८७ वर्षिय ‘ट्रान्सपोर्ट पायोनियर’ प्रितम सिंहले जिते कोरोना
काठमाडौं । नेपालका ‘ट्रान्सपोर्ट पायोनियर’ प्रितम सिंहले ८७ वर्षको उमेरमा कोरोनामाथि विजय प्राप्त गरेका छन् ।
नेपालमा पहिलोपटक ३ वटा ट्रक भित्र्याई ट्रान्सपोर्टको जग बसालेका कारण सिंहलाई ‘ट्रान्सपोर्ट पायोनियर’ उपनामले चिनिन्छ ।
सन् १९५७ मा २२ वर्षको उमेर छँदा प्रितम सिंह जम्मुबाट आफ्ना पितासँगै ट्रकमार्फत काठमाडौं प्रवेश गरेका थिए । उनीहरुले ल्याएको त्यो ट्रक नै नेपालमा भित्रिएको पहिलो ट्रक रहेको र सो समयदेखि नै नेपालमा सार्वजनिक ढुवानीको कामको थालनी भएको मानिन्छ ।
त्यसबेला काठमाडौं आएका उनलाई तत्कालीन राजा महेन्द्रले यहि बस्न आग्रह गरे । राजा महेन्द्रले सिंह बाबु छोरालाई आफूसँगै ल्याएको ट्रक नेपालमै चलाई यहाँको ट्रान्सपोर्ट लाइन स्थापनामा मद्दत गर्न आग्रह गरेका भारतीय दूतावासबाट प्रकाशित ‘शिख हेरिटेज अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ ।
८७ वर्षीय प्रितम सिंह कोरोना संक्रमित भई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत थिए । २२ दिन लामो उपचारपछि उनले कोरोनामाथि जित हासिल गरेका हुन् ।
हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।