सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संगठित अपराधमा संलग्न रहेको आरोपमा प्रहरीसहित ८ जना पक्राउ

आइतबार, १२ वैशाख २०७८, १७ : ०९
आइतबार, १२ वैशाख २०७८

वीरगंज । पर्सामा लुटपाट तथा लागुऔषध कारोवारमा संलग्न भएको अभियोगमा एक प्रहरीसहित ८ जना पक्राउ परेका छन् । नेपाल–भारतको सीमावर्ती क्षेत्र रक्सौलबाट पक्राउ परेका आरोपितहरुको साथबाट २ थान पेस्तोल र ४ थान म्याग्जिनसहित विभिन्न किसिमका लागुऔषधसमेत बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेको समूहले लागूऔषध तथा हातहतियार कारोबारीलाई भारतको रक्सौल लगेर लागुऔषध र हातहतियार खरिद गराउने र पछि वीरगंज ल्याएर लुट्ने गरेको रहस्य खुलेको छ । उक्त कार्यमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एक प्रहरी जवानले उनीहरुलाई सहयोग गर्दै आएकोसमेत खुलेको छ ।

पर्सा प्रहरीले वैशाख ८ गते मकवानपुरको मनहरी गाउँपालिका–५ बस्ने २५ वर्षीय राजु राना मगरलाई अवैध हतियारसहित पक्राउ गरेपछि घटना बाहिरिएको प्रहरीको भनाइ छ । सो समूहले मगरलाई पनि केहीदिन अगाडि लुटेको थियो ।

घटना बाहिरिएपछि मगरले प्रहरीलाई दिएको नाम अनुसार उनीहरुलाई पक्राउ  गरिएको पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । पक्राउ पर्नेमा रौतहटको सखुहवा नगरपालिका–१ घर भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २९ वर्षीय प्रहरी जवान अवधेश प्रसाद यादव, वीरगंज महानगरपालिका–१२ स्थित मुर्ली बस्ने ४३ वर्षीय लालबाबु सिंह, ३५ वर्षीय श्यामबाबु कुशवाहा, ४२ वर्षीय अरविन्द प्रसाद गुप्ता, ४२ वर्षीय कुँवर सिंह, वडा नम्बर १५ बस्ने २४ वर्षीय नन्दन सिंह र ३१ वर्षीय रोशन सिंह छन् ।

यसरी पक्राउ परे

पर्सा प्रहरीले वैशाख ८ गते भारतको सीमावर्ती रक्सौलबाट वीरगंज आउँदै गरेका मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीय राजु राना मगरलाई १ थान स्वचालित पेस्तोल र त्यसमा लाग्ने २ थान म्याग्जिनसहित पक्राउ गरेको थियो । मगरलाई पक्राउ गरेर सोधपुछ गर्दा उनले आफू विगत ४÷५ वर्षदेखि रक्सौल पुग्ने गरेको र त्यहाँबाट लागुऔषध ल्याई काठमाडौंको विभिन्न स्थानमा बिक्रीवितरण गर्दै आएको प्रहरीलाई बयान दिएका थिए ।

उनले आफू लगभग २० दिन पहिला काठमाडौं बस्ने राम प्रजापतिसँग रक्सौल पुगेर डेढ लाख रुपैयाँमा २ थान स्वचालित पेस्तोल, ४ थान म्याग्जिन र लागूऔषध १÷१ सय एम्पुल डाइजिपाम, नुर्फिन, फिनार्गन र १२ सय ट्याब्लेट निट्राभेट नाइट्रोभेट खरिद गरेको बताएका थिए ।

२० दिन अगाडि खरिद गरिएको हतियार र लागूऔषध लिन उनीहरु वैशाख ८ गते आफ्नो पुराना सहयोगी लालबाबु सिंहसँग रक्सौल पुगेका थिए । त्यहाँबाट १ थान स्वचालित पेस्तोल, २ थान म्याग्जिन र लागूऔषध लिई कुँवर सिंहको अटो रिक्सामा बसेर वीरगंजको बसपार्कस्थित मनकामना गेष्ट हाउसको कोठा नम्बर १०५ मा बसेका थिए । त्यहाँबाट पहिला काठमाडौं जाने र पछि आएर फेरि अर्को थान पेस्तोल लिने उनीहरुको योजना थियो ।

त्यसपछि लालबाबु सिंहले प्रहरी जवान अवधेश प्रसाद यादवसहित रोशन सिंह र नन्दन सिंहसँग मिलेर मगर र प्रजापति बसिरहेको कोठामा पुगेर उनीहरुसँग रहेको  लागूऔषध र हतियार लुट्ने योजना बनाएका थिए । योजना अनुसार उनीहरुले सोही दिन दिउँसो ४ बजेको समयमा मनोकामना गेष्ट हाउसको कोठा नम्बर १०५ मा प्रवेश गरी मगर र प्रजापतिसँग रहेको लागूऔषध, पेस्तोल, म्याग्जिन, मोबाइल सेट, प्रजापतिको दुवै कानमा रहेको सुनको मुन्द्रा र ७ हजार रुपैयाँ समेत लुट्न सफल भएको थियो । उनीहरुले मगर र प्रजापतिलाई लुटिरहँदा श्यामबाबु कुशवाहा र अरविन्द गुप्ता प्रहरीको निगरानी गर्न गेस्ट हाउस बाहिर खटेका थिए ।

एक थान पेस्तोल, लागूऔषध र अन्य सामाग्री लुटिएपछि प्रजापति भने काठमाडौं फर्किए भने मगर दोस्रो पेस्तोल लिन त्यही दिन फेरि रक्सौल पुगे । दोस्रो पेस्तोल र म्याग्जिन लिएर रक्सौलबाट पैदल वीरगंज आईरहँदा उनलाई नाकामा खटेका प्रहरीले शंकाको आधारमा चेकजाच गर्दा मगरको साथबाट ‘सनमाइक’ लेखिएको पेस्तोल र म्याग्जिन बरामद भएको थियो ।

मगर पक्राउ परेपछि अनुसन्धान गर्दै जाँदा गिरोहको पर्दाफास भएको प्रहरी नायब उपरीक्षक खनालले बताए । यस क्रममा लुटिएको पेस्तोलसमेत पक्राउ परेका रोशन सिंहबाट प्रहरीले बरामद गरेको छ । पेस्तोलमा लाग्ने म्याग्जिन प्रहरी जवान अवधेश यादव बस्ने वीरगंज महानगरपालिका–१३ स्थित कोठाबाट बरामद भएको उनले जानकारी दिए ।

यसैगरी लुटिएका लागूऔषध प्रहरी जवान यादवले वीरगंज महानगरपालिका वडा नम्बर १३ स्थित सिर्सिया खोलाको छेउमा रहेको नर्कटको झाडीमा लुकाएर राखेको अवस्थामा बरामद भएको हो । प्रजापतिबाट लुटिएको सुनका मुन्द्राहरु लालबाबु सिंहको दाहिने जुत्ताको तलुवाभित्रबाट बरामद भएको जनाइएको छ ।

पक्राउ परेका सबै विरुद्ध लागूऔषध, हातहतियार तथा संगठित अपराधमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप