खाेपको खुसी : ललितपुरमा ७७ वर्षमाथिका नागरिकले लगाए कोभिशिल्ड खोपको दोस्रो डोज
ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज दिएको छ । बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार महानगरीय खोप समन्वय समितिको असार ७ गते बसेको बैठकले खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
अर्यालका अनुसार महानगरसँग करिब २५ सय डोज खोप बाँकी रहेको थियो । यसमध्ये ललितपुरमा कोभिशिल्ड खोपको दोस्रो डोज लिन बाँकी रहेका ७७ वर्षमाथिका २२२० जनालाई आज खोप दिइएको छ । बाँकी खोप जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयंसेवकहरूलाई दिइनेछ ।
खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको कार्ड र उमेर खुलेको प्रमाण कागजसमेत अनिवार्य रुपमा ल्याउनुपर्नेछ । त्यस्तै सम्बन्धित वडाबाट प्राप्त सिफारिस नामावलीका आधारमा कुपनको व्यवस्था गरिने महानगरले जनाएको छ ।