बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अक्सिजनको हाहाकार हुने चिकित्सकको चेतावनी

हाई डिपेन्डेन्सी युनिट स्थापना कागजमै सीमित
आइतबार, १२ वैशाख २०७८, २१ : ४१
आइतबार, १२ वैशाख २०७८


अस्पतालहरुमा गम्भीर खालका कोरोना भाइरस (कोभिड—१९) का बिरामी बढ्न थालेपछि भयावह अवस्था उत्पन्न हुन सक्ने संकेतहरु देखिन थालेका छन् । नेपालमा कोरोना संक्रमणको दर तीव्रगतिमा बढिरहँदा काठमाडौं उपत्यकामा अक्सिजनको अभाव हुने चिकित्सकहरुले चेतावनी दिएका छन् । यही गतिमा कोरोना संक्रमण दर बढ्दै गए छिट्टै अक्सिजनको हाहाकार उनीहरुको भनाइ छ ।

कोभिड—१९ संक्रमित भएर अस्पताल भर्ना भएकामध्ये ९५ प्रतिशत बिरामीलाई अक्सिजनको आवश्यकता पर्छ । उपत्यकाका अस्पतालमा कोभिडका बिरामीलाई छुट्याइएका जनरल बेड, आईसीयू र भेन्टिलेटरमा बिरामीले भरिएका छन् ।

आईसीयू र भेन्टिलेटर  आवश्कता नपर्ने जनरल वार्डमा भर्ना भएका बिरामी प्रायः सबैलाई  अक्सिजन आवश्यक पर्ने त्रिवि शिक्षण अस्पताल (टिचिङ)का कोभिड संयोजक डा.सन्तकुमार दासले रातोपाटीलाई बताए ।

‘टिचिङ अस्पतालमा भर्ना भएका कोभिडका ९० प्रतिशत बिरामीलाई अक्सिजन दिने गरिएको छ,’ उनले भने, ‘अहिलेसम्म जेनतेन गरेर धानिएको छ, थप बिरामी बढेपछि अक्सिजनको अभाव हुन्छ ।’

टिचिङ अस्पतालमा एक हजार लिटर अट्ने अक्सिजन प्लान्ट बिग्रिएर थन्किएको छ । अब सम्बन्धित निकायले अक्सिजनको व्यवस्थापन नगरे बिरामीको उपचारमा चुनौती थपिने उनले बताए ।

अस्पतालमा ११ जना आईसीयूमा, ११ जना नै भेन्टिलेटर र अन्य ५० जना उपचाररत छन् । कोभिडका ५४ जना बिरामीले अक्सिजन लगाएको उनले बताए ।

 ‘अब यही गतिमा कोभिड बिरामी अस्पताल उपचारका लागि आए भने थेग्न गाह्रो हुन्छ,’ डा. दासले सुनाए, ‘अहिले संक्रमितलाई आईसीयू, भेन्टिलेटर अभाव भएझैँ अक्सिजनको पनि अभाव सृजना नहोला भन्न सकिदैँन ।’

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले सावधानी अपनाउन सूचना जारी गर्दै संक्रमण दर यही गति बढ्दै गए अस्पतालमा राखेर उपचार नसकिने अवस्था सृजना भएको आइतबार चेतावनी दिएको छ । सरकारले पहिलो महामारीबाट पाठ सिकेर स्वास्थ्य पूर्वाधारको व्यवस्थापन गर्न नसकेको जनस्वास्थ्यविद्हरुले आरोप लगाउँदै आएका छन् ।

यता पाटन अस्पतालमा डेढ वर्षदेखि अक्सिजन प्लान्ट बिग्रिएको निर्देशक डा.रवि शाक्यले बताए । ‘अस्पतालमा भर्ना भएका बिरामीलाई सहज तरिकाले अक्सिजन उपलब्ध गराएका छौं,’ उनले भने, ‘ यसरी अस्पतालमा भर्ना हुने बिरामी बढ्दै गए भने अक्सिजनको अभाव हुन्छ ।’

अस्पतालले डेढ वर्षदेखि बिग्रिएको अक्सिजन प्लान्टलाई बनाउने कोशिस गरिहेको उनको भनाइ छ । दैनिक रुपमा पाटन अस्पतालमा तीन सय सिलिन्डर अक्सिजन आपूर्ति हुने उनले सुनाए ।

यस्तै वीर अस्पतालमा रहेको अक्सिजन प्लान्ट करिब एक वर्षदेखि बिग्रिएको छ । वैशाखमा बिग्रिएको अक्सिजन सप्लायर्स मेसिनको मर्मत कार्य भइरहेको अस्पतालले जनाएको छ । वीर अस्पतालका फोकल पर्सन डा. अच्युत कार्कीले ४० जना कोभिडका बिरामीलाई अक्सिजन दिइरहेको बताए । ‘अहिले पनि सप्लायर्सबाट सहज रुपमा अक्सिजन सिलिण्डर पाएका छौँ’, उनले भने ।

नेपालमा संक्रमण दर बढेपनि हाल बिरामीका लागि अक्सिजन सहज रुपमा उपलब्ध भएको स्वास्थ्य सेवा विभाग अन्र्तगत शाखाका प्रमुख उपेन्द्र ढुंगानाले दावी गरे ।

हालसम्म भारतबाट अक्सिजन आयात हुने गरेको उनले सुनाए ।  ‘भारतमा संक्रमण तीव्र गतिमा फैलिँदा अक्सिजनको अभाव भएको भारतीय संचारमाध्यमले बताउँदै आइरहेका छन्,’ उनले भने, भने ‘त्यहाँ नै अभावको भए भारतले नियमितरुपमा अक्सिजन नपठाए यहाँ अक्सिजन अभाव हुन सक्छ ।’  हाल दैनिक ७ हजार सिलिन्डर अक्सिजन सरकारी र निजी अस्पतालहरुमा खपत हुँदै आएको छ । संक्रमण दर उच्च रहेको बेला यो माग २० हजार सिलिन्डरसम्म पुग्ने आँकलन गरिएको छ ।

हाई डिपेन्डेन्सी युनिट स्थापना कागजमै सीमित

 सरकारले कोरोना संक्रमणको पहिलो लहरमा नेपालका मुख्यमुख्य अस्पतालहरुमा ६ हजार हाई डिपेन्डेन्सी युनिट स्थापना गर्ने योजना सार्वजनिक गरेको थियो । तर, उपत्यका वीर, पाटन र त्रिवि शिक्षण अस्पतालमा एक सयको दरले एचडीयू अर्थात हाई डिपेन्डेन्सी युनिट निर्माण गर्ने योजनामै सीमित भएको छ । हाई डिपेन्डेन्सी युनिट (एचडीयू) आईसीयू भन्दा अलि कमको सेवा भएको वार्ड हो ।

स्वास्थ्य मन्त्रालयले हाई डिपेन्डेन्सी युनिटका निर्देशन दिएको पनि उपत्यकाका अस्पतालमै स्थापना गरिएको छैन । पाटन अस्पतालमा १०० एचडीयू थप गर्ने भनेपनि अस्पतालकै १० वटा एचडीयूमा सीमित छ । अस्पताल निर्देशक शाक्यका अनुसार एचडीयूका थपका विषयमा छलफल भइरहेको छ । उता त्रिवि अस्पताल टिचिङमा पनि ५० वटा मात्रै एचडीयू बेड छ । एचडीयू निर्माण गर्ने ठेक्का पाएका सप्लायर्समध्ये केहीले विभिन्न वहानामा पन्छिएको अस्पतालको भनाइ छ ।

प्रसूति गृह, वीर अस्पतालमा जडान गरिएका एचडीयू २५ बेड पनि संचालनमा ल्याइएको छैन । प्रदेशका मुख्य अस्पतालहरुमा एचडीयू राख्ने भनेपनि कहाँ कति राखियो भन्नेबारे स्वास्थ्य मन्त्रालयसँग विवरण छैन ।

आइतबार स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरुमा हाई डिपेन्डेन्सी युनिट एचडीयू वार्ड संचालन भए–नभएको प्रमाण सहित मन्त्रालयमा पेश गर्न निर्देशन सूचना नै जारी गरेको छ ।

जेठ असारसम्म संक्रमितको संख्या दैनिक ११ हजार पुग्ने प्रक्षेपण गर्ने स्वास्थ्य मन्त्रालयले संक्रमितले अस्पताल भरिन थालेपछि एचडीयूको अवस्थाको बारेमा अस्पतालसँग एचडीयू संचालनका लागि अस्पतालहरुले लेखिए अनुसार समाग्री खरिद गरी संचालनमा ल्याएको भए तस्बिर सहितको प्रगति विवरण तीन दिन भित्र पठाउन निर्देशन दिएको हो ।

जनस्वास्थ्यविद्हरुले कोरोना संक्रमणको पहिलो लहरमा पहिचान, नियन्त्रण र उपचारसम्बन्धी भएका गल्तीलाई दोहोर्‍याइरहेको आरोप लगाउँदै आएको छन् । सरकारले एचडीयूका लागि ४ अर्ब २५ करोड २७ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

भारतकै गतिमा फैलिँदै कोरोना

नेपालमा पनि कोरोना संक्रमण दर भारतकै गति बढ्न थालेको छ । कोरोना परीक्षण गरेकामध्ये  एक तिहाई व्यक्ति संक्रमित भएको स्वास्थ्य मन्त्रालयले आँकडाले देखाएको छ । भारतमा परीक्षण गरेका मध्ये ३३ प्रतिशत संक्रमण पुष्टि हुने गरेको छ । गएको २४ घण्टामा नेपालमा पनि ९ हजार २९३ जनाको कोरोना भाइरस कोभिड—१९ परीक्षण गर्दा ३ हजार ३२ जना अर्थात ३२.६२ प्रतिशतमा पुष्टि भएको छ ।

 शनिबार ७ हजार ५ सय २५ परीक्षण गर्दा २ हजार ४ सय ८६ जनामा पुष्टि भएको थियो । शुक्रबार ८ हजार ७ सय ९८ पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४ सय ४९ जना अर्थात परीक्षण गरेका मध्ये २७ प्रतिशत नागरिक संक्रमित भएका थिए ।

बिहीबार १० हजार १ नमुना परीक्षण गर्दा २ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण देखिएको थियो । बुधबार ८ हजार ८ सय ४४ नमुना परीक्षण गर्दा २५ प्रतिशत नागरिक संक्रमण भएको थियो । यस्तै मंगलबार ८ हजार ५५ जना कोरोना पुष्टि १ हजार ६ सय ६७ संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

यसरी पीसीआर र एन्टिजिन विधि परीक्षण दर र नतिजा हेर्दा भारतमा झैं नेपालमा पनि एकतिहाइ  मानिस कोरोना संक्रमित छन् । नेपालमा संक्रमितको संख्या ३ लाख नाघिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप