सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमाले विवाद मिलाउन ‘साइडलाइन वार्ता’ !

छलफलबाट दोस्रो तहका नेता उत्साहित
शुक्रबार, ०४ असार २०७८, ११ : ०३
शुक्रबार, ०४ असार २०७८

नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरुको सक्रियता पुनः बढेको छ । अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनाल–माधव नेपाल समुहका दोस्रो तहका नेताहरुबीच विहीबार भएको छलफलमा समस्या समाधानका लागि गरिएको प्रयास सकारात्मक दिशातर्फ अघि बढेको निश्कर्ष निकाल्दै शीर्ष नेताहरुसँग ‘साइडलाइन वार्ता’ गरेर पुनः वार्तामा बस्ने सहमति भएको छ ।

स्रोतका अनुसार उनीहरुबीच बिहीबार ललितपुरको एक होटलमा करिव ३ घण्टा छलफल भएको थियो । अनौपचारिक रुपमा भएको छलफलमा दुवैतर्फका नेताहरु अब पुनः शीर्ष नेतासँग बसेर अर्को पटक छलफलमा बस्ने सहमति भएको एक नेताले रातोपाटीलाई जानकारी दिए ।

​नेताहरुबीच सहमतिका विभिन्न मोडलहरुबारे समेत कुराकानी भएको छ । खासगरी जेठ ३ अघिको अवस्थामा फर्केर पार्टी एकता बचाउने विषयमा विवाद नरहेपनि त्यसमा राखिएका केही शर्तहरुका बारेमा कुरा मिल्न बाँकी रहेको बुझिएको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले जेठ ३ अघिको अवस्थामा फर्कन कुनै समस्या नरहेको तर त्यसका लागि माधव पक्षले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेको बुझिएको छ ।

यता, माधव पक्षका नेताहरुले प्रतिनिधि सभा विघटन गल्ती भन्दै प्रधानमन्त्री ओलीले स्वीकार गर्नुपर्ने शर्त राखेका छन् । यी दुवै शर्तबारे दोस्रो तहका नेताहरुबीच छलफल भएपनि सहमति जुट्न बाँकी रहेको बुझिएको छ ।

अध्यक्ष ओलीको तर्फबाट छलफलमा सहभागी संसदीय दलका नेता समेत रहेका सुवास नेम्वाङले सहमतिको विन्दु पहिल्याउने कसरत जारी रहेको भन्दै अहिले नै सबै कुरा बताउन नमिल्ने प्रतिकृया दिए । ‘धेरै कुरामा हामी सहमति नजिक पुगेका छौँ । सहमति भएपछि एकैपटक सार्वजनिक गर्छौँ,’ नेता नेम्वाङको भनाइ छ ।

त्यस्तै अर्का नेता भीम आचार्यले पनि छलफल जारी रहेको भन्दै त्यो छलफल सकारात्मक दिशातर्फ उन्मुख भइरहेपनि सहमति जुट्न बाँकी रहेको बताए । आचार्यले एक हप्ता दश दिनभित्रै टुङ्ग्याउने गरी कुराकानी भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप