सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रात्रिकालीन व्यवसाय बन्द गरिएकोमा व्यवसायीको आपत्ति

बुधबार, ०८ वैशाख २०७८, ११ : ४०
बुधबार, ०८ वैशाख २०७८

काठमाडौं । कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले सार्वजनिक स्थलमा भिडभाड नगर्न आदेश जारी गर्दै स्कुल, कलेजदेखि होटल, रेष्टुरेन्ट, डान्स बार लगायत मनोरञ्जनका क्षेत्रमा रोक लगाएको छ ।

सोमबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारले पर्यटन क्षेत्रको अभिन्न अङ्ग रात्रिकालीन व्यवसाय, रेष्टुरेन्ट, क्लब, दोहोरी साँझ तथा डान्स बारहरु केही समयका लागि पूर्णतः बन्द गर्ने निर्णय गरेको हो ।

सरकारको यो निर्णयप्रति व्यवसायीहरुले आपत्ति जनाएका छन् । दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले तत्काल रात्रिकालीन व्यवसाय बन्द नगराउन सरकारलाई आग्रह गरेको छ ।

व्यवसाय बन्द गरेरमात्र कोभिड१९ को रोकथाम तथा नियन्त्रण नहुने भन्दै समितिले स्वास्थ्य सुरक्षाको अधिकतम उपाय अपनाएर व्यवसाय खुला गर्न सरकारसँग माग गरेको छ । उनीहरुले संगठित रुपमै पत्रकार सम्मेलन गर्दै सरकारसँग यस्तो माग गरेका हुन् ।

कोरोनाको विकल्प केवल बन्दमात्र होइन । आवश्यक स्वास्थ्य सुरक्षा र सावधानी अपनाएर काम गर्न पाउनुपर्छ, समितिका संयोजक विनोद श्रेष्ठले भने, ‘अहिलेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाईका साथ पालन गराएर सबैखाले व्यवसाय खोल्न दिन म सरकारसँग माग गर्दछु ।

सरकारले जबरजस्ती व्यवसाय बन्द गर्न खोजे त्यसको प्रतिकार हुने उनको भनाइ छ ।

दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सुनधाराका संयोजक आरसी पोखरेलले सरकारले रात्रिकालीन व्यवसाय बन्द गरेर व्यवसायीहरूमाथि अन्याय गरेको भन्दै सो फुकुवा नभए विद्रोह गर्ने चेतावनी दिए ।

दोहोरी साँझ तथा रात्रिकालीन व्यवसायमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा ७० हजार व्यवसायी जोडिएका छन् । १७ सय अपाङ्गता भएकालाई समेत हामीले रोजगारी दिएका छौं । त्यतिमात्र होइन, हामीले राज्यलाई करसमेत तिरेका छौं । यति गर्दा पनि हामीमाथि सधैँ प्रहार ? पोखरेलले भने, ‘फेरि पनि हामीलाई रोक्न खोजिए विद्रोह हुन्छ । दमन गर्न खोजिए त्यसको सशक्त प्रतिकारमा उत्रन्छौं ।

व्यवसायीहरुका अनुसार हाल दोहोरी साँझ तथा रात्रिकालीन व्यवसायमा २० अर्ब रुपैयाँभन्दा बढी लगानी छ भने प्रत्यक्ष तथा परोक्ष गरी करिब ७० हजारले रोजगारी पाएका छन् । सो क्षेत्रबाट मात्र सरकारलाई वार्षिक ७ अर्बभन्दा बढी राजश्व प्राप्त भइरहेको उनीहरुको दावी छ ।

पर्यटन बोर्डले भने आवश्यकता र परिस्थितिको बाध्यतालाई मनन् गर्दै व्यवसायीहरुले सरकारको निर्णयलाई आत्मसात् गर्नुपर्ने बताएको छ ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले भने, ‘कोभिड१९ को जोखिमलाई हामीले कम आँकलन गर्नु हुँदैन । अहिले आएको कोरोना भाइरसको दोस्रो लहर निकै खतरनाक रहेको भन्ने सुनेको छु । यसतर्फ हामी सबै सचेत हुनैपर्छ ।

आफूहरु सधैँ व्यवसायीकै पक्षमा रहेको उल्लेख गर्दै उनले कोभिड१९ को जोखिममा स्वास्थ्य सुरक्षाको अधिकतम प्रोटोकल अपनाएर व्यवसायीहरुलाई निर्वाध व्यवसाय गर्न दिनुपर्ने बताए ।

रेग्मीले भने, ‘कोभिड१९ पछि भर्खर भर्खरमात्र पर्यटन व्यवसायले खुट्टा टेक्न लागेको थियो । त्यसमा पनि रात्रिकालीन व्यवसाय त भर्खरै मात्र सञ्चालनमा आएका हुन् । यी व्यवसाय पुनः बन्द गर्दा सिङ्गो पर्यटन व्यवसाय नै प्रभावित हुन पुग्छ ।

लामो समयको बन्दाबन्दीले आक्रान्त व्यवसायीहरुलाई पुनः बन्दाबन्दीले ठूलो नोक्सान पार्ने उल्लेख गर्दै उनले सरकारले केही समयका लागि मात्र बन्द गरिएको भनेकाले केही समयपछि पुनः खुल्नेमा आफूहरु विश्वस्त रहेको बताए ।

त्यसो त सरकारले कोभिड१९ को दोस्रो लहर मुलुकमा तीव्र संक्रमण बढेसँगै रात्रिकालीन व्यवसायमात्र होइन, अन्य व्यावसायिक तथा सामाजिक गतिविधिमा समेत कडाई गर्ने नीति लिएको छ ।

जसअन्तर्गत सरकारले अर्को निर्णय नभएसम्म सार्वजनिक स्थलहरुमा अधिकतम ५ जनाभन्दा बढी जमघट, भेला नहुन र सामूहिक पार्टी, सभा सम्मेलन तथा विवाहजस्ता सामाजिक कार्यक्रमहरुमा अधिकतम २५ जनाभन्दा बढीको उपस्थिति हुन सार्वजनिक अपिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप