना नदेखिएपछि प्रदेश प्रमुख प्रसाईले प्रदेशसभाको चालू सातौँ अधिवेशन बैठक अन्त्य गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप