बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नोबेलमा चिरफार नगरी दुरविनको माध्यमबाट गरियो मस्तिष्कको सफल शल्यक्रिया

आइतबार, ०९ जेठ २०७८, १८ : ४१
आइतबार, ०९ जेठ २०७८

 नोबेल शिक्षण अस्पतालमा चिरफार र घाउ नबनाइ दुरविनको माध्यमबाट मस्तिष्क भित्रको ट्यूमरको सफल शल्यक्रिया गरिएको छ । झापाको शिवसताक्षी नगरपालिका–११ की ३५ वर्षीया देवी राना मगरको नाकबाट इण्डोस्कोप छिराएर दुरविनको माध्यमबाट मस्तिष्कको शल्यक्रिया गरिएको हो ।

नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले मगरको सफल शल्यक्रिया गरेको हो । नाकको प्वालबाट ईण्डोस्कोप छिराई दुरविनको माध्यमबाट बिना चिरफार ‘पिट्वीटरी ग्राल्न्ड’ को सफल शल्यक्रिया गरिएको वरिष्ठ न्यूरो सर्जन डा. काफ्लेले जानकारी दिए । यस्तो शल्यक्रिया विरामीका लागि निकै लाभदायी हुने डा.काफ्ले बताउँछन् । उनी भन्छन्, ‘दुरविनबाट शल्यक्रिया गर्दा छिटो हुने, रगत धेरै खेर नजाने, विरामी लामो समय अस्पताल बस्नु नपर्ने, चोट नदेखिने र कम खर्चिलो भएकाले विरामीलाई सहज हुन्छ ।’

मगरलाई करिब १७ वर्ष अघिदेखि टाउको दुख्ने समस्या सुरु भएको थियो । सधै नदुख्ने तर, दुखेपछि खपिनसक्नु गरी दुख्ने हुँदा उनी वर्षौँ अघिदेखि पीडा झेल्दै आएकी थिइन् । केही दिनअघि निरन्तर टाउको दुखेपछि उनलाई अस्पताल भर्ना गरियो । अस्पतालमा परीक्षण गराउँदा मस्तिष्क भित्रको ट्यूमर पत्ता लाग्यो । डाक्टरले शल्यक्रिया गराउन सुझाव दिएपछि उनी डराएकी थिइन् । ‘अप्रेशन भन्ने वित्तिकै चिरफार गर्नुपर्ने जस्तो लाग्छ, त्यस्तै होला भनेर डर लागेको थियो । तर, बाहिर देखिने गरी कतै घाउ नै नबनाई मस्तिष्कको अप्रेशन हुँदा खुशी लागेको छ,’ मगरले भनिन् ।

अप्रेशनपछि स्वास्थ्यमा सुधार आएपछि उनी अहिले अस्पतालबाट डिस्चार्ज भई घर फर्किएकी छन् । टाउकोमा पानी जमेको, दिमागमा रगत जमेकोसहित ट्यूमरहरुको अप्रेशन नोबेलमा दुरविनको माध्यमबाट गरिदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप