आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश १ : सात जिल्लामा दैनिक संक्रमण दर शून्य

कोरोना संक्रमण दर घट्यो तर जोखिम कायमै
सोमबार, ०७ असार २०७८, १२ : २८
सोमबार, ०७ असार २०७८

कोराना संक्रमण तथा नियन्त्रणका लागि भन्दै डेढ महिनादेखि जारी निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । अन्य प्रदेशजस्तै प्रदेश १ का १४ जिल्लामा लगाइँदै आएको निषेधाज्ञा केही खुकुलो बनाएसँगै नागरिकको जीवनयापन सामान्यीकरणतर्फ उन्मुख बनेको छ ।

स्थानीय प्रशासनले गत वैशाख १८ देखि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै प्रदेशका सबै जिल्लामा निषेधाज्ञा जारी गर्दै आएका छन् । संक्रमणको दर पूर्ण नियन्त्रणमा आइनसकेकाले जोखिम यथावत् रहेको भन्दै निषेधाज्ञालाई पूर्णरुपमा भने हटाइएको छैन ।

घट्यो संक्रमण दर

प्रदेश १ मा दैनिक कोरोना संक्रमितको संख्या ३ सयभन्दा कममा झरेको छ । वैशाख अन्तिम र जेठ दोश्रो सातासम्म संक्रमणको दर उच्च भई दैनिक १२ सय बढी पुगेकोमा अहिले त्यो संख्या झरेर २५० को हाराहारीमा आइपुगेको छ ।

प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारमात्र प्रदेश १ मा २५५ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालय अन्तर्गत रहेको ‘कोभिड–१९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समिति’को सचिवालय संयोजक डा. रविन्द्र निरौलाले पछिल्लो दिन संक्रमणको दर निकै फराकिलो संख्यामा घटेको बताए ।

उनले पछिल्ला १० दिनदेखि लगातार संक्रमणको दर दैनिक घटेको र संक्रमित निको हुनेको संख्या पनि उच्च रहेको बताए ।

डा निरौलाले जेठको पहिलो सातामा प्रदेशमा संक्रमणको दर ५२ प्रतिशत पुगेकोमा अहिले करिब २६ प्रतिशतमा झरेको बताए । यद्यपि अहिले पनि संक्रमणको जोखिम भने उत्तिकै रहने भएकाले सुरक्षित रहन आवश्यक रहेको उनको भनाइ छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशमा पहाडी तथा हिमाली जिल्लामा दैनिक संक्रमित हुनेको संख्या शून्यमा झरेको छ ।

संखुवासभा, तेह्रथुम, इलाम, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु र खोटाङ जिल्लामा दैनिक संक्रमणको दर शून्यको अवस्थामा पुगेको हो । शनिबार र आइतबार ती जिल्लामा संक्रमणको दर शून्य रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी धनकुटामा २, भोजपुरमा १, उदयपुरमा ३, ओखलढुङ्गामा १ जना संक्रमित फेला परेका छन् । तर पहाडी जिल्लामा संक्रमणको दर शून्य र केहीमा अति न्यून रहे पनि सघन जनसंख्या रहेको तराईका मुख्यतः झापा, मोरङ र सुनसरी जिल्लामा भने अझै पनि संक्रमणको दर उल्लेख्य रुपमा कमी आउन नसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आइतबारमात्र प्रदेश १ मा कुल २५५ जना कोरोना संक्रमित थपिएकोमा मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५ जना छन् ।

कुल ६५ हजार १७१ हजार संक्रमितमध्ये ५२ हजार ३६५ जना निको भएका छन् । हाल प्रदेशभर ११ हजार ८५० जना संक्रमित छन् । जसमा मोरङमा ४ हजार २१४, झापामा ३ हजार ५८४ र सुनसरीमा २ हजार ८८३ जना छन् । आइतबारसम्म पूर्वी पहाडी जिल्ला ओखलढुङ्गामा जम्मा एक जनामात्र संक्रमित छन् ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दास दुई सातायता कोरोना संक्रमितको संख्या तुलनात्मक रुपमा कमी आएको बताउँछन् । उनी भन्छन्, ‘तर, जोखिम घटिसकेको छैन । संक्रमण पूरै भागेको होइन, स्वास्थ्य सावधानी भने अपनाउनै पर्छ ।’

उनले समाजमा खोपको माध्यमबाट ठूलो मात्रामा हर्ड इम्युनिटी सिर्जना नगरुञ्जेल संक्रमणको उच्च जोखिम रहने बताए ।

सघन उपचार कक्षमा आधाभन्दा कम बिरामी

दैनिक संक्रमणको दर ओरालो लागेसँगै अस्पतालको सघन उपचार कक्षमा बिरामीको चाप पनि घटेको छ । संक्रमणको दर उच्च रहँदा बेड अभाव झेल्नु परेकोमा अहिले कोभिड अस्पतालमा शय्याहरु धमाधम खाली हुन थालेका छन् ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार सोमबार बिहानसम्म प्रदेशका सरकारी तथा निजी गरी कुल ८ वटा कोभिड विशेष अस्पतालमा सघन उपचार कक्षमा जम्मा १६८ जना बिरामी उपचाररत छन् । त्यसमध्ये आईसीयूमा १३९ र भेन्टिलेटरमा २९ जना उपचाररत छन् । प्रदेशका यी अस्पतालमा कुल आईसीयू संख्या २८६ र भेन्टिलेटरको संख्या १२९ छ । त्यसैगरी अस्पतालले सञ्चालन गरेका आइसोलेशन तथा छुट्टै रुपमा सञ्चालनमा रहेका संस्थागत आइसोलेशनमा गरी कुल ५५९ जना छन् ।

होम आइसोलेशनमा बस्नेको संख्या ११ हजार १२३ छ । कोरोनाको दोश्रो लहरको यो अवधिमा प्रदेश १ मा कोरोना संक्रमणका कारण ६२७ जनाको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप