आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झ्यालको सिसा काटेर काठमाडौंका ७ सहकारीबाट ४४ लाख चोरी

पाँच महिनापछि आरोपी पक्राउ
सोमबार, १४ असार २०७८, १८ : ३९
सोमबार, १४ असार २०७८

काठमाडौंमा ७ वटा सहकारी फुटाएर नगद तथा गहना चोरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भई काठमाडौंको जोरपाटी बस्दै आएका २२ वर्षीय दिपक गजुरेल छन् । असार १२ मा उनलाई गौशालाबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 बानेश्वर, कोटेश्वर, गौशाला र मैतीदेवी क्षेत्रका सहकारीबाट दीपकले ४३ लाख ९७ हजार नगद र ९ तोला सुन चोरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सिसा काट्ने मेशिनले झ्यालको सिसा काटेर उनले चोरी गर्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका इन्सपेक्टर अनिल अधिकारीले रातोपाटीलाई बताए ।

दीपकले बानेश्वरको बेबिलोन उपभोक्ता सहकारीबाट ०७७ माघ १५ मा ७ लाख २ हजार चोरेका थिए । त्यसयता उनले शंखमुलस्थित घर संसार सहकारीबाट २ लाख २४ हजार र मित्रपार्कस्थित पन्च बचत तथा ऋण सहकारीबाट १४ लाख ९८ हजार चोरी गरेको अनुसन्धानबाट थाहा भएको छ ।

कोटेश्वरस्थित सिमश स्वामी बचत तथा ऋण सहकारीबाट २ लाख, बानेश्वरको सन्दुक बचत तथा ऋण सहकारीबाट १० लाख १३ हजार र  मैतीदेवीको जेष्ठ आइडोलोजी बचत तथा ऋण सहकारीबाट ५ लाख नगद चोरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आरोपीले मैतीदेवीको गौंथली बचत तथा ऋण सहकारीबाट २ लाख ५८ हजार र ९ तोला गहना चोरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । कमलादीस्थित उनको डेराबाट प्रहरीले सोमबार ९ तोला सुन बरामद गरेको छ । महानगरीय प्रहरी वृत सिंहदरबारले चोरी मुद्दामा म्याद लिएर आरोपी माथि अनुसन्धान गरिरहेको छ ।

उनी पाँच वर्ष लागुऔषध र चोरी मुद्दामा जेल बसेर छुटेको इन्सपेक्टर अधिकारीले बताए । बेबिलोन उपभोक्ता सहकारी चोरेको पाँच महिनापछि पक्राउ परेका दिपक चोरी गरेपछि महंगो होटलमा कोठा लिएर बस्ने गरेका थिए । ‘दिनको १० हजार तिरेर होटलमा बस्ने गरेको खुलेको छ’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीसँग भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप