सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महराले भने–सरकारलाई दिएको समर्थन कायमै छ

मङ्गलबार, ३१ असोज २०७४, १३ : ४६
मङ्गलबार, ३१ असोज २०७४

काठमाडौं–  उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले  शेरबहादुर देउवा नेतृत्वको सरकारलाई माओवादीले दिएको समर्थन कायमै रहेको बताएका छन् । 

माओवादीको तर्फबाट   देउवा सरकारमा नेतृत्व गरेका महराले पार्टीले निर्णय गरेको खण्डमा भने एक मिनेट पनि सरकारमा नबस्ने बताएका हुन् । 

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा महराले भने, ‘माओवादीको सरकारलाई दिएको समर्थन कायम रहेको छ । पार्टीले निर्णय गरेको खण्डमा हामी एक मिनेट पनि सरकारमा बस्दैनौं । तर, अहिले बाहिरिनेबारे कुनै निर्णय भएको छैन।’

उनले  आगामी प्रदेश र प्रतिनिधिसभा  सदस्य निर्वाचन सफल बनाउन पार्टी र सरकारको ध्यान रहेको पनि बताए । 

प्रधानमन्त्री  देउवाले माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकारबाट बाहिरिन दबाब दिँदै आएका छन् ।  तर, माओवादी भने सरकारबाट बाहिरिने या रहिरहने भन्नेमा अलमलमा छ । 
प्रचण्डले  राजीनामाबारे बाम गठबन्धनमा समेत छलफल गरेको बताइएको छ । छलफलमा एमाले अध्यक्ष केपी ओलीले  राजीनामा नदिइहाल्न सुझाव दिएपछि अब के गर्ने भन्नेमा माअाेवादी अलमलमा रहेको स्रोतको भनाई छ । 

यसअघि माओवादीले चुनावसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने र मन्त्रीहरु फिर्ता नबोलाउने निर्णय गरेको थियो । 

तर, पछिल्लो पटक प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापासहित आठ मन्त्री थपेपछि माओवादी मन्त्रीमाथि नैतिक दवाव शुरु भएको छ । 
नयाँ मन्त्री सपथ लिएको तीन दिनसम्म पनि विनाविभागीय छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप