आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘कानपुरको मसानघाटमा एकैदिन ४ सय ७६ वटा चिता, सरकारी आँकडाअनुसार ६ को मृत्यु’

आइतबार, १९ वैशाख २०७८, १३ : २८
आइतबार, १९ वैशाख २०७८

एजेन्सी । पछाडि निलो आकाश र तल जलिरहेको चिताबाट उडेको धुवाँ आकाशमा फैलदैं थियो । बिहीबार कानपूरको भैरवघाटस्थित स्मशानबाट खिचिएको यो तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र यसैलाई देखेर मानिसहरुले मानवीय त्रासदीको अन्दाज लगाइरहेका छन् । 

यो तस्विर पिटिआईका फोटोग्राफर अरुण शर्माले खिचेका हुन् । शर्माले यही समय एक भिडियो पनि शेयर गरेका छन्, जो ट्वीटर र इन्स्टाग्राममा भाइरल बनेको छ ।  अरुण शर्मा भन्छन्, ‘जब यो तस्विर मैले खिचें । तब घाटमा ३८ वटा चिता जलिरहेका थिए । केही चितालाई पानी हालेर ठन्डा गरिदैं थियो ।’

यो घाटमा केवल कोरोनाका बिरामीको लाशमात्रै जलाइदैं थियो । यहाँ लगातार जलिरहेका चिताको गर्मीका कारण नजिकै रहेका रुखहरू पनि जलेका थिए ।’ १५ वर्षदेखि फोटो पत्रकारिता गरिरहेका अरुण शर्मा भन्छन्, ‘मैले ठूलाभन्दा ठूला त्रासदीको रिपोर्टिङ गरेको छु । तर यस्तो महसूस कहिल्यैं गरिन । यो दृश्य मन–मस्तिस्कमा बस्नेखाले थियो ।’

१६ अप्रिलमा दिल्लीदेखि कानपुरसम्म पुगेर अरुणले अस्पतालहरुमा, मसानघाटहरुमा फोटो खिचिरहेका थिए । उनी शहरका अलग–अलग स्थानमा गएर कोरोना महामारीको व्यापकताको अन्दाज लगाउने कोसिस गरिरहेका थिए । 
अरुण भन्छन्, ‘म दिनको समय पनि मसानघाट गएको थिएँ । मलाई लागेको थियो कि स्थिति ठिक छैन । त्यतिबेला लाशहरु दिउँसोको समयमात्रै जलाईदै थियो, तर फेरि प्रशासनले रातको समय पनि लाश जलाउने निर्णय लियो । एक स्थानीय पत्रकारले मलाई राती लाश जलाइएको भिडियो पठाएका थिए ।’

उनी थप्छन्, ‘त्यस दिन मैले रातको समय मसानघाट पुग्ने फैसला लिएँ । त्यहाँ १०–१२ लाश बाहिर थियो र ३८ चिताहरू जल्दै थिए । चिताहरूबाट उठेको धुवाँ पछाडिको निलो आकाशमा गइरहेको थियो । यो त्रास सिर्जना गर्ने दृश्य थियो ।’
अरुण भन्छन्, ‘त्यहाँ यति गर्मी थियो कि उभिएर बस्न असम्भव थियो । चिताहरूको गर्मीले शरीरलाई तातो बनाइरहेको थियो, मलाई लागिरहेको थियो कि हामीभित्र पनि केही जलिरहेको छ । शरीरमा क्याल्सियम हुन्छ र क्याल्सियम जल्दा निकै दुर्गन्ध आउँछ अनि सेतो धुवाँ निस्कन्छ ।’

अरुणका अनुसार त्यस समय मसान घाटमा ती व्यक्तिमात्रै थिए, जो शव बोकेर आएका थिए । उनीहरुबाहेक अरु कोही थिएन । यस मसान घाटमा १२ मानिस काम गर्छन्, त्यसमध्ये चार व्यक्ति उक्त समय चितामा जल्दै थिए । 
अरुण शर्मा र अन्य धेरै पत्रकार तमाम खतराका बाबजुद बाहिर निस्किएर घटनास्थलका तस्विर मानिसहरुसामु पुर्‍याइरहेका छन् । के उनीहरुलाई कोभिडका दौरान पत्रकारिता गर्दा डर लागिरहेको छैन ?

यसबारे उनी भन्छन्, ‘म सामु दुुईमात्रै विकल्प छ , या त भाग लिने या यहाँबाट भाग्ने, भाग्नुको साटो भाग लिइरहेको छु । लाशहरुको तस्विर लिनु एक अलग अनुभव थियो । आमरुपमा यस्तो हुँदैन । यति धेरै मानिसहरुको मृत्यु एकैपटक हुँदैन । तस्विर खिच्दाको समय मनमा जे चलिरहेको थियो, त्यसलाई बताउनु सहज छैन ।’

अरुण भन्छन्, ‘आम रुपमा हामी प्रदर्शन र प्रेस कन्फ्रेन्स कभर गर्छौं, यति धेरै लाश एकैपटक देखिदैंन । स्वभाविक रुपमा मन–मस्तिस्कमा यो सबैको असर परिरहेको छ । एकै दिन जब दुई सय ५० मानिसको लाश देखिन्छ, तब त्यसको असर दिमागमा परी नै हाल्छ ।’

कानपुरका यी तस्विरहरू भाइरल भएपछि सरकारी आँकडाबारे पनि प्रश्न उठिरहेको छ ।  स्थानीय पत्रपत्रिकाका अनुसार जुन दिन कानपुरको मसान घाटमा ४ सय ७६ वटा चिता जलेका थिए, त्यस दिन प्रशासनको आधिकारिक आँकडाअनुसार केवल ६ जनाको मृत्यु भएको थियो । 

के वास्तविक आँकडालाई जनताबाट लुकाइदैंछ ? एक वरिष्ठ अधिकारीले आफ्नो नाम नछाप्ने शर्तमा बीबीसीसँग भनेका छन्, ‘वास्तविक तस्विर यति भयावह छ कि मानिसहरु तर्सनेछन् ।’ अरुण शर्मा भन्छन्, ‘वास्तविकता चाहे जति नै विभत्स किन नहोस्, हाम्रो काम त्यसलाई देखाउनु हो । हामीले आफ्ना तस्विरमार्फत यो अवस्थालाई इतिहासमा दर्ज गरिरहेका छौं । यी तस्विरहरूलाई आँकडासँगै राखेर हेर्न सकिन्छ र मानिसहरुले वास्तविकता जान्न पाउनेछन् ।’
उनले भने,‘जबसम्म हामीले परिस्थितिको गम्भिरता र भयावहतालाई स्वीकार गर्दैनौं । तबसम्म यसको सामना गर्न सक्दैनौं । मलाई लाग्छ कि हाम्रा तस्विरहरूले वास्तविकतालाई मानिसहरु सामुन्ने राखेका छन् ।’
यस महामारीमा मानिसहरुले आफ्ना मानिसलाई गुमाइरहेका मात्रै छैनन्, बरु उनीहरुलाई मानवताबाट भरोसा उठिरहेको अनुभव पनि भइरहेको छ । 

अरुण भन्छन्, ‘अस्पतालहरू बाहिर हामीले धेरै त्यस्ता मानिस भेटिरहेका छौं । जसको गुनासो परिवारजनको लाश मात्रै पाइयो, उनीहरुको सामान पाइएन भन्नेछ । केहीका अनुसार नेक्लेस, औँठीलगायत बिरामीले लगाएका गहनाहरू शवमा भेटिएका छैनन् ।’

अरुणले पछिल्लो एक सातादेखि कानपुरमा अस्पतालहरू, ग्यास स्टेशन र अन्त्येष्टी स्थलहरूको चक्कर काटिरहेका छन् । उनी भन्छन्,‘मलाई लाग्छ कि यस महामारीको वास्तविकता अझै पनि बाहिर आइरहेको छैन । अस्पतालबाट मानिसहरु मरिरहेका छन् । उनीहरुलाई अक्सिजन मिलेको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप