सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अन्ततः ओलीसँग हारे देउवा र प्रचण्ड

बिहीबार, ३० वैशाख २०७८, २२ : ४१
बिहीबार, ३० वैशाख २०७८

काठमाडौं । विपक्षी दलहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन असफल भएको छन् । प्रधानमन्त्री ओलीद्वारा पुस ५ मा विघटित प्रतिनिधिसभा ११ फागुनमा पुनस्र्थापित भएयता वैकल्पिक सरकार निर्माणको प्रयास भएपनि अन्ततः आज असफल भएको छ ।

आफैले संसदको विषेश अधिवेशन बोलाए सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा ओली विफल भएपनि नेपाली काँग्रेस–माओवादी केन्द्र गठबन्धन विकल्प दिन असफल भएको छ । ओलीले विश्वासको मत गुमाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दललाई बहुमतको सरकार बनाउन आज राति ९ बजेसम्म समय दिएकी थिइन् ।

बहुमतको सरकार गठनका लागि काँग्रेस–माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षबीच भएको भगीरथ प्रयास असफल सिद्ध भयो ।

ओलीको विकल्प दिने निर्विकल्प एजेण्डा बनाएका नेताहरुको अलमल र अन्योलताले विपक्षी रणनीति असफल भएको देखिन्छ । त्यसमा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले मात्र काम गरेको छैन । सरकारको नेतृत्व लिन कसिएको काँग्रेसमै पनि केही समस्या देखिन्छ ।

खटन–पटनमा समस्या

पछिल्ला दिनमा देउवा आफैले राजनीतिक भेटघाटमा तीव्रता दिएका थिए । साथै आफूनिकट महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, केन्द्रीय सदस्य रमेश लेखकलाई छलफलका लागि खटाएका थिए ।

योबीचमा देउवाले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवसँग निरन्तर संवाद गरेका थिए । एमाले नेता भीम रावल, माओवादी नेता वर्षमान पुनसँग उनीहरुले निरन्तर छलफल गरिरहेका थिए । जसपाको उपेन्द्र र महन्थ पक्षसँगको छलफललाई काँग्रेस नेताहरुले जोड दिएका थिए । तर वैकल्पिक सरकार गठनका लागि मैदानमा उत्रिएका नेताहरुको राष्ट्रिय तथा अन्तरराष्ट्रिय नेक्सस थिएन ।

साथै देउवाले पार्टीको विपक्षी नेताहरुलाई साथमा लिएको पनि देखिएन । देउवाले छलफलका लागि खटाएका सबै नेता उनी निकट नै थिए । त्यसमा पनि काँग्रेसभित्र सत्ता राजनीतिका भेट्रान खेलाडी मानिने उपसभापति विमलेन्द्र निधि मौन जस्तै देखिए ।

७३ मा तत्कालीन एमाले–माओवादी गठबन्धन तोडेर ओलीलाई प्रधानमन्त्रीबाट बहिर्गमन गराउने सन्दर्भमा निधि गेम चेञ्जरकै रुपमा देखिएका थिए ।

तत्कालीन एमाले–माओवादी गठबन्धन तोडेर माओवादी–काँग्रेस सहकार्यको सम्भव तुल्याएका थिए । उनी आफू पनि उपप्रधान तथा गृहमन्त्री समेत भनेका थिए । यो पटक उनी त्यो ढंगले सक्रिय भएको पाइएन ।

देउवाले उपसभापति निधि, नेता कृष्ण सिटौला, शेखर कोइराला, मिनेन्द्र रिजाल लगायतलाई अगाडि नसारेर कमजोरी गरेको काँग्रेस नेताहरुको भनाइ छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय पक्ष राम्रोसँग बुझेका र विश्वास गरेका नेताहरुको टोली बनाउन देउवा चुक्दा यस्तो अवस्था आएको बुझ्न गाह्रो छैन ।

माधव नेपाल पक्षमाथि बढी विश्वास

विहीबार मध्यान्हसम्म बहुमतको सरकारका लागि दाबी पेस गर्ने काँग्रेसको तयारी थियो । ओलीलाई विश्वासको मत नदिने निर्णयका साथ सोमबार प्रतिनिधिसभामा उपस्थित नभएको एमालेको खनाल– नेपाल पक्षले बहुमत जुटाउन सहजता प्रदान गरिदिने देउवाको विश्वास थियो । यही विश्वास माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा पनि थियो ।

तर आफू पक्षीय नेताहरुको दबाबका कारण सोमबार सांसद पदबाट राजीनामा दिने निर्णयबाट पछि हटेका खनाल–नेपाल पक्षमाथि देउवा र प्रचण्डले बढी विश्वास गरे । नेपालले दिएको आश्वासनबाट उनीहरुमा बढेको विश्वासमा प्रधानमन्त्री ओलीले पार्टीको स्थायी समिति बैठक बोलाएर चिसोपानी खन्याइदिए ।

बैठकबाट ६ महिनाका लागि पार्टी सदस्यसमेत नरहने गरी कारबाहीमा परेका माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको कारबाही फुकुवाको भयो । त्यसपछि आज चार बजे राजीनामा दिन अल्टिमेटम दिएका नेपालसँग ओलीले ६ बजेसम्म छलफल गरी दिए । पार्टीभित्रको विवाद समाधानका लागि दुई नेता सहमत पनि भए । अनि नेपालको भरमा प्रधानमन्त्री बन्ने देउवाको सपना तत्काललाई सकियो । देउवा र प्रचण्डले नेपाल पक्षको (ओली र आफूहरु) दोहोर संवादलाई गम्भीर रुपमा लिएको देखिएन । ओलीले स्टेप डाउन गर्ने वित्तिकै नेपाल पक्षसँगको सहकार्य सम्भव छैन भन्ने ख्याल गरेको पाइएन ।

किनभने काँग्रेस र माओवादीले बागमती प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेपाल निकट खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाइएको छ । काँग्रेस र माओवादीले उम्मेदवारी समेत दिएका छैन ।

माओवादी केन्द्रका राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्रीमा नेपाल पक्षले देउवालाई सहयोग गर्ने सर्तमा देवकोटालाई अगाडि सारिएको बताएका थिए ।

महन्थलाई फकाउन असफल

प्रधानमन्त्री ओली विरुद्ध गत फागुन ११ गते यता अविश्वासको प्रस्ताव ल्याउन विपक्षी दलबीच विमर्श भयो । देउवाले सुरुमा तत्कालीन नेकपाको आधिकारिकता खोजे ।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युत्याइदिएपछि मात्र बल्ल देउवा सरकार बनाउने सरकारमा लागेका थिए । तर सरकार बनाउन देउवालाई माओवादी केन्द्र र जसपाको साथ अनिवार्य थियो । माओवादी केन्द्र देउवा नेतृत्वमा सरकार बनाउन तयार भए पनि जसपाको ठाकुर र महतो पक्षले ओलीसँग निकटता बढ्यो । उपेन्द्र र बाबुराम पक्ष वैकल्पिक सरकारको पक्षमा देखिए पनि ठाकुर र महतोले ओलीको निरन्तरताप्रति रुची देखाए ।

काँग्रेसका सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले ठाकुरसँग छलफल गरेपनि उनको ओली मोह भंग गराउन सकेनन् । लामो समय काँग्रेसमा राजनीति गरेका ठाकुरले अन्तिम अवस्थामा काँग्रेस नेतृत्वको सरकार बनाउन साथ दिने काँग्रेस नेताहरुको बुझाइ थियो ।

काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि बुझाइ रातोपाटीकर्मीसँगको अनौपचारिक कुराकानीका क्रममा राखेका थिए । ठाकुरसँग काँग्रेस नेताहरुले गम्भीर वार्ताको आवश्यकता पनि ठानेको देखिएको थिएन ।

त्यसका पछाडि एमालेको नेपाल पक्षलाई साथमा लिँदा ठाकुरको उपादेयता छैन भन्ने सोच देउवा र प्रचण्डमा थियो । त्यही अनुसार उपेन्द्र यादवसँग उनीहरुले वार्ता अगाडि बढाएका थिए । सोमबार बहुमतको सरकार गठनका लागि राष्ट्रपतिलाई आह्वान गर्न आग्रह गर्दा पनि यादवलाई मात्र साथमा लगियो । देउवा र प्रचण्डले जसपामा महन्थ र राजेन्द्र केही होइनन् भन्ने सोचमा साथ संयुक्त विज्ञप्ति जारी गरिएको राजेन्द्र महतोले गुनासो थियो ।

सरकारको दाबी पेस गर्ने नजिकिएसँगै ठाकुर र महतोले आफू निकट सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेर उपेन्द्र यादवलाई बहुमतको निर्णय लिन चुनौती दिए । माधव नेपाल पक्षको राजीनामा नआएपछि परिस्थिति उपेन्द्रको बसभन्दा बाहिर पुग्यो ।

अनि देउवा र प्रचण्ड औचित्यहीन दाबी पेस गर्ने निष्कर्षमा पुगे । अब फेरि ओली नै संसदको सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप