सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण थुनुवाको मृत्युपछि कारागारमा उच्च सतर्कता

बुधबार, १६ असार २०७८, १३ : ३२
बुधबार, १६ असार २०७८

कारागार कार्यालयमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता अपनाइएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यही असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कोरोनाका कारण मृत्यु भएपछि उच्च सतर्कता अपनाइएको हो । 

कारागार कार्यालयभित्र रहेको क्वारेन्टिनमा अहिले रहेका २२ जनालाई नियमित स्वास्थ्य परीक्षणदेखि खानपानमा समेत ध्यान दिन लागिएको हो । उनले भने, “अहिले समस्या छैन, समस्या आउँछ कि भनेर सावधानी अपनाएका छौं ।” 
थुनुवालाई पहिले टेलिफोन सेवा उपलब्ध गराइएको भए पनि अहिले त्यो सुविधासमेत कटौती गरिएको उनले बताए । कारागारमा कैदीबन्दीको सङ्ख्या बढी भएकाले पनि सावधानी अपनाउनु परेको उनले जानकारी दिए । कारागारमा अहिले ६७४  कैदीबन्दी छन् । 

कारागारमा रहेका कैदीबन्दीमा विभिन्न प्रकारको रोग रहेकाले एकजनामा कोरोना सङ्क्रमण देखिए फैलन सक्ने भएकाले क्वारेन्टिनमा रहेकालाई छुट्टै भान्छाको व्यवस्था गरिएको छ । नियमित अस्पताल लैजानुपर्ने बिरामीलाई पनि क्वारेन्टिनमा राखिएको उनले बताए ।  कारागारमा २५ महिलाको क्षमता रहेकामा ५१ र २५५ पुरुषको क्षमता भएकामा ६२३ रहेका छन् । उनीहरुसँग तीन आश्रित बालबालिका छन् । 

मालवाहक सवारीको ठक्करबाट पैदल यात्रीको मृत्यु 

भरतपुर महानगरपालिका–१० घरेलु कार्यालय अगाडि  बाइपास सडकमा मालवाहक सवारीले ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–१२ कस्तूरी टोल बस्ने ७६ वर्षीय वसन्तबहादुर लिम्बू रहेका छन् ।  जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार आज बिहान ७ः ३० बजेको समयमा विराटनगरबाट काठमाडौँका लागि बिस्कुट लोड गरी जाँदै गरेको ना ६ ख ४९२३ नंको डिब्बा गाडीले लिम्बूलाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते लिम्बूको भरतपुर अस्पतालमा उपचारका क्रममा ७ः ५५ बजे मृत्यु भएको हो । 

दुर्घटनापछि फरार रहेको उक्त सवारीलाई भाग्दै गरेको अवस्थामा केन्द्रीय बसपार्कबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  सवारी साधन र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप