नेपालीको अनुरोधमा बेलायती मन्त्री र सांसदको सकारात्मक प्रतिक्रिया
विदेशमा बस्ने नेपालीहरुले कोरोनाको महामारीमा मातृभूमिको सहयोगको लागि आ-आफ्नो तर्फबाट विभिन्न किसिमले सहयोग पुर्याइरहेका छन्। संस्थागत अथवा व्यक्तिगत रुपमा मेडिकल सामाग्रीहरु पठाउने क्रम निरन्तर रुपमा चलिरहेको छ। सँगसँगै विकसित मुलुकमा रहेका नेपालीहरुले बिभिन्न माध्यमबाट त्यस मुलुकको सरकारको ध्यानाकर्षण गराउँदै मेडिकल सामाग्री र खोपको लागि लबिङ्ग भइरहेका छन। ती लबिङ्गको सम्बन्धित मन्त्री एवम् निकायहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएका छन् ।
बेलायतमा रहेका शिवजी श्रेष्ठले आफ्नो क्षेत्रका सांसद एवम् पूर्व मन्त्री मारिया मिलरमार्फत बेलायती सरकारका दक्षिण एसिया तथा कमनवेल्थ मामिला मन्त्री लर्ड तारिक अहमलाई नेपाललाई अहिलेको कोरोना महामारी रोकथामको लागि सहयोग पुर्याउन गरेको अनुरोधमा सकारात्मक जवाफ प्राप्त छ । सांसद मारिया मिलरले बेलायती मन्त्रीको पत्र सहित शिवजी श्रेष्ठलाई सो कुराको जानकारी गराएकी छन् ।
मन्त्री लर्ड तारिक अहमदको पत्रमा नेपाललाई यस महामारीका बीच पुर्याएको सहयोगको फेहरिस्तसहित भ्याक्सिनको क्षेत्रमा पनि निरन्तर सहयोग गर्ने र नेपालको २० प्रतिशत जनतालाई बेलायत सरकारको तर्फबाट भ्याक्सिनको व्यवस्था गर्न लागिएको कुरा जनाइएको छ ।
सो पत्रमा कोरोना रोकथामको लागि हालसम्म ४० मिलियन पाउन्ड (नेपाली रुपैयाँ ६ अरब ५६ करोड) सहयोग प्रदान गरिएको बताइएको छ । साथै नेपालको ५२ स्थानमा २१० ट्रक मेडिकल सामग्रीहरु पठाइएको कुरा उल्लेख गरिएको छ। सोही पत्रमा नेपाल प्रहरी अस्पताललाई अक्सिजन उत्पादनको लागि सहयोग गरिएको कुरा पनि उल्लेख गरिएको छ। सो पत्रमा मुख्य कुरा कोभ्याक्स मेकानिज्मलाई प्राथमिकता दिँदै नेपालको २० प्रतिशत जनतालाई भ्याक्सिनको लागि सहयोग गरिने बताइएको छ ।
बेलायतस्थित दूतावास र एन आर एन युके सहित बिभिन्न संघसंस्थाहरूको सक्रियतामा यस अघि नै ठुलो मात्रामा अक्सिजन कन्सन्ट्रेटर नेपाल पुगिसकेको छ ।