सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अक्सिजनको अभावमा पोखरामा एकैसाथ ६ जनाको निधन हुनु दुःखद : काँग्रेस

शुक्रबार, १४ जेठ २०७८, १९ : १२
शुक्रबार, १४ जेठ २०७८

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको जनाएको छ । साथै काँग्रेसले समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाम उपचाररत बिरामीको ठूलो सङ्ख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि गरेको र सरकार कहाँ छ भन्ने प्रश्नसमेत सिर्जना गरेको आरोप लगाएको छ ।
 
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत जनताको मृत्यु यसरी कहालीलाग्दो ढङ्गले हुँदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको टिप्पणी गरेका छन् । काँग्रेसले देशभरका सरकारी हुन् या निजी क्षेत्रका अस्पताल अक्सिजनको अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको भएको उल्लेख गर्दै सरकारले यो दायित्व निर्वाह नगरेर हुने र भएका घटनाहरूको जिम्मेवार पनि सरकार नै हुनुपर्ने जिकिर गरेको छ ।
 
अक्सिजनको अभावमा एकसाथ जीवन गुमाएका छ नागरिकको मृत शरीर अनि सुत्केरी आमाको मृत्युपश्चात असहज स्थिति सामना गरिरहेको नवजात शिशुलाई हेरेर आजको मितिमा राज्यको कर्तव्य पहिचान र आत्मसात गर्न समेत कांग्रेसले सरकारलाई आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप