सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँंदा  ६ प्रहरी घाइते

शुक्रबार, ०४ असार २०७८, २२ : ४६
शुक्रबार, ०४ असार २०७८

नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँदा प्रहरी उपरीक्षकसहित ६ प्रहरी घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको जिल्ला प्रहरी कार्यालयको बा २ झ ३४७२ नम्बरको जीपलाई ठक्कर दिँदा आज साँझ ५ः३० बजे उक्त दुर्घटना भएको हो ।
 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार घाइते प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीको टाउको, मुख र हातमा चोट लागेको छ । पाँच  प्रहरीको समेत टाउको, हातलगायत अंगमा सामान्य चोट लागेको उहाँले जानकारी दिए । घाइते सबैको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको छ ।

 प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने नारायणगढ–मुग्लिन सडकको भासिएको सडक र मुग्लिनको आर्च पुल अनुगमन गरेर फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं २९ गाईघाटमा दुर्घटना भएको बताए । अनुगमनका क्रममा फरक गाडीमा डिभिजन सडक कार्यालयका प्रमुख र इञ्जिनीयरसमेत रहेका थिए । लामिछानेले भने, “मेरो अगाडि एसपी सापको गाडी थियो, अकस्मात् ट्रकले ठक्कर दियो ।”
 
प्रहरी उपरीक्षकसहितको प्रहरीको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए । उनले भने, “उहाँहरुको अवस्था खतरामुक्त छ, अब डिस्चार्ज गरेर फर्किँदै छौंँ ।” गाडीको अगाडिको भाग भने पूर्ण क्षतिग्रस्त भएको लामिछानेको भनाइ छ । ठक्कर दिने ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप