सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बैंकहरुको आधारदर घट्यो, ब्याजदर सस्तो पर्ने, कुन बैंकको ब्याज कति सस्तो ?

बुधबार, २२ वैशाख २०७८, ११ : ३५
बुधबार, २२ वैशाख २०७८

सबै बैंकहरुको आधारदर (बेस रेट) घटेको छ । चालु आर्थिक वर्षको (२०७७/०७८)  तेस्रो त्रैमास (साउनदेखि चैत) सम्म आइपुग्दा सबै बाणिज्य बैंकको आधारदर घटेको छ ।  बैंकहरुको आधारदर घट्दा विशेष गरी ऋणीको लागि ब्याजदर सस्तो पर्न जान्छ । बैंकहरुबाट ऋण लिँदा कुन बैंकको आधारदर कति छ भन्नेबाटै ब्याजदरमा कुन बैंक सस्तो छ भन्ने अनुमान गर्न कठिन छैन ।

 अहिले सबैभन्दा कम आधारदर स्ट्यान्डर्ड चार्टड बैंकको छ । यस बैंकको आधारदर ५.३३ प्रतिशत रहेको छ । गत वर्षको यसै अवधिमा बैंकको आधारदर ७.२७ प्रतिशत थियो । गत वर्षको तुलनामा अहिलेको ब्याजदर १.९४ प्रतिशतले कम हो । 

यता सबै भन्दा बढी आधारदर सिभिल बैंकको छ । यसको आधारदर ७.८२ प्रतिशत छ । यो गत वर्षको यसै अवधिको तुलनामा भने ३.१ प्रतिशतले कम हो ।  बैंकहरुमा भने यसको सबैभन्दा बढी आधारदर छ । 

ऋणको ब्याजदर निर्धारण हुने मुख्य आधार भनेको बेस रेट (आधार दर) हो । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋणको न्युनतम ब्याजदर कति हुनुपर्छ भन्ने संकेत आधारदर हो । राष्ट्र बैंकको नियम अनुसार राख्नुपर्ने तरलता, निक्षेपकर्तालाई दिने ब्याज, बैंकका कर्मचारीको तलब भत्ता, बैंक सञ्चालनका लागि लाग्ने घरभाडा लगायतका खर्च धान्ने गरी बैंकहरुले ब्याजदर निर्धारण गर्छन् । सो ब्याज कतिसम्म भयो भने बैंकलाई घाटा हुँदैन भनेर निकालिने हिसाब आधारदरको गणना विधि हो ।

कार्यालय सञ्चालन खर्च कम हुँदा बेस रेट घट्योः अधिकारी
राष्ट्रिय बाणिज्य बैंकका डेपुटी सिइओ कविराज अधिकारीले बचत र मुद्दती निक्षेपको ब्याजदर घटेकाले आधारदर घटेको बताए । अहिले बैंकहरुले २ देखि ४ प्रतिशतसम्म बचतमा ब्याज दिएका छन् भने ७ प्रतिशतको हाराहारीमा मुद्दती निक्षेपको ब्याज दिइरहेको अधिकारीले बताए । 

उनले भने, ‘बेस रेट ब्याजदर घटेपछि घट्ने हो ।  अहिले बचत र मुद्दतीको ब्याजदर घटेको छ भने अर्कोतर्फ कार्यालय सञ्चालन खर्च पनि बैंकहरुको कम भएको छ । बचत र मुद्दतीको ब्याज घटेपछि कस्ट अफ फण्ड कम हुन आउँछ । ’
अहिले सबै बैंकहरुको मुद्दतीको ब्याजदर एउटै खालको छ । बैंकहरुले जोखिमका आधारमा बेसरेट भन्दा कति बढी ब्याजदर तोकेर ऋण दिने हो भन्ने निर्धारण बैंक स्वयमले गर्छन् । यद्यपि निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेडदर) ४.४ प्रतिशत भन्दा बढी भने हुनुहुँदैन । यसकारण पनि चाहेर पनि आधारदर भन्दा धेरै माथि उक्लन सक्ने अवस्था बैंकहरुलाई छैन । यसकारण पनि ऋणको ब्याजदर तुलनात्मक रुपमा गत वर्षको यसै अवधिभन्दा सस्तो पर्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप