आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेसमा क्रियाशील सदस्यता विवाद टुंगाउन देउवाले बोलाए पदाधिकारी बैठक

शनिबार, १२ असार २०७८, २० : १९
शनिबार, १२ असार २०७८

नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएको छ । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आइतबार दिउँसो २ बजे काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पार्टी क्रियाशील सदस्यता विवादबारे नेतृत्व तहमा छलफल गर्न बैठक बोलाइको बताए । पार्टीको सिस्टममा इन्ट्री भएका ८ लाख बढी क्रियाशीलको नाम सार्वजनिक गरेको थियो ।

त्यसमा उजुरीका लागि असार ६ गतेसम्म तथा नाम सच्याउन ९ गतेसम्मको समय दिएको थियो ।  ४२ जिल्लाबाट ठूलो संख्यामा उजुरी आएको छ । अन्य जिल्लाबाट पनि केहीको संख्यामा उजुरी आएको छ ।

क्रियाशील छानविन समितिका अनुसार प्रदेश दुईका बारा र सप्तरीका आठवटै निर्वाचन क्षेत्रले क्रियाशील सदस्यता इन्ट्री नै गरेका छैनन् भने धनुषाको एउटा निर्वाचन क्षेत्रले सदस्यता सूची पठाए पनि नाम विवादका कारण सार्वजनिक गरिएको छैन ।

बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा सदस्यता वितरण र नवीकरणको काम भइरहेको छ भने काभ्रेको एउटा निर्वाचन क्षेत्रको नाम पनि सार्वजनिक गरिएको छैन । बर्दिया, प्यूठान, पूर्वी रुकुम र डडेल्धुराको नाम पनि सार्वजनिक गरिएको छैन ।

छानबिन समितिले क्रियाशील सदस्यता इन्ट्री गर्न बाँकी निर्वाचन क्षेत्रलाई असार १२ गतेसम्मको समय दिएको छ । त्यो समय आज सकिएको छ । तर सबै ठाउँबाट क्रियाशील सदस्यता इन्ट्री  हुन सकेको छैन । 

क्रियाशील सदस्यतामाथिको उजुरी र इन्ट्री हुन बाँकी क्षेत्र तथा जिल्लाबारे सहमति कायम गरेर अगाडि बढ्न पदाधिकारी तहमा छलफल गर्न लागिएको बुझिएको छ ।

क्रियाशील सदस्यता काम समयमा सम्पन्न गर्न नसकिँदा भदौ १६ १९ गतेका लागि निर्धारण गरेको महाधिवेशन पनि सम्पन्न गर्न सकिन्छ सकिँदैन भन्नेमा काँग्रेसभित्र चिन्ता छ ।

त्यसमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नवप्रवेशीका नाममा क्रियाशील सदस्यतामा संस्थापन पक्षले मनपरी गरिरहेको आरोप लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप