बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चिकित्सक संघद्वारा स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारलाई सुझाव

सोमबार, १३ वैशाख २०७८, १८ : ३८
सोमबार, १३ वैशाख २०७८

काठमाडौं । नेपाल चिकित्सक संघले कोभिड १९ बाट अति प्रभावित जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारसँग माग गरेको छ । 

चिकित्सक संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालहरुमा सघन उपचार शैया, औषधि र अक्सिजनको अभावका कारण मृत्यु हुनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको परिस्थितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

संक्रमण नियन्त्रणका लागि सरकार, स्वास्थ्यकर्मी र सर्वसाधारणलाई सावधानी अपनाउन संघको अपिल छ । त्यस्तै संघले कोभिड नियन्त्रणका लागि सरकार, स्वास्थ्यकर्मी र सर्वसाधारणलाई छुट्टाछुट्टै सुझाव पनि दिएको छ ।

संघको कार्यालयमा भएको विज्ञहरुसँगको छलफलपछि संघले १८ बुँदे सुझाव सार्वजनिक गरेको हो। 

नेपाल सरकारले सम्बोधन गर्नु पर्ने बुँदाहरु 

१)     नेपालमा पनि सेकेण्ड वेभ आईसकेर कोभिडको नयाँ भेरियन्ट प्रमाणित समेत भई धेरै नागरिकहरुले मृत्युवरण गर्नु परिरहेको परिस्थितिलाई गम्भीर रुपमा लिदै दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएको, स्वास्थ्यकर्मी तथा चिकित्सकहरु नै संक्रमित भएको तथा अस्पतालका बेडहरु समेत कोभिड –१९ का कारण  विरामीहरुले भरिएकाले नेपाल सरकारले अबिलम्ब बढी संक्रमित भएका जिल्लाहरुमा मेडिकल इमरजेन्सी घोषणा गरि  बन्दा बन्दी गर्दै नागरिकहरुको स्वास्थ्य उपचारलाई सहज बनाउनु पर्ने। 

२) सरकारी अस्पताल, मेडिकल कलेज तथा निजि अस्पतालहरुसंग समन्वय गरि Elective Surgery तथा नियमित स्वास्थ्य परिक्षणलाई बन्द गर्दै COVID19 को उपचारमा अस्पतालका वार्डलाई प्रयोग गर्नु पर्ने साथै अस्पतालमा बेड अक्सिजन र एचडियुको संख्या तुरुन्त थप गर्नुपर्ने।

३)  कोभिड अस्पताल घोषणा गरि संक्रमितहरुलाई छुट्टै उपचार गर्नु पर्ने। 

४) स्वास्थ्य संस्थालाई भौतिक तथा प्राविधिक रुपमा सबल र सक्षम बनाउनु पर्ने साथै कोभिड–१९ को उपचारमा प्रयोग हुने सामग्रीहरुको सहज उपलब्धता गराउनु पर्ने। 

५)     कोभिडमा काम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको स्वास्थ्यको जिम्मा नेपाल सरकारले लिने र घोषणा गरिएको जोखिम भत्ता तथा बीमालाई प्रभावकारी रुपमा लागू गरिनु पर्ने। 

६)     सार्वजनिक स्थानहरुमा स्वास्थ्यका मापदण्डको पालनालाई कडाईका साथ लागू गर्नु पर्ने र भिडभाड हुने स्थान र जोखिमयुक्त क्षेत्रहरु बन्द गर्नु पर्ने। 

७) फ्रन्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मी एबम् चिकित्सकहरु कोभिड-१९ बिरुद्धको खोपबाट अझै पनि बन्चित रहेको हूँदा कोभिड१९ बिरुद्धको खोप यथाशिघ्र उपलब्ध गराउनु पर्ने।

८) चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको दरबन्दी न्यून भएको हुनाले सो दरबन्दी तुरुन्त थप गर्नु पर्ने र चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने पिपिइ र कोभिड१९ सम्बन्धि तालिम दिनु पर्ने।

९) कोभिड १९ को दोश्रो वेब समुदायमा पनि फैलिसकेको हुनाले पोजिटिभ देखिएका   केसहरुका कन्ट्याक्ट ट्रेसिङ गरि टेस्टको दयारा बढाउनु पर्ने र हटस्पट भएको ठाँउहरुमा फ्री आरटीपिसिआर गरी पोजिटिभ देखिएका केसहरुलाई आइसोलेसनको उचित व्यवस्था मिलाउनु पर्ने। 

१०) कोभिड १९ आइसकेपछि सुरु गरिएका स्वास्थ्यका कार्यक्रम तथा योजनाहरु यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने। 

११)  दिर्घ रोगका उपचारमा रहेका बिरामीहरुको सहज उपचारका लागि छुट्टै उपचारको व्यवस्था गर्नुपर्ने।

सर्व साधारण नागरिकहरूका लागि 

१)     बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने ,साबुन पानी वा सेनिटाइजरले हात धुने र बालबालिकाहरु तथा परिवारका अन्य सदस्यहरुलाई पनि मास्कको उचित प्रयोग गर्न लगाउने। 

२)     भिडभाड नगर्ने तथा भिडभाड भएको स्थानमा नजाने, भोज भतेर तथा पार्टीहरुमा नेपाल सरकारको मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने। 

३)     आफ्नो पालो अनुसार कोभिड–१९ का बिरुद्ध भ्याक्सिन लिने र सुरक्षाका उपायहरु नियमित रुपमा प्रयोग गर्ने। 

४)     कोभिड–१९ बाट संक्रमित व्यक्तिको सम्र्पकमा आएको अवस्थामा सतर्कता अपनाई आइशोलेसनमा बस्ने। 

५)     ज्वरो, रुघाखोकी अथवा सास फेर्न कठिनाई भएको अवस्थामा तुरुन्त कोभिडको परीक्षण गराई उपयुक्त उपचार गर्ने गराउने। 

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि

१) स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अपनाएर , सुरक्षाका सामग्रीहरु सहि ढंगबाट प्रयोग गरी आफु सुरक्षित रही आ–आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीका साथ काम गर्न गराउनु पर्ने।


२) चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कोभिड भेरियन्टको बारेमा आम नागरिकलाई सुसूचित  गराउनका लागि आ आफ्नो ठाउँबाट आवश्यक पहल गर्ने। 

नेपाल सरकारले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई क्षमतावान बनाउनु पर्ने अत्यन्त जरुरी अवस्थालाई समेत नजरअन्दाज गरेको अवस्थामा समेत हामी सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको सुरक्षाका निम्ती सजगता अपनाउँदै नागरिकहरुको स्वास्थ्य सेवा प्रवाहमा खटिन यस संघ सबैमा हार्दिक अपिल गर्दछ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप