सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भोजपुर : पर्यटन पूर्वाधारमा लगानी बढ्दै

सोमबार, ०७ असार २०७८, १३ : ०७
सोमबार, ०७ असार २०७८

 

पूर्वी पहाडी जिल्ला भोजपुर पछिल्लो समय विकासतर्फ लम्कन थालेको छ । मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि एकाएक भोजपुरमा समृद्धिको लहर आएको हो ।

संघीय संरचनासँगै गाउँगाउँसम्म सडक पुगेका छन् भने विद्युतीकरणले गाउँबस्ती अन्धकारमुक्त बनेका छन् । कृषि उपजहरु देशविदेश पुगेका छन् । आर्थिक श्रोतका प्रशस्त सम्भावनालाई उजागर गरेको छ ।

विकास र समृद्धितर्फ उन्मुख भोजपुरले आर्थिक पर्यटनमा गतिलो खुड्किलो थप्दै गएको छ । सरकारको एकसय नयाँ पर्यटकीय गन्तव्यमा परेको भोजपुरको टेम्केडाँडा मुन्दुम पदमार्ग ‘टुरिजम हब’ बन्दै गएको छ । दृश्यावलोकन र ट्रेकिङ गर्न आउने विदेशी पर्यटकको रोजाइमा परेको मुन्दुम पदमार्गले अन्तर्राष्ट्रियस्तरमै राम्रो छाप छाडेको छ । पदमार्गसँगै जिल्लाभित्रका विभिन्न मनमोहक पर्यटकीय गन्तव्य आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्न थालेका छन् ।

पर्यटन प्रवर्द्धनमा स्थानीय तह, प्रदेश र संघीय सरकार पनि लागिपरेका छन् भने लगानी पनि बढ्दो छ । पर्यटकीय, ऐतिहासिक तथा धार्मिकस्थलको संरक्षण सम्बर्द्धनमा प्रदेश १ सरकार आफै जुटेको छ ।

खुकुरीका लागि प्रख्यात भोजपुर ‘टक’ (मुद्रा) काट्ने ऐतिहासिक थलो हो । नेपालकै पहिलो संस्कृत पाठशाला दिङला क्षेत्र यहाँ पर्छ । सिद्धकाली मन्दिर, नागछाँगा, पशुपति मन्दिर, रामजानकी मन्दिर, टेम्केडाँडा, सिलिचुङ डाँडा, नेपालको पहिलो बौद्ध बिहार, च्याङ्ग्रेपोखरी, सन्तानेश्वर महादेवथान गुफा, साल्पापोखरी, कालिकादेवी, सेल्मेडाँडा, सुन्तलेडाँडा, दिङ्लाबजार, अरुण डाँडा, मैयुङ डाँडाजस्ता जिल्लाका मुख्य पर्यटकीय गन्तव्य हुन् ।

त्यस्तै बेहेश्वर मन्दिर, ऐतिहासिक हतुवागढी, अरुण नदीको कात्तिकेघाट, हाँसपोखरी, घोडेटार र एडमण्ड हिलारी पदमार्ग पनि यहाँका प्रमुख गन्तव्य हुन् । चार हजार १४३ मिटरको उचाईमा रहेको सिचिलुङ चुचुरो भोजपुरको सबैभन्दा अग्लो स्थान हो । 

प्रमुख पर्यटकीय गन्तव्य मुन्दुम पदमार्ग

टेम्केडाँडा ‘मुन्दुम ट्रेल’ नेपाल सरकारले सूचिकृत गरेको एकसय नयाँ पर्यटकीय गन्तव्यमध्ये एक हो । ५८ किलोमिटर लामो उक्त पदमार्गले टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछो गाउँपालिका र खोटाङको केही भूभाग छोएको छ । किराँती संस्कार संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किराँत राईहरुको ‘मुन्दुम’ संस्कारबाट गरिएको हो । खर्कगोठ संरक्षण विकास तदर्थ समितिका अध्यक्ष पावीहाङ राई भन्छन्, ‘किराँत संस्कृतिलाई जगेर्ना गर्ने ट्रेलको लक्ष्य हो, पदमार्गलाई बाह्य तथा आन्तरिक पर्यटनसँग किराँती संस्कारबीच घनिष्ठता कायम गर्ने हाम्रो सोच हो ।’

सिङ्गो भोजपुरको पर्यटनलाई माथि उकास्न र विदेशी पर्यटकको प्रमुख गन्तव्य रुपमा यहाँ टुरिजम हब बनाउने लक्ष्यले २०७४ साल पुस २४ देखि २६ गतेसम्म ३१.५ किलोमिटर लामो उक्त पदमार्गको सर्वेक्षण गरिएको थियो । टेम्केमैयुङ गाउँपालिकाले पनि पदमार्गको अनुगमन र सम्पूर्ण सम्भाव्यताको अध्ययन अन्वेषणका लागि आर्थिक वर्ष ०७४÷७५ मा ७ लाख बजेट छुट्याएको थियो । आर्थिक वर्ष ०७५÷७६ मा पनि गाउँपालिकाले १९ लाख ४० हजार बजेट छुट्याएको थियो । उक्त पदमार्ग प्रवर्द्धनका लागि प्रदेश सरकारको ३५ प्रतिशत, स्विस सरकारको ३५ प्रतिशत, गाउँपालिकाको ३० प्रतिशत गरी ९९ लाख २२ हजार सातसय ८४ रुपैयाँ लागतमा पहिलो चरण अन्तर्गतको भौतिक पूर्वाधारको काम सकिएको छ ।

पर्यटकीय हिसाबले पैदल यात्रा गर्ने पर्यटकका लागि ‘अल्पाईन जोन’ (धेरै उचाई र धेरै होचो नभएको) सन्तुलित हावापानी भएको यो पदमार्ग उपयुक्त भएको र लेक लाग्ने समस्या नहुने गत वर्षको स्थलगत अध्ययनले देखाएको छ । उकालोओरालो हुँदै फैलिएको उक्त पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्ण लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

तराई जोड्ने ‘जेटबोट’

भोजपुरको दक्षिणी आमचोक र हतुवागढी गाउँपालिकासँग तराई जोड्ने दुधकोशी नदीमा तीनवर्ष अघिबाट जेटबोट यातायात सुरु भएको छ । जसले यहाँको जलपर्यटन पनि फस्टाएको छ । जेटबोटले दक्षिणी भेगका नागरिकको जीवनशैली नै फेरिदिएको छ । ८ किलोमिटरको यात्रा १५ मिनेटमै पार गर्ने भएपछि सर्वसाधारणलाई सिम्ले, चतराघाट हुँदै धरान जान सहज भएको छ ।

जेटबोट सञ्चालनमा आएपछि भिरालो, जोखिम, अप्ठ्यारो र साँघुरो गोरेटोबाट पैदल हिँडेर धरान जानुपर्ने सर्वसाधारणको जीवनस्तरमा परिवर्तन आएको हो । प्रचलित ‘अक्कर भिर’ को जोखिमपूर्ण यात्रा गर्ने सर्वसाधारणलाई जेटबोटले राहत दिएको छ । यसअघि ७ घण्टा पैदल हिँडेर नदी पार गर्न काठको डुङ्गा प्रयोग गर्नुपर्थ्यो । भिरालो बाटोमा हिँड्दा लडेर ज्यान जाने, नदीमा डुङ्गा पल्टिनेजस्ता विगतमा धेरै दुर्घटना हुने गरेकोमा जेटबोटका कारण ती सबै कठिनाई हटेको छ ।

यसअघि २०४८ सालमा अरुण तेश्रो जलविद्युत आयोजनाको टेन्डरको क्रममा तुम्लिङटारसम्म त्यहाँका कर्मचारीलाई जेटबोटबाट ल्याइएको थियो । धनकुटाको साँघुरीगढी गाउँपालिका, शहिदभूमि गाउँपालिका, उदयपुरको बेलका नगरपालिका र भोजपुरको आमचोक र हतुवागढी गाउँपालिकाका सर्वसाधरणहरु जेटबोटबाट लाभान्वित छन् । जेटबोटले प्रतिव्यक्ति ५ सय रुपैँया भाडादरमा यात्रु बोक्ने गर्छ । यात्रुको जिउधनको सुरक्षा र समयको उचित बचत हुन थालेपछि पेसा पनि फस्टाएको व्यवसायीहरु बताउँछन् ।

टेम्के भ्यू टावर

भोजपुर र खोटाङको सीमना स्थित टेम्केडाँडा पूर्वकै मुख्य पर्यटकीय गन्तव्य हो । यहाँबाट तराईका फाँटदेखि उत्तरतर्फसुन्दर हिमशृङ्खला देखिन्छ । पुष्पलाल मध्यपहाडी लोकमार्गले जोडिएसँगै प्राकृतिक सौन्दर्यताले मनमोहक टेम्केडाँडामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।

टेम्केडाँडाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारको लगानीमा टेम्के भ्यू टावर निर्माण थालिएको छ । ५ वर्षको निर्माण समयावधि दिईएको उक्त टावरको लागत १३ करोड ६२ लाख ८१ हजार रुपैयाँ छ । यो नेपालको मात्र नभई अन्तर्राष्ट्रियस्तरमै सबैभन्दा अग्लो स्थानमा अवस्थित भ्यू टावर हुनेछ । समुन्द्री सतहदेखि ३ हजार १०० मिटर उचाईमा रहेको टेम्के डाँडामा टावरको निर्माण काम कुन्सालिङ कन्सट्रक्सन भोजपुरले गरिरहेको छ ।

प्रदेश १ लाई पर्यटन प्रवर्द्धनमार्फत आर्थिक विकाससँग जोड्न प्रदेश सरकार जुटेको छ । भोजपुरका प्रमुख पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन र सम्बर्द्धन गर्दै स्थानीय नागरिकको आर्थिक श्रोत सबल बनाउन प्रदेश सरकार र स्थानीय सरकार जुटेका छन् ।

लक्ष्य अनुसारको लगानी र लगानी अनुसारको पूर्वाधार निमार्णलाई दिगोपन दिएर पारदर्शी ढङ्गले काम हुनुपर्ने सरोकारवालाको ठम्याइ छ । पर्यटनमा बर्सेनि करोडौँ रकम दुरुपयोग हुने गरेको भन्दै हरेक निकायले सुक्ष्म अनुगमन गर्नुपर्ने सरोकारवाला बताउँछन् ।

-वुद्ध तामाङबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप