आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपामा स्पष्टीकरण प्रकरण : दुवै पक्षले फर्काएन जवाफ

शुक्रबार, १४ जेठ २०७८, ११ : ५०
शुक्रबार, १४ जेठ २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालमा एक पक्षले अर्को पक्षलाई सोधेको स्पष्टीकरणको जवाफ कसैले दिएको छैन । जसपाका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादवलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए भने अध्यक्ष यादवले पनि अध्यक्ष ठाकुरलाई नौ बुँदे स्पष्टीकरण सोधेका थिए । दुवै पक्षले जेठ ११ गते पत्र लेखेर एक अर्कालाई तीन दिनभित्र स्पष्टीकरणको जवाफ दिन भनेका थिए । तीन दिने म्याद जेठ १३ गते नै सकिए पनि दुवै पक्षले एकअर्कालाई जवाफ दिएका छैनन् ।

 

विवाद उत्कर्षमा पुगेपछि अब वार्ताको माध्यमबाट पार्टीको समस्या समाधान गर्ने पहल सुरु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘जवाफ आएको छैन । पार्टीमा देखिएको विवाद वार्ताबाट समाधान गर्ने प्रयास भइरहेको छ ।’ पार्टीका नेताहरूबाट अनुशासन उल्लंघन भएको कारण स्पष्टीकरण सोधिएको तर जवाफ नआएपछि अब वार्ताको माध्यमबाट विवाद समाधान गर्ने प्रयास गरिने उनले बताए । यसबारे शीर्ष तहमा कुराकानी भइरहेको उनको भनाइ छ ।

‘स्पष्टीकरण पत्रमा तीन दिनभित्र स्पष्ट र चित्त बुझ्दो जवाफ प्राप्त नभएमा पार्टीको विधानबमोजिम अनुशासनको कारवाही हुने चेतावनी थियो नि’ भन्ने प्रश्नमा उनले विवादलाई चर्काउनुभन्दा पनि वार्ता र छलफलबाट समाधान गर्ने आफूले प्रयास गरिरहेको जवाफ दिए । ‘तपाईंलाई सोधिएको स्पष्टीकरणको जवाफ दिनुभयो ?,’ भन्ने प्रश्नमा उनले आफूलाई सोधिएको स्पष्टीकरण नै वैधानिक नरहेको दावी गरे । उनले भने, ‘कुनै व्यक्तिले स्पष्टीकरण सोधेर हुँदैन, पार्टीको निर्णय हुनुपर्छ, पार्टीको आधिकारिक निर्णय नभएको कारणले मैले जवाफ नदिएको हुँ ।’

जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पनि अवैधानिक रुपमा सोधिएको स्पष्टीकरणको कुनै जवाफ नदिने बताए । ‘हामीले सोधेको स्पष्टीकरणको जवाफ आएको छैन । त्यसबारे के गर्ने भनेर पार्टीमा छलफल गरेर अगाडि बढ्छौँ,’ उनले भने ।

अध्यक्ष उपेन्द्र यादवले सोधेको स्पष्टीकरणमा तीन दिनभित्र चित्त बुझ्दो जवाफ नदिएको पार्टीको विधान अनुसार कारवाही गर्ने उल्लेख छ तर अध्यक्ष ठाकुरले सोधेको स्पष्टीकरणमा तीन दिनभित्र जवाफ नआए के गर्ने भनेर उल्लेख छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप