सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमण रोकथामका लागि माधव नेपालको १३ बुँदे अपील

आइतबार, २६ वैशाख २०७८, १६ : २४
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले कोरोना भ्याक्सिन खरिदमा कमिसन नमिल्दा ल्याउन अवरोध गर्नु मानवता विरोधी कार्य र अपराध भएको बताएका छन् ।  आइतबार १३ बुँदे अपील जारी गर्दै नेता नेपालले सरकारले त्यस्ता पक्षलाई कानुनी दायरामा ल्याएर तत्काल कारवाही गर्न माग समेत गरेका छन् । 

यस्तो छ नेपालको अपील :

१.कोरोनाको भ्याक्सिन खरिदमा कमिशन नमिलेका कारण मुलुकभित्र ल्याउन अवरोध गर्नु मानवताविरोधी कार्य र अपराध हो । सरकारले त्यस्ता पक्षलाई कानूनी दायरामा ल्याएर तत्काल कारबाही गर्न जोडदार माग गर्दछु । साथै कोरोनाको भ्याक्सिन जस्तो जनताको जीवन रक्षाको कुरालाई निजी नाफा र लुटको व्यापारिक उद्देश्यसहित निजी क्षेत्रलाई दिने कार्य तत्काल बन्द गर्न अनुरोध गर्दछु । कोरोना भ्याक्सिन निशुल्क र सर्वसुलभ हुनुपर्छ, त्यसको प्रबन्ध गर्ने योजना ल्याउन सरकार समक्ष अनुरोध गर्दछु ।

२.देशभरका अस्पतालहरुमा अक्सिजन र शैया अभावका कारण भयावह अवस्था सिर्जना भएको छ । कोरोना संक्रमण र मृत्युदरमा भइरहेको बृद्धिले भयावह अवस्थाको प्रष्ट चित्रण गर्छ । यसबाट जनमानसमा आक्रोश बढिरहेको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु । अत्यावश्यक अक्सिजन र अन्य उपकरणको तत्काल व्यवस्था गर्न जोडदार माग गर्दछु । नयाँ अक्सिजन प्लान्ट स्थापनाका साथै बन्द अवस्थामा रहेका अक्सिजन प्लान्टहरु तुरुन्त चालू गरी अस्पतालहरुलाई आवश्यक मात्रामा अक्सिजन उपलब्ध गराउने दायित्व सरकारको हो ।

३.कुन अस्पतालमा शैया खाली छ, कुनमा छैन भनेर थाह पाउन मुस्किल प्रायः छ । त्यसैले एकीकृत सूचना प्रणालीका लागि वेभसाइट र एप्स लगायतका अन्य सञ्चार प्रबन्ध मिलाउन र सोहीअनुसार सेवा दिन माग गर्दछु । अहिले समाजसेवी लगायत धेरै निकाय तथा संघ–संस्थाहरुले स्वतःस्फूर्तरुपमा विभिन्न सेवा प्रदान गरी एम्बुलेन्स,सवारी साधनको व्यवस्थापन, राहतका कार्यक्रम आदि अगाडि बढाएको देखिन्छ । ती सबै सेवाहरुलाई एकीकृत रुपमा अघि बढाउन आह्वान गर्दछु ।

४.कोरोनाको हाइ स्पटका रुपमा रहेका क्षेत्रहरुमा कडाइ गरिनुपर्दछ । Contract Tracing लाई बढाउँदै लग्नुपर्दछ । PCR, Swab Testing लगायत विज्ञहरुले सुझाएका पक्षहरुलाई तुरुन्तै कार्यान्वयन गरिनुपर्दछ । संक्रामक रोगका विज्ञहरुलाई समेटेर संयन्त्र बनाई महामारी रोक्ने र स्वास्थ्य सेवा मिलाउने कार्य गरिनुपर्छ ।
५.अहिले अस्पतालहरुले धान्न नसक्ने गरी बिरामी बढेका छन् । अस्पताललाई आवश्यक सबैखाले श्रोत साधनहरुको पर्याप्त व्यवस्था गरिनुपर्दछ । ICU, भेन्टिलेटर लगायतका बेडहरु थप्ने कार्य हुनुपर्छ । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय र संघ–संस्थाहरुलाई आह्वान गर्नुपर्दछ । स्वास्थ्यकर्मीलाई एएभ् लगायतका अत्यावश्यक सामग्रीहरु पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्छ ।

६. स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी आदि जो बिरामीहरुको उपचार कार्यमा संलग्न छन्, उनीहरुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउनुपर्दछ । उनीहरुलाई १०० प्रतिशत प्रोत्साहन भत्ता र बीमाको प्रबन्ध गरी आफ्नो कार्यमा लाग्न प्रोत्साहित गरिनुपर्दछ ।

७. कोरोना नियन्त्रणका लागि प्रत्येक स्थानीय सरकारहरूलाई तत्काल आवश्यक बजेट उपलब्ध गराई क्वारेन्टाइन, आइसोलेसन, एम्बुलेन्स र अन्य सवारीसाधन व्यवस्थापन लगायतका पक्ष व्यवस्थित रुपमा गरिनुपर्दछ ।

८. धेरै जसो जिल्लामा निषेधाज्ञा जारी भएको अवस्थामा श्रमिक, अति विपन्न र सीमान्तकृत समुदायलाई दैनिक रुपमा छाक टार्न मुस्किल पर्ने हुँदा उनीहरु लक्षित राहत प्रबन्ध गर्न अनुरोध गर्दछु । केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहमा भए–गरेका सबै खर्च विवरणहरू पारदर्शी बनाउनुपर्दछ ।

९.निषेधाज्ञाका समयमा जेष्ठ नागरिक, बालबालिका तथा अपांगता भएका व्यक्तिहरुलाई ध्यानमा राखी आवश्यक प्रबन्ध मिलाउन अनुरोध गर्दछु । नवजात शिशु, गर्भवती, सुत्केरी तथा स्तनपान गराउने महिला, मृगौला रोगी तथा क्यान्सरका रोगीहरुलाई अत्यावश्यक सेवा प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दछु ।

१०.कालोबजारी अनुगमन र नियन्त्रण गर्न राजनीतिक दल, निजीक्षेत्र, पत्रकार, नागरिक समाज, विभिन्न संघ–संस्थाहरुको एकीकृत संरचना बनाएर प्रभावकारी रुपमा केन्द्रदेखि गाउँसम्म परिचालित हुन अपील गर्दछु ।
११.सामजिक रुपमा हुने विवाह, पूजा, भेला, बैठक वा सांस्कृतिक कार्य केही समयलाई स्थगन गर्न आह्वान गर्दछु । अस्पतालमा बिरामीको संख्या थपिन नदिन समुदायकै महत्वपूर्ण भूमिका छ । स्वास्थ्य सुरक्षाको मापदण्ड समुदायबाट पूरा भयो भने अवश्य नै अस्पतालमा बिरामीको संख्या घट्ने छ ।

१२. कोरोनाका कारण मृत्युवरण गर्नुभएका सम्पूर्ण व्यक्तिहरूप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु । कोरोनाको कारणले बिरामी हुनु भएका सम्पूर्ण जनसमुदायको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यहाँहरुको निम्ति स्वास्थ्य व्यवस्था गर्न तथा स्वास्थ्य उपचारमा विशेष ध्यान पु¥याउन सरकार लगायत सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।

१३. र अन्तमा स्वास्थ्य सुरक्षाका सबैखाले मापदण्ड पालना गर्न सम्पूर्ण जनसमुदायमा अपील गर्दछु । धन्यवाद ।

मिति: २६ बैशाख २०७८

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप