आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने

बिहीबार, २७ जेठ २०७८, १७ : ०२
बिहीबार, २७ जेठ २०७८

नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने ठाउँठाउँमा भारी वर्षासमेत हुने जानकारी दिए । “हामी अहिले मनसुनको निगरानी गरिरहेका छौँ, एक/दुई दिन भित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ”, पौडेलले थपे, “वर्षा विस्तारै बढ्न थालेको छ, आगामी हप्ता ठाउँ-ठाउँमा भारी वर्षा भएर बाढी पहिरोसमेत आउनसक्छ, सचेत हुन अनुरोध गर्दछु ।” उनका अनुसार पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको छैन ।

मौसमविद् गङ्गा नगरकोटी हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको छ । त्यसले वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश नं १ का केही भेगमा वर्षा जारी छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पनि वर्षा भएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको हुनेछ ।

सामान्य रूपमा विगत १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ अर्थात् आगामी आइतबार हो । अक्टोबर २ मा बाहिरिने छ । सरदर वर्षाको आँकडा विश्लेषण गरेर मनसुनको मिति तय गरिने भए पनि कहिलेकाहीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने हुनसक्छ ।

प्राप्त विवरणअनुसार आज २१४ वटा वर्षा मापन केन्द्र (मानव सञ्चालित ८५ र स्वचालित १२९) मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरणअनुसार १०८ केन्द्रमा वर्षा भएको छ । उक्त केन्द्रमध्ये सबैभन्दा बढी वर्षा डडेलधुरा केन्द्रमा ११२ मिलीमिटर भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप