यो साता अमेरिकामा मार्च २०२० यताकै कम संक्रमण
अमेरिकाका पछिल्लो साता (बुधबारदेखि बुधबारसम्म) प्रतिदिन औसतमा १६ हजार ८ सय ६० जनामा संक्रमण देखियो । पहिलो लहरमा अमेरिकामा २०२० को अप्रिलमा संक्रमण बढेपनि १ जुनसम्म आइपुग्दा केही घटेको थियो । १ जुन, २०२० मा एक साताको हिसाब निकाल्दा औसत दैनिक १९ हजार जना संक्रमित भएको पाइएका थिए ।
त्यसपछि अमेरिकामा कुनै पनि साता औसत (१९ हजारको दैनिक) थ्रेसहोल्ड घटेको यसैपटक हो । एनबीसी न्यूजको विश्लेषणअनुसार अहिलेको प्रति साता दैनिक औसत संख्या मार्च २०२० यताकै कम हो । अमेरिकामा गत जाडोयाममा कोरोना भाइरस उच्चमा थियो । यतिबेला एकै दिन ३ लाखभन्दा बढी संक्रमित पनि भेटिएका थिए । अहिले अमेरिकामा धेरै हदसम्म कोरोना नियन्त्रणमा आइसकेको छ । खोपका कारण पनि यस्तो भएको विज्ञहरु बताउँछन् ।
विश्वमा कोरोना भाइरसबाट सर्वाधिक प्रभावित देशको सूचीमा अमेरिका पहिलो नम्बरमा आउँछ । यहाँ ३ करोड ४१ लाखभन्दा धेरै जनसंख्या कोरोनाबाट संक्रमित भइसकेको छ । त्यस्तै ६ लाख ११ हजार ६ सय ११ जनाले ज्यान गुमाइसकेका छन् ।