आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा १२ वटा अध्यादेश पेश हुँदै, विरोधमा उत्रने विपक्षीको तयारी

बिहीबार, १७ असार २०७८, १३ : १६
बिहीबार, १७ असार २०७८

आज अपराह्न ४ बजे बस्ने राष्ट्रियसभाको बर्षे अधिवेशनको पहिलो बैठकमा सरकारले १२ वटा अध्यादेश पेश गर्ने भएको छ । सरकारले पेश गर्ने अध्यादेशको विपक्षी दलहरुले बिरोध गर्ने भएका छन् ।

केही राम्रा अध्यादेशको विरोध नगरे पनि अन्य अध्यादेशको  बिरोध गर्ने राष्ट्रिय सभामा माओवादी केन्द्रका संसदीय दलका नेता दीनानाथ शर्माले रातोपाटीलाई जानकारी दिए ।

‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यादेशमा बिरोध हुन्छ भनेर हामीले भनेका छौँ । कतिपय राम्रा अध्यादेश छन्, तिनको बिरोध गर्ने भन्ने कुरा भएन । तर, जुन विरुद्धमा अदालतमा समेत रिट परेको छ, त्यसमा बिरोध गर्ने भन्ने कुरा भएको छ,’ शर्माले भने, ‘आज विधेयक पेश हुने मात्र हो । विधेयकमाथि विरोधको सूचना दर्ता गर्नेबारे पनि हामी सल्लाह गरिरहेका छौँ ।’

उनले माधव नेपाल पक्षले पनि साथ दिए अध्यादेश पारित नहुने बताए ।

उता नेपाली कांग्रेसले पनि सरकारले पेश गर्ने अध्यादेशको बिरोध गर्ने बताएको छ । राष्ट्रिय सभामा कांग्रेस प्रमुख सचेतक अनिता देवकोटाले अध्यादेशबाट मुलुक चलाउने कामको काँग्रेस विपक्षमा रहेको बताइन् । सरकारले ल्याएको अध्यादेश असफल पार्न कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने देवकोटाले  बताइन् ।

राष्ट्रिय सभामा कसरी प्रस्तुत हुने भन्ने बारेमा कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ  

यस्तो छ राष्ट्रिय सभाको अंकगणित

राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये एमालेका ३२ सांसद छन् । माओवादी केन्द्रका १५ जना सांसद छन् । यस्तै कांग्रेसबाट ७ जना छन् भने जसपाबाट ५ सांसद छन् ।

एमालेका ३२ सांसदमध्ये २४ सांसद प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा छन् भने ८ सांसद माधव नेपाल पक्षका छन् । माधव नेपाल पक्षका सांसदले विपक्षी दलले दिएको विरोधको सूचनामा समर्थन गरे सरकारले पेश गरेको अध्यादेश फेल हुने राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले जानकारी दिए ।

कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल पक्ष मिल्दा राष्ट्रिय सभामा ३० सांसदको बहुमत पुग्छ । केपी शर्मा ओली पक्षलाई जसपा सांसदले साथ दिए भने पनि २९ मात्र पुग्छ । जसपा पनि दुई भागमा बाँडिएकाले सबै सांसद ओलीको पक्षमा नलाग्ने देखिन्छ ।

सरकारले राष्ट्रिय सभामा १२ वटा अध्यादेश पेश  गर्दैछ । विपक्षी दलले सरकारले ल्याएको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८ र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश, २०७७ को बिरोध नगरे पनि अन्य अध्यादेशको बिरोध गर्ने तयारी गरेको छ ।

यी हुन् सरकारले सभामा प्रस्तुत गर्न लागेका अध्यादेश

–संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७

–शपथ सम्बन्धी अध्यादेश, २०७८

–नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८

–बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश, २०७७

–नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, २०७८

–सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८

–तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८

–फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८

–यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८

–स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८

–कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८

–औषधि तेस्रो संशोधन अध्यादेश, २०७८ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप