सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा कोरोना : २२ दिनमा ७५ जनाको मृत्यु, २ दिन शून्य मृत्युदर !

शुक्रबार, ०४ असार २०७८, १८ : २८
शुक्रबार, ०४ असार २०७८

कर्णाली प्रदेशमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट संक्रमण र मृत्यु दरमा कमी आएको छ ।  अन्य प्रदेशको तुलनामा कर्णालीमा केही कमी देखिएको हो । तर, कोरोना महामारीको जोखिम भने उच्च रहेको जनस्वास्थ्यविदहरुले बताइरहेका छन् ।  प्रदेशमा बितेका २२ दिनको तथ्याङ्कलाई आंकलन गर्दा जम्मा दुई दिनमात्र मृत्युदर शून्य छ भने बाँकी २० दिनमा कुनै न कुनै कोरोना संक्रमितले ज्यान गुमाएको अवस्था छ ।

 गत जेठ १३ गतेदेखि असार ४ गतेको बीचमा असार महिनाको दुई दिन (असार १ गते र असार ४ गते) कोरोनाबाट कर्णालीमा कसैले पनि ज्यान गुमाएका छैनन् । हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९६ पुगिसकेको अवस्था छ । जसमा कोरोनाको दोस्रो लहरमा मृतकको संख्या बढिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

बितेका २२ दिनको तथ्याङ्कलाई आँकलन गर्दा प्रदेशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५ जना रहेको छ । जसमध्ये जेठ १५ गते सबैभन्दा धेरै १० जनाको ज्यान गुमाएका छन् भने त्यसपछिका दिनमा मृत्युदर अझै केही मात्रामा ओरालो लागेको देखिन्छ ।  

त्यसपछिको सेरोफेरो बढीमा ६ र कममा १ जनाले प्रतिदिन ज्यान गुमाएका छन् ।  उसो त कर्णालीमा अन्य प्रदेशमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा समेत कमी आएको छ । कोरोना जित्नेको संख्या धेरै र संक्रमितको संख्यामा कमी आएता पनि जोखिम भने उच्च नै रहेको छ ।  हाल प्रदेशभर सक्रिय कोरोना संक्रमितहरुको संख्या २ हजार २७९ मा झरेको अवस्था छ । यद्यपि, जेठ १८ गतेसम्म सक्रिय संक्रमितको संख्या  ५ हजार बढी थियो । त्यसपछिको दिनहरुमा संक्रमितको संख्यामा निकै कमी आएको देखिन्छ ।

यस्तो छ असार महिनायता संक्रमित र मृत्युदरको तथ्याङ्क 

पछिल्लो तथ्याङ्कअनुसार असार महिनाका चार दिनमा दुई दिन शून्य मृत्युदर देखिएको छ । त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा शून्य मृत्युदर रहेको छ । स्वास्थ्य निर्देशक रविन खड्काका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा जम्मा ७१ जना कोरोना संक्रमित थपिएका छन् भने २८२ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । यद्यपि, यो महिनामा ५ जनाले ज्यान गुमाएका छन् । यो तथ्याङ्कलाई केलाउने हो भने पनि संक्रमितको दर निकै ओरालो लाग्दो छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप