बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमका ६ जिल्ला औलोको जोखिममा

सोमबार, १३ वैशाख २०७८, १२ : ०८
सोमबार, १३ वैशाख २०७८

 सुदूरपश्चिम प्रदेशका ६ जिल्ला औलो रोगको जोखिममा छन् । प्रदेशको कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्लामा औलोको जोखिम बढेको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार ती जिल्लामा चालु आर्थिक वर्षमा १८६ औलोका बिरामी फेला परेका छन् । औलोका बिरामी सबैभन्दा बढी कैलालीमा फेला परेका छन् । कैलालीमा चालु आर्थिक वर्षमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा ९ र डोटीमा ७ जना औलो रोगी फेला परेको जनाइएको छ ।

जिल्लामा स्थानीय भन्दा पनि आयातित औलोका बिरामी बढेको निर्देशनालयले जनाएको छ । चालु आर्थिक वर्षमा ११५ आयातित औलोका बिरामी रहेको जनाइएको छ ।

प्रदेशमा आर्थिक वर्ष २०७६÷७७ मा ३२० औलोका बिरामी थिए । जसमध्ये दुई सय ५५ आयातित र ६५ स्थानीय औलोका बिरामी थिए । प्रदेशमा आयातित औलोका सबैभन्दा बढी बिरामी कैलालीमा पाइएको छ ।

स्वास्थ्य कार्यालय कैलालीका अनुसार जिल्लामा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका औलोको उच्च जोखिममा गनिएका स्थानीय तह हुन् । कैलालीका तीन वडा उच्च जोखिममा छन् भने ४४ वडा मध्यम जोखिममा छन् ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले सन् २०२२ भित्र स्थानीय औलोलाई शून्यमा झार्ने लक्ष्य लिइएको बताए । उनका अनुसार जिल्लामा स्थानीय औलोका बिरामी फेला परेका छैनन् भने आयातित औलोका बिरामीको संख्या पनि कम हुँदै गएको छ ।

कैलालीमा आर्थिक वर्ष २०७६÷७७ मा १०९ औलोका बिरामी रहेकोमा १०२ जना आयातित औलोका बिरामी थिए ।

स्वास्थ्य कार्यालय कैलालीका अनुसार औलो अन्य व्यक्तिमा सर्न नदिन स्वास्थ्य कार्यालयले विभिन्न गतिविधि गरिरहेको छ । कार्यालय प्रमुख धामीका अनुसार जोखिम क्षेत्रको पहिचान, संक्रमितको पहिचान तथा परीक्षण, निःशुल्क उपचार, किटनाशक झुल वितरण, विषादी छर्ने लगायतका गतिविधि स्वास्थ्य कार्यालय र स्थानीय तहअन्तर्गत रहेको स्वास्थ्य शाखाले गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप