सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकार ! कहाँ छ खाली बेड ?

स्वास्थ्य मन्त्रालयकै सूचना भ्रामक, हात उठाउँदैछन् अस्पताल (भिडियोसहित)
बुधबार, ०५ जेठ २०७८, १७ : ३०
बुधबार, ०५ जेठ २०७८

ललितपुरकी मीरा कुँवरले श्रीमान भक्तबहादुर कुँवरलाई कोरोना संक्रमणले च्यापेपछि ललितपुर महानगरपालिकाको एम्बुलेन्स बोलाइन् । ललितपुरकै किष्ट अस्पतालमा एकजना चिनेका डाक्टर भएकाले बेड मिल्ने आशमा उनले श्रीमानलाई अस्पतालको गेटसम्म पुर्याइन् ।

अस्पतालले अक्सिजन र बेड नभएको भन्दै एम्बुलेन्सलाई अस्पतालको गेटभित्रै छिर्न दिएन । मीराले चिनेका ती डाक्टरलाई गेट बाहिरबाट निरन्तर फोन गरिन् । फोन उठ्दै उठेन । अन्य अस्पतालमा पनि बिरामीलाई भर्ना लिन गाह्रो रहेको थाहा पाएकी मीराले भारी मन लिएर बिरामीलाई घरतिरै फर्काइन् ।  

यता सरकारले भने कोरोना संक्रमित गम्भीर बिरामीका लागि उपचार गर्न अस्पतालहरुमा पर्याप्त मात्रामा बेड रहेको दाबी गर्दै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन काठमाडौं उपत्यकामा रहेका कोरोना उपचार गर्ने अस्पतालहरूको बेड संख्या सार्वजनिक गर्ने गरेको छ ।  ती अस्पतालमा रहेको आइसोलेशन बेड, आईसीयू बेड तथा भेन्टिलेटरको क्षमता तथा भर्ना भएका बिरामीको तथ्याङ्क  मन्त्रालयले दिने गर्छ । तर, धेरै अस्पतालमा संक्रमितका लागि बेड खाली रहेको भन्दै सरकारले दिने सूचना नै भ्रामक हुने गरेको पाइएको छ ।

सरकारले सार्वजनिक गरेका अस्पताल र त्यहाँ कोभिड उपचारका लागि सम्पर्क गर्न सार्वजनिक गरिएका डाक्टरका नम्बरमा बुधबार दिउँसो हामीले फोन गर्यौं । एकजना कोरोना संक्रमितको उपचारका लागि एउटा बेड मिलाइदिन सकिन्छ कि भनेर हामीले सोध्यौं ।

तर, सरकारले टन्न बेड खाली देखाएका अस्पतालहरुमा फोन गर्दा उनीहरुले एउटा पनि बेड नभएको र अक्सिजन पनि नभएकाले बिरामी नल्याउन भने । अन्य अस्पतालमा बेड खाली हुन सक्ने भन्दै त्यता सम्पर्क गर्न आग्रह गरे ।

तर, सरकारले त तपाईको अस्पतालमा बेड खाली छ भनेको छ नि भन्ने प्रश्नमा केही अस्पतालले भएको बेड संख्याभन्दा सरकारले बढाएर अर्कै तथ्याङ्क दिएको बताए । भर्ना भएका बिरामीका लागि समेत अक्सिजन नभएकाले बेड खाली भए पनि थप बिरामी भर्ना गर्ने अवस्था नरहेको ती अस्पतालको भनाइ छ ।

सरकारले मंगलबार साँझ सार्वजनिक गरेको अस्पतालहरूको विवरण अनुसार भक्तपुर अस्पतालमा ८३ वटा आइसोलेशन बेडमध्ये ३९ वटा मात्रै भरिएका छन् । त्यहाँ ४४ बेड खाली देखाइएको छ र ८ वटा आईसीयू रहेकोमा सबै भरिएको छ भने ८ वटा भेन्टिलेटर मध्ये २ भरिएको छ । ६ वटा खाली देखिन्छन् ।

सरकारले सार्वजनिक गरेको फोन नम्बरमा हामीले डा. सुमित्रा गौतमलाई फोन गरेर सोध्दा अक्सिजनसहितको बेड खाली नभएको बताइन् । उनले भर्ना भएका बिरामीका लागिसमेत अक्सिजन नभएकाले अस्पतालमा बिरामी ल्याएर के गर्नुहुन्छ भन्दै प्रश्न गरिन् । बरु उनले बानेश्वरमा रहेको सिभिल अस्पतालमा सम्पर्क गर्न आग्रह गरिन् ।

भक्तपुर अस्पतालको अवस्था बुझेपछि हामीले नयाँ बानेश्वरमा रहेको निजामति कर्मचारी अस्पतालको अवस्था बुझ्न खोज्यौँ । सरकारले मंगलबार साँझ दिएको विवरणअनुसार निजामति अस्पतालमा ७० बेड आइसोलेसनमध्ये ५८ बेड भरिएका छन् भने १२ बेड खाली छन् । २४ वटा आईसीयू मध्ये १३ बेड भरिएका छ भने ७ बेड खाली छन् । ३ वटा भेन्टिलेटर पनि खाली देखाइएको छ ।

हामीले सो अस्पतालका कोभिड सम्पर्क ब्यक्ति तोकिएका डा. सुमन बाबु मरहठ्ठालाई सम्पर्क गर्याैँ । उनले अस्पतालमा १४ वटा आईसीयू बेड रहेकोमा मन्त्रालयले २४ वटा भनेर  गलत विवरण दिएको बताए । आइसोलेसन बेड १२ वटा खाली देखाए पनि सबै  भरिएको उनले बताए । ३ वटा भेन्टिलेटर खाली भनेर मन्त्रालयले देखाए पनि त्यो गल्ती भएको डा.मरहठ्ठाले बताए । भक्तपुर अस्पतालले जस्तै उनले पनि अर्को अस्पताल बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा बिरामी लैजान सुझाए ।

यता राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा १८९ आइसोलेसन बेड रहेकोमा ११९ मात्रै भरिएको र ७० वटा बेड खाली रहेको सरकारको तथ्याङ्कले बताउँछ । हामीले सो अस्पतालका कोभिड सम्पर्क ब्यक्ति डा. जितेन्द्र श्रेष्ठलाई सोध्दा उनले एउटा मात्रै बेड खाली भएकोमा अहिले भर्खर बिरामी आएर भरिएको बताए । उनले ७५ वटा बेड खाली भए पनि अक्सिजन दिनका लागि बेड नभएको बताए । बिरामीले आफैं अक्सिजन ल्याउँदा भर्ना गर्न मिल्छ ? भन्ने प्रश्न गर्दा उनले फोन काटे ।

सिभिल अस्पतालका डाक्टर देखाएको सशस्त्र प्रहरी बल अस्पतालका कोभिड सम्पर्क ब्यक्ति डा. प्रविन नेपाललाई पटक–पटक सम्पर्क गर्दा उनको फोन उठेन । सो अस्पतालमा सरकारले दिएको विवरण अनुसार १७० आइसोलेशन बेड रहेकोमा ३ वटा खाली देखाइएको छ भने आइसीयू २० वटा र भेन्टिलेटर ९ रहेकोमा सबै भरिएको छ ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार वीरेन्द्र अस्पताल छाउनीमा २१५ आइसोलेसन बेड रहेकोमा २०३ वटा भरिएका छन् भने ११ वटा खाली देखाइएको छ । २२ वटा आइसियू मध्ये २० वटा भरिएका छन् भने २ वटा खाली छन् । ८ भेन्टिलेटर मध्ये २ वटा भरिएको छ भने ६ वटा खाली देखिन्छ । तर, डाक्टरले सबै बेड भरिएकाले थप बिरामी लिन नसकिने बताउँछन् ।

मन्त्रालयका अनुसार वीर अस्पतालमा १७६ आइसोलेशन बेडमध्ये १५८ बेड भरिएको छन् भने १८ वटा खाली छन् । २० आईसीयू मध्ये १४ भरिएका छ भने ६ वटा खाली छन्  । यस्तै १० वटा भेन्टिलेटर मध्ये ६ वटा भरिएका छ भने ४  वटा खाली छन् । यसबारे बुझ्न खोज्दा वीर अस्पतालमा तोकिएका कोभिड सम्पर्क व्यक्तिले पनि फोन गर्दा पनि उठाएनन् । 

यता नेपाल प्रहरी अस्पताल काठमाडौंमा १६० आइसोलेशन बेड, ३० आइसियू, २० भेन्टिलेटर सबै भरिएको सरकारी विवरणमै उल्लेख गरिएको छ । सो अस्पतालमा पनि बिरामी भर्ना लिने अवस्था छैन ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरकारले १ सय आईसोलेशन बेडमध्ये ९९ सयवटा भरिएका र एउटा बेड खाली रहेको देखाइएको छ । जहाँ २३ वटा आइसियू र १५ वटा भेन्टिलेटर दुबै भरिएका छन् । यो अस्पतालको पेटीमा र खुला ठाउँसमेत बिरामीले भरिएका छन् ।

यस्तै त्रि.वि शिक्षण अस्पताल महाराजगञ्जमा ३३० आइसोलेशन बेड मध्ये ३१४ बेड भरिएका छन् भने १६ बेड खाली देखाइएको छ । ३५ वटा आइसियू र १५ वटा भेन्टिलेटर पूरै भरिएका छन् । नयाँ बिरामी भर्ना लिन सक्ने अवस्था छैन । 

यता पाटन अस्पतालमा १६१ आइसोलेशन बेडमध्ये ९७ बेड भरिएको र ६४ बेड खाली रहेको सरकारले तथ्याङ्क दिएको छ । २६ वटा आईसीयूमध्ये २० वटा भरिएका र ६ वटा खाली देखाइएको छ । यस्तै १७ वटा भेन्टिलेटर मध्ये ४ बेड खाली रहेको सरकारी तथ्याङ्क छ । तर, हामीले अस्पतालका निर्देशक डा. रवि शाक्यसँग कुरा गर्दा उनले आइसियू, भेन्टिलेटर खाली नभएको बताए । बेडहरु सरकारले भनेको भन्दा पनि बढी रहेको तर अक्सिजन नभएकाले खाली बेडको कुनै औचित्य नभएको शाक्यले बताए । उनले बिरामीको अवस्था जटिल भए बेडको अवस्था हेरेर इमर्जेन्सीमा उपचार गर्न सकिने बताए ।

निजी अस्पतालको पनि उस्तै हालत

काठमाडौंका निजी अस्पतालहरूको अवस्था पनि उस्तै छ । धेरैजसो अस्पतालमा बेड खाली छैनन् । बेड खाली भएका केही अस्पतालहरुले पनि अक्सिजन  नभएको भन्दै एम्बुलेन्समा अस्पतालसम्म आइपुगेका बिरामीलाई गेटबाटै फर्काइदिने गरेका छन् ।

ललितपुरको किष्ट मेडिकल कलेज अस्पतालमा दैनिक १५/२० जना बिरामी गेटसम्म आएर फर्किने गरेको एक कर्मचारीले बताए ।

केही निजी अस्पतालमा मुस्किलले बेड पाए पनि अत्यन्तै चर्को शुल्कका कारण आम सर्वसाधारणले संक्रमित बिरामीलाई लामो समय राखेर उपचार गर्न नसकिने अवस्था छ  ।

हेर्नुहोस भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप