आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश १ को होटल व्यवसाय : २५ अर्ब लगानी जोखिममा

कोरोना बढेसँगै आन्तरिक पर्यटन प्रभावित
आइतबार, १९ वैशाख २०७८, ११ : ४५
आइतबार, १९ वैशाख २०७८

कोरानाको पहिलो लहरबाट नराम्ररी थलिएको पर्यटन क्षेत्र चलायमान हुन नपाउँदै दोस्रो लहर बढ्न थालेपछि फेरि प्रभावित बनेको छ ।  महामारीको दोश्रो लहर सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहलमा स्वाभाविक रुपमा प्रभावित भएको छ भने कतिपय जिल्लामा निषेधाज्ञा नै जारी भएपछि पर्यटन व्यवसायी चिन्तित बनेका छन् ।

आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश १ का संयोजक भविस श्रेष्ठले  कोरोनाको दोस्रो लहरसँगै पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको बताए । उनले पूर्वका मुख्य पर्यटकीय गतव्यहरुमा पर्यटकको आवागमन ठप्पप्राय: भएको बताए ।

‘कोरोना संक्रमणको दर शून्यमा झरेसँगै पर्यटकीय गन्तव्यहरुमा चहलपहल बढ्न थालेको थियो,’ श्रेष्ठले भने, ‘तर यो क्रम धेरै दिन टिक्न सकेन ।’

 संयोजक श्रेष्ठका अनुसार पर्यटन प्रवर्द्धन र विकासका लागि प्रदेश १ मा पहिचान गरिएका २८ वटै गन्तव्यमा पछिल्लो समय आन्तरिक पर्यटकको उपस्थिति बाक्लिँदै गएको थियो । तर कोरोनाको कारण अहिले यो क्रममा ब्रेक लागेको छ ।
गत मंसिरदेखि  प्रदेश १ का भेँडेटार, फिक्कल, कन्याम, कोशी टप्पुलगायतका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चहलपहल बढेको थियो । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभारा, संखुवासभाको गुफापोखरी, तीनजिले मिल्के लगायतका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चाप विस्तारै बढ्न थालेको थियो । त्यसअघि करिब १० महिना कोरोनाको पहिलो लहरका कारण पर्यटन क्षेत्र लगभग ठप्प रह्यो ।

कोरोनाको दोस्रो लहर बढ्न थालेसँगै विभिन्न जिल्ला तथा सहरमा निषेधाज्ञा लगायतका प्रतिवन्धात्मक निर्देशन जारी भएका कारण फेरि पर्यटन क्षेत्रले अर्को धक्का सहनुपर्ने भन्दै व्यवसायीहरु चिन्तित देखिन थालेका हुन् ।

मेची र कोशी कोरिडोरका पर्यटकीय होटल फेरि पाहुना अभावका कारण बन्द हुन थालेका छन् । ‘अहिले सबै नाका कोरोनाको कारण बन्द छन्,’ होटल एसोसिएशन भेँडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राई भन्छन्, ‘यस्तो अवस्थामा पर्यटक भित्रिने परिस्थिति नै छैन ।’ उनी फेरि लकडाउनकै मार व्यहोर्नु पर्ने अवस्था भएको भन्दै चिन्ता व्यक्त गर्दछन् ।

नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएशन प्रदेश १ का वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले प्रदेश १ का मेची तथा कोशी कोरिडोरमा रहेका धार्मिक एव पर्यटकीय स्थलमा मंसिरयता आन्तरिक पर्यटकको चहलपहल बढेसँगै पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिने अवस्थामा पुगेको भए पनि पर्यटकीय सिजन मानिएको वैशाखमै कोरोनाको संत्रास बढेर जताजतै निषेधाज्ञा लागेको बताए ।

नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएशन प्रदेश १ को तथ्याङ्क अनुसार पछिल्लो पाँच महिनाको अवधिमा पूर्वका पर्यटकीय गन्तव्यहरुमा मात्र १५ हजार बढी पर्यटकले भ्रमण गरेका छन् ।

होटल व्यवसाय क्षेत्रको २५ अर्ब जोखिममा

प्रदेश १ को मुख्य पर्यटकीय गन्तव्यमा विभिन्न खालका होटल खोल्न २५ अर्ब रुपैयाँ लगानी भएको छ । कोरोनाका कारण पर्यटन क्षेत्रमा आएको मन्दीसँगै होटल क्षेत्रमा लगानी भएको सो रकम जोखिममा पर्ने देखिएको छ ।

पर्यटन व्यवसायीसमेत रहेका आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश १ का संयोजक भवीस श्रेष्ठले पर्यटकीय गन्तव्य क्षेत्रमा नयाँ होटल खुल्ने क्रम बढेको बताए ।

प्रदेश १ मा यही आर्थिक वर्षभित्र खुल्ने क्रममा रहेको र नयाँ बन्दै गरेका होटलमा करिब ५÷७ अर्ब बढीको लगानी रहेको  उनले सुनाए । कोरोनाको त्राससँगै निर्माणाधीन अवस्थाका ती होटल बन्द हुने अवस्थामा पुग्ने बताउँछन् ।

श्रेष्ठले कोरोनाको त्रास बढिरहेको समयमा सरकारले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गरी होटल सञ्चालन गर्न दिनुपर्ने बताए ।

कोरोनाको त्रास बढेसँगै प्रदेश १ का प्रमुख पर्यटकीय गन्तव्य भेँडेटार, कन्याम, फिक्कल, सोलुखुम्बुको नाम्चे, सुनसरीको कोशीटप्पु लगायतका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको आगमन ठप्प छ ।

कोरोना भाइरसको त्रासका कारण विभिन्न स्थानमा सञ्चालित होमस्टे र होटलहरु क्रमिकरुपमा सुनसान हुँदै गएको व्यवसायीहरुले जनाएका छन् ।

भेँडेटारमा आन्तरिकसँगै भारतबाट पनि ठूलो संख्यामा पर्यटकहरु आउने गरे पनि कोरोनाको दोस्रो लहर सुरु भए यता त्यो क्रम रोकिएको छ । वैशाख महिनाको सुरुवातसँगै यो क्षेत्र सुनसान बन्दै गएको छ ।

‘भेँडेटारमा दैनिक ५ हजार हाराहारी आन्तरिक र बाह्य पर्यटक आउँथे,’ होटल एसोसिएशन भेँडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राई भन्छन्, ‘करिब आठ महिनासम्म पुरै सुनसान रहेको होटलहरुमा केही महिना सामान्य सुधार त आयो तर फेरि गत वर्षकै अवस्था दोहोरिने संकेत देखिदैछ ।’

भेँडेटारजस्तै हात्ती सफारी र अर्ना हेर्नका लागि कोशी टप्पु पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या पनि पातलिएको छ । होटल व्यवसायी सुभास भुजेलले बिदाको समयमा एक सयको संख्यासम्म पर्यटक आउन थालेकोमा फेरि त्यो संख्या घटे करिब करिब शून्यमा पुगेको बताए ।

चियाको राजधानी भनेर चिनिने इलामको फिक्कल, कन्याम लगायतका पर्यटकीय स्थल धेरैको रोजाइमा पर्छ । तर वैशाख महिनादेखि ती क्षेत्रमा पनि मानिसको चहलपहल पातलिएको छ । सूर्योदयको दृश्य हेर्न श्रीअन्तुमा आउने पर्यटकको संख्यामा पनि कमी आएको स्थानीय होटल व्यावसायी हरि गुरुङले जानकारी दिए ।

‘अघिल्लो सिजनमा पनि कोरोनाले व्यापार व्यवसाय चौपट भयो,’ होटल व्यवसायी गुरुङ भन्छन्, ‘यो पटक पनि सिजनमै कोरोनाको त्रास बढ्यो ।’ कोरोना महामारीको लामो धक्कापछि केही महिना चलायमान भएको पर्यटन क्षेत्र फेरि ठप्प हुन थालेको उनले बताए ।

पशुपतिनगरस्थित नेपाल–भारत सीमा नाका कोरोनाको कहर बढेसँगै बन्द छ । यसले गर्दा भारतीय पर्यटकको आगमन रोकिएको छ । होटल कन्याम हिल कटेजका सञ्चालक राज गिरी भन्छन्, ‘पर्यटक आगमन ठप्प भएकै कारण कन्यामका धेरै होटल बन्द हुने तरखरमा छन् ।’

पाँच सयभन्दा बढीले रोजगारी गुमाउने

मेची–कोशी कोरिडोरमा मात्रै यस वर्ष नयाँ तारे होटलका लागि १५ अर्ब लगानी थपिएको थियो । पाँच वर्षको अन्तरालमा यस क्षेत्रमा २५ अर्ब लगानी भइसकेको छ ।

पूर्वी पहाडी जिल्लामा मात्रै करिव ४० भन्दा बढी पर्यटकीयस्तरका सुविधा सम्पन्न होटल सञ्चालित छन् ।

होटल व्यवसायी महासंघ मेचीका केन्द्रीय सदस्य एवं ताप्लेजुङका होटल व्यवसायी छिरिङ शेर्पाका अनुसार कोशी र मेची कोरिडोरमा खुलेका होटलमा २ सय सुविधासम्पन्न रुम क्षमता छन् । बाह्यसँगै आन्तरिक पर्यटकको भिड बढ्न थालेसँगै लगानीकर्ताहरु होटल व्यवसायमा आकर्षित भएका हुन् । राम्रा र सुविधा सम्पन्न होटलले राम्रो व्यापार गर्दै आए पनि कोरोनाका कारण ती होटल व्यवसाय उठ्नै नसक्ने गरी थलिने अवस्थामा पुग्ने देखिएको उनले बताए ।

उद्योग वाणिज्य महासंघका प्रदेश १ का पूर्वअध्यक्ष टंक दुलालले होटलमा लगानी बढ्दै गएको अवस्थामा कोरोनाको कहरले त्यसलाई अनिश्चिततातर्फ धकेलिदिएको बताए । यस्तै अवस्था रहे लगानीकर्ताहरु यो क्षेत्रबाट पलायन हुने उनको भनाइ छ ।

पूर्र्वी पहाडी जिल्ला ताप्लेजुङ, इलाम र पाँचथरमा करिव २० को संख्यामा पर्यटक लक्षित होटल खुलेका छन् । त्यस्तै कोशी कोरिडोर क्षेत्र अन्तर्गत धनकुटा, तेह्रथुम, संखुवासभा लगायतका जिल्लामा पनि २० को संख्यामा सुविधा सम्पन्न होटल सञ्चालनमा छन् । त्यसबाहेक हिमालीमार्ग सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङ्ग पनि पर्यटकीयस्तरका  सुविधा सम्पन्न होटल छन् ।

प्रदेश १ मा सामान्य अवस्थामा दैनिक रुपमा आउने भारतीय पर्यटनको संख्या ३ हजारको हाराहारीमा रहने गरेको छ । सोही अनुपातमा आन्तरिक पर्यटक पनि आउने गरेका थिए । प्रदेश १ मा होटल व्यवसाय क्षेत्रमा ५ हजार बढीले रोजगारी पाएका थिए । कोरोनाको कहरले जताततै निषेधाज्ञा लगाइएपछि ती होटलहरु बन्द हुने र त्यसमा आश्रित ५ हजारभन्दा बढी बेरोजगार हुने व्यवसायीहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप