ओलीले विश्वासको मत लिँदा ३४ सांसद अनुपस्थित
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार विश्वासको मत लिँदा ३४ सांसद अनुपस्थित रहेका छन् । अनुपस्थितिमा अधिकांश एमालेकै माधव नेपाल समूहका सांसद रहेका छन् । ओली संसदमा भएको परीक्षणमा विश्वासको मत लिन असफल भएका छन् ।
आजको मतदानमा प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४ मत प्राप्त भयो भने तटस्थ १५ जना रहे । मतदानमा जम्मा २३२ सांसद उपस्थित रहे ।
प्रतिनिधिसभा सदस्यको कुल संख्या २७५ हो । यसमा माओवादीका ४ जना पदमुक्त भएका र थप ४ जना निलम्बित सांसदलाई घटाउँदा २६७ हुन जान्छ । यसमध्ये सभामुखले मत नदिने भएकाले मतदान गर्ने कुल संख्या २६६ हो ।
तर, २६६ मध्ये सोमबार संसदमा २३२ जना मात्र मतदानमा सहभागी भए । २६६ मतदातामध्ये २३२ मत मात्रै खस्नु भनेको मतदान प्रक्रियामा ३४ सांसदहरु सहभागी नबन्नु हो ।
मतदानमा अनुपस्थित हुनेमध्ये एमालेका २८ सांसद छन् भने बाँकी ६ जना सांसद अनुपस्थित देखिएका छन् । यसमध्ये राप्रपा सांसद राजेन्द्र लिङ्देन कोरोना लागेर झापामा थिए । जसपाका लक्ष्मणलाल कर्ण लगायतका सांसद पनि अनुपस्थित थिए ।