सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विराटनगर कार दुर्घटना : अझै खुलेन चालकको पहिचान

शुक्रबार, २१ जेठ २०७८, १९ : ५१
शुक्रबार, २१ जेठ २०७८

विराटनगरमा बिहिबार साँझ भएको कार दुर्घटनाका चालकको पहिचानमा प्रहरी चुकेको छ । कारको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको २० घण्टासम्म प्रहरीले चालकको पहिचान गर्न सकेको छैन् । १ नं प्रदेशसभा सदस्य विन्दिया कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारको ठक्करबाट भारतको कटिहारका ३५ वर्षीय मुकेश शर्माको  घटनास्थलमै मृत्यु भएको थियो तर घटना लगतै चालक फरार भएपछि कार कसले चलाएको थियो भन्ने पहिचान गर्न प्रहरी असफल भएपछि घटना थप रहस्यमय बनेको छ । 

बिहीबार राति साढे ७ बजे कारको ठक्करबाट शर्माको मृत्यु भएको थियो । कारको ठक्करबाट कटहरी गाउँपालिका– २ का २७ वर्षीय रामकुमार राजवंशी घाइते भएका थिए । सवारी दुर्घटनाका मृत्यु भएका भारतीय नागरिकको शव आफन्तले बुझेका छन् ।  भारतीय नागरिक  ३५ वर्षीय मुकेश शर्माको शव शुक्रबार आफन्तले किरिया खर्चसहित बुझेका हुन् । शर्माको कोसी अस्पताल विराटनगरमा पोस्टमार्टमपछि भारु ५० हजारसहित आफन्तले शव बुझेका थिए ।
दुर्घटनापछि नोबेल मेडिकल कलेजमा भर्ना भएका राजवंशीको पनि शुक्रबार नै डिस्चार्ज भएको छ । 

मृतकका आफन्तलाई किरिया खर्च र घाइतेको उपचार खर्च सांसद कार्कीले नै तिरिदिएकी थिइन् । कार्कीले नोबेलमा घाइतेका आफन्तसँग लामो समय छलफल पनि गरेकी थिइन् ।  दुर्घटना हुँदा कार सांसद कार्कीका छोरा रोबिन भनिने रविनले  चलाएको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् । तर प्रहरीले चालकको पहिचान हुन नसकेको बताउँदै आएको छ ।

नेपाली काङ्ग्रेसकी प्रदेशसभा सदस्य कार्कीले सो कार कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्दै आएको बरगाछी युवा समूहलाई प्रयोग गर्न दिएकी थिइन् । कार्कीका छोरा रबिन पनि सङ्क्रमितको शव व्यवस्थापनमा खटिँदै आएका थिए । प्रत्यक्षदर्शीका अनुसार कारको ठक्कर पछि  चालक कार्की र त्यसमा सवार अन्य कार छाडेर भागेका थिए ।

 मोरङका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मानबहादुर राईले घटनाको बारेमा केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको बताए । प्रहरीले सिसी क्यामेरामा कैद भएको फुटेज हेर्नेदेखि नियन्त्रणमा रहेकालाई बयान लिने काम गरिरहेकाले घटनामा दोषी उम्किन नसक्ने उनले दाबी गरे ।

‘घटनालाई लिएर धेरैले चासो राख्नुभएको छ’ प्रहरी प्रवक्ता राईले भने, ‘घटनाको बारेमा गहिरो रुपमा प्रहरीले अनुसन्धान गरिरहेका छौं घटनाको सत्यतथ्य केही दिनमा बाहिर आउँछ, दोषी उम्किने अवस्था छैन् ।’ लापरवाही गर्नेलाई कारवाहीको दायरमा ल्याउने उनले बताए । 
यता प्रदेश सांसद कार्कीले भने आफ्नो छोराले गाडी नकुदाएको दाबी गदै आएकी छन् । तर उनले कसले कार हाँकेको थियो भने बारेमा भने खुलाइनन् । ‘प्रहरीले घटनाको बारेमा अनुसन्धान गर्दैछ, केही दिनमा थाहा हुन्छ’ प्रदेश सभासद कार्कीले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप