बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

को बन्ला एनआरएनएको नयाँ अध्यक्ष, यस्तो छ समीकरण

आइतबार, २९ असोज २०७४, ११ : ४४
आइतबार, २९ असोज २०७४

काठमाडौँ– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) आठौँ विश्व सम्मेलन काठमाडौँमा सुरु भएको छ ।

चार दिनसम्म चल्ने सम्मेलनले अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहितका पदाधिकारी निर्वाचित गर्ने छ ।

एनआरएनएको अध्यक्षमा वर्तमान उपाध्यक्ष भवन भट्ट र वर्तमान अध्यक्ष शेष घले पत्नी जमुना गुरुङ भिड्दै छन् ।

भट्ट र घले यसअघि एउटै प्यानलमा भए पनि अन्तिममा उनले अध्यक्षमा पत्नीलाई भिडाउने सोच बनाएपछि एनआरएनएको प्यानल दुई खेमामा विभाजन भएको थियो ।

जमुना गुरुङ प्यानल जनजाति केन्द्रित देखिएको छ । एनआरएनए वृत्तमा यसलाई ब्रह्माण प्यानल र जनजाति प्यानलका रूपमा समेत चर्चा गर्न थालिएको छ । जापानमा व्यवसाय गरिरहेका भट्ट र अस्टे«लियामा व्यवसाय गरिरहेकी गुरुङबीचको यो प्रतिस्पर्धा यसअघिका निर्वाचनभन्दा रोचक हुने देखिन्छ । किनभने भट्टलाई एनआरएनएका प्रभावशाली नेताहरूको साथ छ भने उता गुरुङमा जनजाति र आफ्ना श्रीमान शेष घलेको प्रभाव छ । गुरुङ प्यानल पनि जनजाति समेटेर बनाएकी छन् । उनको प्यानलको पदाधिकारीमा  उपाध्यक्ष– सोनाम लामा, रविना थापा,  महासचिव– त्रिलोक गुरुङ, कोषाध्यक्ष– मुछेत्र गुरुङ, सचिव– जानकी गुरुङको दाबी छ ।

युरोप क्षेत्रीय संयोजक प्रेम गुरुङ, अमेरिका एसी शेर्पा रहेका छन् ।

यता भवन भट्टको प्यानल उनको भन्दा ठीक विपरीत छ । जसमा उपाध्यक्ष्मा कुल आचार्य, कुमार पन्त, महासचिवमा बद्री केसी, कोषाध्यक्षमा हिकमत थापा प्रत्यासी छन् ।

जमुना गुरुङले श्रीमान् शेष घलेले आफ्नो कार्यकालमा सुरु गरेका योजनालाई अघि बढाउने उल्लेख गरेकी छन् । उनले भिजन २०२० एन्ड वियोन्डको प्रस्तावलाई अघि बढाउने, एनआरएनले सुरु गरेका परियोजनाहरूलाई समयमै सम्पन्न गर्न आफ्नो उम्मेदवारी भएको बताउँदै आएकी छन् ।

यता भवन भट्टले नयाँ लगानीका लागि स्टार्टअप फन्डको व्यवस्था, वैदेशिक रोजगारमा रहेका नेपालीको बिमाका लागि आपतकालीन कोष परिचालन, प्रत्येक देशमा भएका एनआरएनए शाखाले निर्माण परियोजना बनाउने योजना अघि सारेका छन् भने वर्तमान अध्यक्ष शेष घले सुरु गरेका योजनालाई नरन्तरता दिने बताएका छन् । भट्टले आफू अध्यक्ष भएमा एनआरएनएले युवा लक्षित कार्यक्रम ल्याउने दाबी गरेका छन् ।

यसरी बन्यो नयाँ समीकरण

एनआरएनएमा उम्मेदवारको चर्चा सुरु हुँदा घले पत्नी जमुनाको उम्मेदवारीको कुनै चर्चा थिएन । भवन भट्ट र कुमार पन्त अध्यक्षमा भिड्ने भन्दै उनीहरूले आफ्नो तयारी गरिरहेका थिए । गोरखा मूल थलो भएका भट्ट र पन्तको प्रतिष्पर्धा हुने चर्चाकैबीचमा शेष घले पत्नी जमुना पनि आकाङ्क्षी देखिइन् । पन्त यस वर्तमान समितिमा महासचवि थिए भने गुरुङ आईसीसीको मनोनित सदस्य हुन् । एकाएक सर्वोच्च पदमा उनको उम्मेदवारीको दिने चर्चाले पहिले एनआरएनए वृत्त आश्चार्यमा परेको थियो ।

श्रीमान शेष घलेकै इन्ट्रेस्टमा उनको उम्मेदवारी आएपछि त्यो रोक्न नसकिने भन्दै एनआरएनएमा नयाँ समीकरण देखियो । नयाँ समीकरणमा अध्यक्षका आकांक्षी कुमार पन्त पछि हटेर भवन भट्टलाई अध्यक्षमा ठाउँ खाली गरिदिए । भट्ट अध्यक्ष र पन्त उपाध्यक्ष रहेको र उता गुरुङको प्यानल बन्यो । पन्तले जर्मनीमा होटललगायतका व्यवसाय गर्दै आएका छन् ।  

शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले हायत होटलमा सम्मेलनको उद्घाटन गरेकी थिइन् । आज सम्मेलनमा विभिन्न सेसनहरू आयोजना गरिएको छ । नयाँ नेतृत्वका लागि भोलि निर्वाचन हुने छ । भोलि बिहान ११ बजेसम्म मतदाता रजिस्ट्रेसन र १ बजेदेखि ६ बजेसम्म मतदान हुने कार्यक्रम छ । एनआरएनएका करिब १७ सय डेलिगेट्स काठमाडौँमा आएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप