सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओलीलाई प्रचण्डको प्रश्न : तपाईंलाई विश्वासको मत लिनु थियो भने हिजो संवैधानिक परिषदको बैठक किन बस्नुभयो ?

सोमबार, २७ वैशाख २०७८, १५ : ००
सोमबार, २७ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सवाल जवाफ चलेको छ ।  सोमबार बसेको प्रतिनिधिसभाको  बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सवाल जवाफ चलेको हो । 

प्रधानमन्त्री ओलीले विश्वासको मत मागेपछि विपक्षी दलको तर्फबाट बोल्दै अध्यक्ष प्रचण्डले लोकतन्त्र, संविधान र विकासका चर्का कुरा गरेर विश्वासको मत मागेपनि व्यवहारमा ठिक विपरित रहेकाले विश्वासको मत दिन नसकिने निर्णय गर्नुपरेको तर्क गरे । 

उनले विश्वासको मत आउँदैन भन्ने थाहा पाएर नै त्यसभन्दा अघि  संवैधानिक परिषदको बैठक राखेर आयोगहरुमा कब्जा जमाउन खोजेको आरोप पनि लगाए ।  उनले संविधानको हुर्मत लिने काम नगर्न सुझाव दिँदै यही सदनबाट वैकल्पिक सरकार बनाउन सकिने पनि बताए । 

‘तपाईले विश्वासको मत लिने कुरा स्वभाविक र तर्कसंगत लाग्दैन । नाटकीय नाटकीय लाग्छ । अधिवेशन बोलाउनु भो यो पनि लोकतान्त्रिक होइन भन्ने मलाइ लाग्छ’ प्रचण्डले भने, ‘नियमित अधिवेशन बोलाएर विश्वासको मत लिन सकिन्थ्यो । तर तपाइँले लोकतान्त्रिक पद्दति छलेर अर्कै केही गर्न खोज्नुभएको छ कि भन्ने मान्छेलाई परेको छ, मलाइ पनि परेको छ ।’ 

उनले प्रधानमन्त्रीले विशेष अधिवेशन बोलाउने परिकल्पना संविधानले नगरेको पनि बताए । ‘तपाईंले संविधानको धारा १०० को एक अनुसार भन्नुभएको छ । के यो लोकतान्त्रिक छ ? गहिरो ढंगले सोच्न आग्रह गर्छु, संसद विघटन जस्तै गर्न खोज्नुभएको त होइन ? भन्ने प्रश्न उठेको छ’, प्रचण्डले आशंका व्यक्त गरे ।

प्रचण्डले आफु लचिलो, उदार र भावुक भन्दै आफ्नै प्रस्तावमा दुई दुई पटक प्रधानमन्त्री भएको ओलीलाई स्मरण गर्न आग्रह गरे ।  ‘तपाइ कुरा गर्न सिपालु, मनमा एउटा मुखमा अर्को गर्न सक्ने क्षमताको मान्छे हुनुहुँदो रहेछ । के हिजोका आलोपालो सहमति मैले तोडे ? तपाईं दम्भ, अहंकार मनोग्रन्थिको विकास भयो’, प्रचण्डको भनाइ थियो । 

उनले प्रधानमन्त्री ओलीले भएका नभएका सवै काम आफुले गरेको भन्दै आफ्नै तारिफ गर्ने गरेकोमा असन्तुष्टि जनाए ।  प्रचण्डले कोभिड सुरु भएपछि ठुलठुला सभा र रथयात्रा गर्ने पनि प्रधानमन्त्री ओली नै भएको आरोप लगाए । 
प्रचण्डले भने, ‘दोस्रो लहर सुरु हुन लागिसकेको थियो । संकेतहरु देखिइसकेको थियो । ठूल्ठूला समारोह, रथयात्रा त्यहीँबाट ह्वात्तै कोरोना फैलिएको होइन ?’ 

प्रचण्डले प्रधानमन्त्री ओली आफै अनुशासनमा नबस्दा कोभिड फैलिएको प्रचण्डको भनाइ छ ।  ‘तपाईं प्रधानमन्त्रीजस्तो मानिसले अनुशासनका नबसेपछि कोभिड कन्ट्रोलका निम्ति आत्मानुशासन पालना नगरिदिएपछि अरूलाई भन्ने नैतिक अधिकार कसरी हुन्छ ? रथयात्रा अलि पछि गरे हुँदैनथ्यो र ? मैले त तपाईंलाई भनेकै थिएँ नि, मेरो निर्वाचन क्षेत्रमा अयोध्यापुरी बनाउने भनेर अगाडि बढ्नु भएको थियो, म पनि गएर हेरेँ’, प्रचण्डले भने, ‘मेरो निर्वाचन क्षेत्रमा ठूलो धार्मिक, पर्यटकीय क्षेत्र बन्न लाग्यो । तपार्ईँलाई कोरोनाको यो दोस्रो लहर सुरु हुन लागेको बेला हजारौँको भीड जम्मा गर्नेगरी त्यतिबेलै गर्नुपरेको थियो त ? अलि पछि गरे पनि हुन्थ्यो ?’

प्रचण्डले शिलान्यास र उद्‍घाटनप्रति पनि असन्तुष्टि पोखे ।  ‘तपाईंले थुप्रै शिलान्यास गर्नुभयो । कयौंको न बजेट छ, न ठाउँको ठेगान छ । न कुनै योजना छ, तर तपार्ईँले शिलान्यास गरिदिनुभयो बालुवाटार बसेर ?’ प्रधानमन्त्रीले धेरै शिलान्यास र उद्घाटन गरेपनि ती कामहरु अघि बढ्ने अवस्थामा नरहेको भन्दै स्मार्ट सिटीका सवालमा समेत पूर्वाग्रह साँधेको गुनासो गरे । 

प्रचण्डले सरकारका गतिविधिले संविधानलाई नै कोरोना लागेजस्तो भएको भन्दै उनले यस्तो अवस्था आउनुमा प्रमुख जिम्मेवार को ? भन्दै प्रश्न गरे । ‘देशको राष्ट्रिय स्वाधिनता, संविधान, कम्युनिस्ट आन्दोलनमा मुख्य संकट कसका लागि आयो प्रधानमन्त्री जी भन्दै प्रश्न गरे । उनले आफुलाई प्रधानमन्त्रीले राष्ट्रिय समस्या भनेको सुनेको भन्दै आफु कि तपाई राष्ट्रिय समस्या हो ? ओलीलाई प्रचण्डको प्रश्न थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप