मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पच्चीस लाख रुपैयाँ लगानीबाट कस्ता–कस्ता काम गर्न सकिन्छ ?

सोमबार, १७ जेठ २०७८, १२ : १७
सोमबार, १७ जेठ २०७८

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सार्वजनिक गरेको बजेटमा केही लोकप्रियता कमाउने खालका विषय पनि समेटेको छ । त्यसमध्ये एउटा हो स्नातक उत्तीर्ण युवाका लागि प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ५ प्रतिशत ब्याजदरमा ऋण दिने विषय ।

देशमा शैक्षिक बेरोजगारी दर बढिरहेका बेला युवा स्वरोजगार बनाउने उद्देश्यका लागि भन्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कुरा एकदमै सकारात्मक सराहनीय र स्वागतयोग्य छ । सरकारले अघिल्ला वर्षमा पनि यसबारे घोषणा गरे पनि कार्यान्वयनमा आउन सकेन् । सरकारले ल्याएको यो नीति लागू हुन सक्यो र नागरिकहरू पनि अनुशासितमिहिनेती, लगनशील अनि धैर्यवान् हुने हो भने आगामी केही वर्षमा देशमा बेरोजगारीको सङ्ख्यामा कम गर्न यस्तो नीति लाभदायक हुनसक्छ ।

युवा उद्यमीको सङ्ख्या ज्यादा र विदेश पलायन हुनुपर्ने बाध्यता कम हुने निश्चित छ । कुनै क्षेत्रमा लगानी गरेर सफलता पाउने हो भने उच्च शिक्षा हासिल गरेका समग्र युवाहरूले कुनै कार्यालयमा काम गर्ने, घुम्ने कुर्सीमै बसेर जागिर खाने भन्ने मानसिकता पनि हटाउन जरुरी छ ।

हाम्रो देशमा यति धेरै अवसर छन्, यसलाई सही सदुपयोग गर्न अझैसम्म पनि युवाहरूको दिमागमा छिरेको छैन । स्वरोजगार हुन कतिपय कामका क्षेत्रमा एकदमै कम लगानीबाट सुरु गरेर पनि करोडसम्म पनि पुर्याउन सकिन्छ । त्यस्ता कामका लागि मिहिनेत अनि समय दिई विचलित निरन्तरता दियो भने प्रगति गर्न धेरै समय लाग्दैन ।

यदि सरकारले बजेटमा घोषणा गरेजस्तै  बिना झन्झट शैक्षिक बेरोजगारहरू युवा वर्गलाई सहुलियत ऋण दिने हो भने नेपालमा त्यो रकमले धेरै कार्य गर्न सकिन्छ । यता बैङ्कहरूले पनि शैक्षिक प्रमाणपत्र धितो राखेर सीधै ऋण लगानी गर्ने कुरा आउँदैन । उनीहरूले शैक्षिक प्रमाणपत्रका साथमा ऋण लगानी गर्ने र त्यो कामबाट ऋण र ब्याज फिर्ता आउने सुनिश्चितता खोजेको हुन्छ । २५ लाख लगानी गरेर स्वरोजगार बन्नका लागि मैले निम्न केही बुँदा सुझाएको छु ।

२५ लाख रूपैयाँले नेपालमा कृषिजन्य व्यवसाय गर्न सकिन्छ । हाम्रो देशमा हरेक परिवारमा केही न केही मात्रामा अवश्य पनि खेतीयोग्य जमिन छ । उक्त जमिनमा आधुनिक तरिकाले खेतीपाती, तरकारी लगायत नगदेबाली लगाउन सकिन्छ । उक्त कार्यका लागि आवश्यक पर्ने मल, बीउ र आधुनिक खनजोत गर्नका लागि ट्याक्टर लगायतका उपकरण किन्नको सो रकम प्रयोग गर्न सकिन्छ ।

सो रकम पशुपालनका लागि खर्च गर्न सकिन्छ । नेपाल माछा मासुमा अझै पनि पूर्ण रूपमा आत्मनिर्भर भइसकेको छैन । मासुका लागि मात्रै वार्षिक अर्बौं रुपैयाँ भारतमा जाने गरेको छ । स्वेदेशमै आधुनिक प्रविधि अपनाएर सानो लगानीमा भए पनि गाई, भैँसी, बाख्रा, कुखुरा लगायतका पशुपालन तथा माछा पालन गर्न सकिन्छ ।

नेपालमा गर्न सकिने अर्को व्यवसाय तयारी पोशाक उत्पादन पनि हो । २५ लाख रूपैयाँबाट १० देखि १५ वटासम्म सिलाई मेसिन खरिद गर्न सकिन्छ । तयारी कपडा उत्पादनका लागि कच्चा पदार्थ सहजै पाइने भएकाले केही कामदार राखेर सानो व्यवसाय गर्न सकिन्छ र यसको भविष्य धेरै राम्रो रहेको छ ।

साबुन बनाउने कारखाना, धुप बनाउने कारखाना, सस्तो चप्पल बनाउने, ब्याग कारखाना, कपी छपाई, सेनिटरी प्याड उत्पादन जस्ता सानो लगानीमा यस्ता धेरैवटा व्यवसाय गर्न सकिन्छ जहाँ ४० देखी ५० जना कामदारलाई रोजगारी पनि दिन सकिन्छ ।

२५ लाख रुपियाँमा इम्ब्रोडरी गर्ने, प्रिन्ट गर्ने मेसिन सञ्चालन गरेर हरेक महिना खर्च कटाएर १ देखि २ लाख रुपैयाँसम्म सजिलै आम्दानी गर्न सकिन्छ ।

त्यस्तै एलईडी बल्ब बनाउने, पनिर उद्योग, मसला उद्योग, प्याकिङ, बलपेन मेसिन, डलहरू बनाउने, क्याफे, ट्राभल एजेन्सी, वेभ ग्राफिक डिजाइन, विभिन्न तालिम केन्द्रहरू, ट्युसन सेन्टर, होमस्टे लगायतका धेरैभन्दा धेरै प्रकारका व्यापार व्यवसाय सुरु गर्न सकिन्छ ।

फेन्सी पसल, जुत्ता चप्पल पसल खोल्नका लागि यो रकम पर्याप्त हुन्छ । यी व्यवसायमा २५ लाख लगानी गर्ने हो भने किस्तामा ऋण तथा ब्याज, भाडा खर्च तिरेर मासिक १ लाख रुपैयाँ राम्रोसँग बचत गर्न सकिन्छ ।

माथि उल्लेखित काम केही प्रतिनिधिमूलक काम हुन् । यीबाहेक अन्य धेरै काम गर्न सकिन्छ । आफू स्वरोजगार बन्दै अरूलाई पनि रोजगारी दिन सकिन्छ । यसका साथै स्वदेशमा नै विभिन्न खालका वस्तु उत्पादन गरी उत्पादित वस्तु तथा सेवा आफ्नै देशमा खपत गराउँदा नेपाली पैसा विदेसिन पाउँदैन ।

मिहिनेतपूर्वक काम गरेर मासिक १ लाख रुपैयाँ बचत गर्दै जान सक्ने हो भने २५ महिनामा ऋण चुक्ता गरी २६ महिनादेखि व्यवसाय नाफामा सञ्चालन हुन थाल्छ ।

कतिपय युवाले निकै महँगो ब्याजदरमा ऋण लिएर पनि स्वदेशमै निक्कै ठूलो प्रगति गरेको प्रशस्तै उदाहरण छन्  । यसको मुख्य कारण इमानदारिता र लगनशीलता नै हो । माथि उल्लेखित काम एक्लैले गर्न सकिने काम हुन् । यदि समूहगत रूपमा साथीहरू वा आफन्त नै मिलेर १० देखि १५ जनाको समूहले केही राम्रो योजना बनाएर पनि काम गर्न सकिन्छ । यदि १५ जना मिल्ने हो भने २५ लाखको दरले ३ करोड २५ लाख हुन्छ । यति रकम लगानी गर्ने हो भने नेपालमा ३ सय  जनासम्मलाई रोजगारी दिन सकिने मेरो आफ्नै अनुभव छ ।

सरकारले घोषणा गरेको यो योजनाको शीघ्र कार्यान्वयन हुने र बेरोजगार रहेका युवाले रणनीतिक कार्ययोजना बनाएर अगाडि बढ्ने हो भने देश समृद्धि भई अन्य युवाहरूका लागि पनि रोजगार सिर्जना गर्न सकिन्छ । यसले व्यक्ति समाज हँुदै सिङ्गो देशलाई नै आत्मनिर्भर बनाएर अन्तर्राष्ट्रिय जगतमा चिनाउन पक्कै पनि धेरै समय लाग्दैन । उच्च शिक्षा हासिल गरेका व्यक्ति सफल उद्यमी बन्न र त्यही उद्यमी समाजको प्रतिनिधि बनी देशको विकास  गर्न पक्कै असम्भव छैन । सरकारले पनि आफूले घोषणा गरिसकेको यो विषय तत्काल कार्यान्वयन गरेर अघि बढ्न आवश्यक छ ।

(लेखक युवा उद्यमी तथा थ्रेड गार्मेन्टका सञ्चालक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णराज तिमल्सिना
कृष्णराज तिमल्सिना
लेखकबाट थप