सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

होल्डिङमा परे खाद्य सामग्री बोकेका सवारी, चालकले पोखे गुनासो (भिडियोसहित)

शनिबार, १८ वैशाख २०७८, १८ : ५३
शनिबार, १८ वैशाख २०७८

कुनै एक ठाउँमा खाद्य सामग्री पुर्‍याएर आफ्नो गन्तव्यमा फर्कँदा प्रहरीले गाडी समातेर राख्ने गरेको भन्दै सवारी चालकले गुनासो गरेका छन् । ललितपुरको सानेपामा प्रहरीको ‘होल्ड’मा परेका रोशन बयलकोटीले बिहान ५ बजेदेखि दिनभरी प्रहरीले गाडी समातेर दुःख दिएको बताए ।

दाल चामल बोक्ने उनलाई बानेश्वरबाट कलङ्कीमा खाद्य सामग्री पुर्‍याएर फर्कने क्रममा प्रहरीले समातेको हो । अघिल्लो दिन खाद्यवस्तु बिक्रीको बिल काटिएको र सो देखाउँदा पनि आजैकै चाहिने भन्दै गाडी समातेको उनको दुखेसो थियो । प्रहरीले ‘पावर’ लगाउनेहरूलाई भने छोडिदिएको भन्दै उनले भने, ‘नियम कानुन सबैलाई बराबर हुनुपर्ने हैन भन्दा पुलिसले हामीलाई छोड्न आदेश आएको गाडी छोड्ने हो, जिल्ला प्रशासन कार्यालयका कुरा गर्नुस् भन्छ । के गर्ने खै ।’

बिहानदेखि पानी खान पनि नपाएको र चाउचाउको भरमा बसेको बसेको उनले उल्लेख गरे । 

बयलकोटी जस्तै सानेपाका धर्मेन्द्र रुम्बा पनि प्रहरीको होल्डमा परेका थिए । उनी सानेपाबाट बिहान ६ बजे तरकारी लिन बल्खु जाँदै थिए, तर प्रहरीले खाली गाडी चलाएको भन्दै समातेको उनले बताए ।

भिडियो हेर्नुहोस्

उनले भने, ‘कि त तरकारी गाडी पनि चलाउन दिनुभएन । तरकारी पुर्‍याएपछि घर जान दिनुपर्‍यो । बिहानदेखि खाना, खाजा, पानी पनि खान पाएको छैन ।’

प्रहरीले तोरीको तेलका बाकस बोकेको मोटरसाइकल, फोहोरमैला बोक्ने गाडी, खाद्य, पानी, तरकारी बोक्ने गाडीहरुलाई सडकमै होल्ड गरेर राख्ने पाइएको हो । सरकारले बिहीबारदेखि उपत्यकामा जारी गरेकोे निषेधाज्ञामा यस्ता सवारी साधनलाई रोक लगाइएको छैन । तर प्रहरीले होल्ड गर्ने सवारीसाधनमा यस्तै प्रकृतिका सवारी पर्ने गरेका छन् ।

बिहान ६ बजे नै समातिएका गाडीलाई पनि बेलुका ७ बजेमात्र छोडिने प्रहरीहरु बताइरहेका थिए । अत्यावश्यक सेवामा रहेका सहित प्रहरीले सानेपा चोकमा मात्रै ७० वटा हाराहारी समातेको थियो । उनीहरु मध्ये अधिकांशले समात्न नपर्ने गाडी प्रहरीले समात्यो भनेर गुनासो गरिरहेका थिए  ।

खाद्य, तरकारीको गाडी समात्ने नीति छैनः काठमाडौंका प्रमुख जिल्ला अधिकारी

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले खाद्य सामग्री, पानी, तरकारी लगायतका दैनिक आवश्यक पर्ने सामग्री ढुवानी गर्ने सवारी साधनलाई निषेधाज्ञाका बेला समात्ने नीति नरहेको उल्लेख गरे । रातोपाटीसँग कुरा गर्दै पराजुलीले भने, ‘उनीहरुले गाडीमा के को प्रयोजनका लागि चलाएको हो, त्यो स्पष्ट हुने ब्यानर गाडीमा राख्नुपर्छ । त्यस्ता गाडी समातिँदैनन् । बरु आज शनिबार हामीले सेतो नम्बर प्लेटको गाडी चलेको छ भने त्यसलाई पनि होल्डमा राख्न भनेका छौँ । शनिबार सरकारी कार्यालय बिदा हुने भएकोले सडकमा त्यस्ता गाडी भेटे प्रहरीले समातेर होल्डमा राख्छ ।’

उनले आफूले पनि सडकमा अनुगमन गरिरहेको र अत्यावश्यक सेवामा रहेका सवारी होल्डमा रहेको भए त्यसलाई छोड्ने उल्लेख गरे ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले उपत्यकाका ३ जिल्लामा गरेको निषेधाज्ञाको तेस्रो दिन पनि बिना पास गुडेका सवारी साधानलाई प्रहरीले सडकमा नियन्त्रण गरेर राखेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप