सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सांसदको प्रतिक्रिया : कोही दुर्योधन र सकुनी, कोही विभिषण !

शुक्रबार, ०७ जेठ २०७८, २१ : ००
शुक्रबार, ०७ जेठ २०७८

संसदको बजेट अधिवेशनसमेत नबोलाई बालुवाटार र शीतलनिवासमा सत्ताको खेल चलिरहँदा संघीय सांसदहरु भने बेरोजगारजस्तै बनेका छन् । यही क्रममा हामीले केही सांसदहरुलाई अहिले भइरहेको सत्ताको जोडघटाउ र प्रधानमन्त्री ओलीको कदमबारे जिज्ञासा राख्यौं ।

कतिपय सांसदले राष्ट्रपति र प्रधानमन्त्रीलाई दुर्योधन र सकुनीको उपमा दिए । उता, माधवकुमार नेपाललाई भने केही सांसदले विभिषणको भूमिका खेलेर भए पनि ‘रावण’ लाई परास्त गर्न सुझाव दिए ।     

राष्ट्रपति बिद्यादेवी भण्डारीले बैकल्पिक सरकारको दावी पेस गर्न समय दिएपछि विपक्षी दलहरु आक्रोशित बने । संविधानको धारा ७६ को ३ अनुसार बहुमतप्राप्त दलका तर्फबाट अल्पमतको सरकारको प्रधानमन्त्री बनेका ओलीले विश्वासको मत लिनुपर्ने अवस्थामा पदबाट राजीनामा समेत नगरी अर्को सरकार गठनको प्रक्रिया सुरु गर्नु भन्नु गैरसंवैधानिक कार्य भएको भन्दै कांग्रेस, माओवादी केन्द्र लगायतका दलले बिरोध जनाए ।

फेरि प्रधानमन्त्री ओलीले संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गर्न लागेका त हैनन् भन्ने आशंकासमेत विपक्षीमा देखिँदै आएको छ ।

आखिर राष्ट्रपति र प्रधानमन्त्रीको अहिलेको कदमलाई प्रतिनिधि सभाका सांसदहरुले कसरी लिएका छन् त ? यसबारे विपक्षी खेमाका केही सांसदका प्रतिक्रिया यस्ता छन् ः

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने थियो

गजेन्द्रबहादुर महत

राष्ट्रपतिको कदमबारे सबैतिर स्पष्ट नै छ । प्रधानमन्त्रीलाई सजिलो पार्न राष्ट्रपतिले सजिलो पारिदिएको अवस्था छ । कमसेकम प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने थियो । त्यसपछि  मात्रै नयाँ प्रक्रिया चाल्नुपर्ने थियो ।

नयाँ प्रक्रिया सुरु गर्नका लागि राष्ट्रपति आफैले सजिलो पारिदिएको कुरा दुनियाँले बुझेकै कुरा हो । ज्यादै नै बढी भएपछि अहिले महाभियोगको कुरा पनि आइरहेको छ । यो अहिले बहसको विषय बनिसकेको छ सबै पार्टीहरुले सांसदहरुले पनि यसबारे सोच्लान् ।  

बझाङबाट आउन ३६ घण्टा लाग्छ

प्रकाश रसाइली स्नेही

अहिले देशमा कोरोनाको महामारी छ । मैले काठमाडौंबाट बझाङ पुग्नका लागि प्लेन छैन, गाडीमा ३६ घण्टा लाग्छ । दार्चुलाको सांसदलाई काठमाडौं आइपुग्न ४० घण्टा लाग्छ । राष्ट्रपतिले जसरी संविधानको धारा ७६ को धारा ५ को व्याख्या गरिरहनुभएको छ, उपधारा ५ ले त प्रतिनिधिसभाको २७५ सांसदमध्ये जसलाई पनि प्रधानमन्त्री बन्ने अधिकार दिएको छ ।

एउटा सांसदले २७५ सांसदसँग सहमति जुटाउन कति समय लाग्छ र कोरोना महामारीमा जनतालाई राहत जुटाउन गृहजिल्ला पुगेका सांसदहरु २१ घण्टाभित्र काठमाडौं आएर आफू प्रधानमन्त्री बन्नका लागि सहमति जुटाउने कुरा असम्भव कुरा हो । राष्ट्रपति प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा कठपुतली बनेको अवस्था छ ।    

संवैधानिक कुरा एउटा छ, विधि प्रक्रियाको कुरा एउटा छ  र राजनीतिक दाउपेचको अर्को कुरा छ । नागरिकताजस्तो विषयलाई सत्तामा चढ्ने भ¥याङ्ग बनाउनुहुँदैन । यो एकदमै संवेदनशील कुरा हो । हाम्रो राष्ट्रियतासँग पनि जोडिएको कुरा छ  । मधेसका कतिपय जायज मुद्दा छन्, संबोधन गर्नुपर्ने मुद्दाहरुका विषयमा व्यापक छलफल र बहस गर्नुपर्छ । तर, संसदमा रहेको विचाराधीन विधेयकलाई लत्याएर प्रधानमन्त्रीले त्यसलाई सत्ताको भ¥याङ बनाउनु गैरजिम्मेवार कुरा हो ।

समावेशी र समानुपातिक संविधानको विशेषताको विरुद्धमा लागेको प्रधानमन्त्री सत्ताको दाउपेच, सत्ता जोगाउनका लागि संविधानको धारणा, राष्ट्रियतासँग जोडिएको विषयका कुनै पनि मुद्दा नहेरिकन एकदमै गैरजिम्मेवार पूर्ण कुरा हो ।

दोश्रो जहाँसम्म राष्ट्रपतिको कुरा छ, प्रक्रियागत रुपमा हाम्रो संविधानको धारा ७६ को उपधारा ३ बाट बनेको सरकारले उपधारा ४ को प्रक्रियामा नगइकन अहिले ५ को प्रक्रियामा जानु यो असंबैधानिक हो र अलोकतान्त्रिक, सर्वसत्तावादतर्फ उन्मुख हो । राष्ट्रपतिले अहिलेको यो पद्दतिलाई समाप्त पार्न खोजेकी छन् ।

संविधान नै सिध्याउने डर छ

देवेन्द्रराज कँडेल  

प्रधानमन्त्री र राष्ट्रपतिबाट पटक–पटक संविधान उल्लंघनको काम हुँदै आएको छ । उहाँहरुले जसरी असंबैधानिक काम गर्दै आएका छन् हामीले उहाँहरुको नियत के हो भन्ने कुरा बुझ्न सकिरहेका छैनौँ । उहाँहरुले  देशलाई कता लैजान खोजिरहनुभएको छ ? एउटा संबैधानिक प्रक्रियाबाट जसरी अगाडि बढ्नुपर्नेमा उहाँहरुले एउटा असहज वातावरण निर्माण गर्दै जानुभएको छ । यो संविधान नै सिध्याउने हो कि ?

प्रधानमन्त्री ओलीलाई सक्ताबाट कसैले हटाउने कोशिस ग¥यो भने उहाँले यो संविधान र व्यवस्थालाई नै तहस नहस बनाउने उहाँको मानसिकता हामीले देखिरहेका छौँ । त्यसको मतियार भइरहेकी राष्ट्रपतिलाई के भन्ने ? जुन सपथका क्रममा जुन प्रस्तुती देखियो, दुईजनाले नाटक मञ्चन गरिरहेजस्तो, संविधानको उपहास गरेको जस्तो देखियो ।

न राष्ट्रपति संविधानप्रति संवेदनशील छन्, न प्रधानमन्त्री नै यो संविधान र संघीयताप्रति संवेदनशील छन् । अहिले कोरोनाका कारण सडकमा निस्कन मिलेन, अहिले देशमा निकै नै आपत्तिजनक क्रियाकलापहरु भइरहेका छन् ।

ओली समझदारीमा आए एमालेकै सरकार बन्छ

कल्याणी खड्का

प्रधानमन्त्री र राष्ट्रपतिले कानुनसम्वत ढंगले काम गर्नुपर्ने हो, तर उहाँहरुले त्यस्तो गरिरहनुभएको छैन । यो बेठीक कुरा हो भन्ने लाग्छ । अर्को बैकल्पिक सरकार बनाउनका लागि जति समय दिन पनि पुग्थ्यो, चार÷पाँच घण्टामात्र दिन केही बितिहालेको थिएन् । समय राखेर नै गर्नुपर्ने थियो । प्रधानमन्त्रीलाई रोकिएको, छेकिएको पनि थिएन ।

पार्टी एकताको कुरामा बार्ता गरिरहेका बेलामा यो कुराले फेरि बिगार्ला कि भन्ने लाग्छ । महाभियोगको कुरा चले पनि माओवादी र कांग्रेसले गर्ने हो, हामी पार्टीका मान्छेले यो गर्ने कुरा नै भएन । उहाँहरु समझदारीमा आउनुपर्छ । अहिले आफ्नै ठूलो पार्टी छ, समझदारीमा आए त्यतिकै बहुमतको सरकार बन्छ । उहाँ कसरी जानुहुन्छ, कसरी बुझ्ने ?

माधव झलनाथले राजीनामा दिएर निकास खोज्नुपर्छ

रंगमती शाही

प्रधानमन्त्री र राष्ट्रपतिबाट सिधै संविधानको मर्ममाथि प्रहार भएको छ । आफ्नो कुर्सी जोगाउन जे पनि गर्ने प्रवृति छ  । रावणको पनि अन्त्य भएको थियो । रावणले म लंकापति हुँ, भन्ने अहमता पालेको थियो, उसको पनि अन्त्य भएको थियो । जसरी आज राष्ट्रपतिले गरिमामय पदमा बसे पनि विद्या भण्डारी र केपी ओलीले जनतामाथि प्रहार गरेका छन्, यसको हामी घोर आपत्ति जनाउँछौँ ।

यहाँ त पहिला संसद सिध्याउने, त्यसपछि संविधान नै सिध्याउने खेल देखियो । रावणले विभिषणलाई देश निकाला गरे पनि अन्तिममा त विभिषणले नै लंकाको राजगद्दी पाएको थियो । माधव नेपाल र झलनाथ खनालले आज राजीनामा दिएर देशलाई निकासमा पु¥याउनुपर्छ । भोलि सत्यको विजय हुन्छ, उहाँहरुले भोलि राज्य चलाउने ठाउँ पाउनुहुन्छ । उनीहरुले आज राजीनामा दिए भोलि संसद भंग त हुँदैन ।

दुर्योधन र सकुनीभन्दा बढी षड्यन्त्रकारी

–अमनलाल मोदी

प्रधानमन्त्री र राष्ट्रपतिले पहिलेदेखि नै जसरी षडयन्त्र  गर्दै आएका छन्, त्यसको अहिले अन्तिम अस्त्रका रुपमा ब्रह्मास्त्र प्रहार गरेका छन् । मलाई के विश्वास छ भने अहिले जुन असंवैधानिक कदम चालिरहेका छन्, यसमा कहिँ न कहिँ राष्ट्रिय तथा अन्तरराष्ट्रिय शक्तिकेन्द्रको चलखेल रहेको छ ।

यसरी कुनै न कुनै रुपमा नेपाललाई सिक्किमीकरण गर्न त खोजिरहेको छैन ? केपी ओलीको नेर्तृत्वले नै यस्तो ग¥यो भने नेपाल देशको नाम नै नरहन सक्छ कि भन्ने चिन्ता पनि रहेको छ ।

साथै अहिलेको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका  एजेन्डा प्रधानमन्त्री स्वंयलाई पनि मन नपरेका कारण सबै प्रणालीलाई ध्वस्त पार्न खोजिँदैछ  । यसको विरुद्धमा हामी सबै जनप्रतिनिधिले आवाज उठाउन आवश्यक छ ।

सत्ताका लागि हरेक हर्कत गर्न तयार जो महाभारतको सकुनी र दुर्योधनले महाभारतको युद्धमा जति षडयन्त्रको हर्कत गरे, अन्त्यमा कौरव पक्षका मान्छेहरु निकै नराम्रोसँग मरेका थिए । आगामी निर्वाचनमा भूँइमा खुट्टा नभएको एमालेलाई त्यसरी नै पराजित गर्नेछन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप